मेक्सिकोबाट अमेरिका छिर्न लागेका दुई हजार जना पक्राउ


९ माघ २०७६, बिहीबार
america 1

अमेरिका, ९ माघ । मेक्सिकोका आप्रवासन अधिकारीहरूले देशको दक्षिणी सीमानामा दुई दिनअघि पक्राउ परेका व्यक्तिका बारेमा आधिकारिक तथ्याङ्क बुधबार सार्वजनिक गरेको छ ।

ग्वाटेमालाबाट सीमा पार गरेर मेक्सिकोतर्फ प्रवेश गरेका दुई हजार भन्दा बढी व्यक्तिलाई उद्धार गरिएको मेक्सिकोले जनाएको छ ।

नेशनल इन्स्टिच्युट अफ माइग्रेसन (आईएनएम) का अधिकारीहरूका अनुसार पक्राउमा परेका व्यक्तिहरुमा एक हप्ता अगाडि होन्डुरस छाडेका ‘२०२० काराभान’ मा आबद्ध व्यक्तिसहित अन्य ठाउँबाट देशभित्र प्रवेश गरेका धेरै व्यक्ति रहेका छन् ।

यी व्यक्तिहरु मेक्सिको हुँदै संयुक्त राज्य अमेरिका प्रवेश गर्ने योजनामा थिए । आइएनएमले करिब एक हजार ३०० व्यक्तिलाई टाबास्को र अरु ८०० जना चियापास क्षेत्रमा पक्राउ गरिएको जनाएको छ ।
बुधबार, मेक्सिकोका दुई दक्षिणी राज्यहरूबाट सरकारी हवाई जहाज र बसहरू मार्फत ४६० जना होन्डुरसका नागरिकलाई उनीहरुकै देश फिर्ता पठाइएको मेक्सिकोको गृह मन्त्रालयले जनाएको छ । ग्वाटेमालाको टेकुन उमान हुँदै क्याराभानमा संलग्न सयौं व्यक्तिले सोमबार बिहान सीमावर्ती सुसिएट नदी पार गर्ने प्रयास गरेका थिए ।

उनीहरुले मेक्सिकोका अधिकारीहरु समक्ष संयुक्तराज्य अमेरिका प्रवेशका लागि यात्रा अनुमतिको माग गरेका थिए । मेक्सिकोका अधिकारीहरूले जवाफ नदिएपछि उनीहरु जबरजस्ती नदी तर्न थालेका थिए ।

यस मौसममा नदी त्यति गहिरो छैन । तर मेक्सिकोको सेनाले उनीहरुमाथि तितरबितर बनाउन र फिर्ता गर्न अश्रुग्याँस प्रहार गरेको थियो । सेनाको कारबाहीका बाबजूद करिब ५०० व्यक्ति अवैधानिक रूपमा मेक्सिको प्रवेश गर्न सफल भएका थिए, यद्यपि तीमध्ये करिब ४०० लाई पछि पक्राउ गरिएको थियो ।

मध्य अमेरिकी राष्ट्रहरु एल साल्भाडोर, ग्वाटेमाला र होन्डुरसमा व्याप्त गरिबी र हिंसाका कारण भागेका हजारौं व्यक्ति सुरक्षित भविश्यको खोजीमा मेक्सिको पार गर्दै संयुक्तराज्य अमेरिकातिर लागेका हुन् । मेक्सिकोको सेनाले निरुत्साहित गरेका कारण ग्वाटेमालाका व्यक्तिहरु स्वदेश फर्कन राजी भएका छन् ।

आप्रवासीको अधिकारको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गर्दै गत वर्ष निर्वा्चित मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले प्रवासीहरु दक्षिणी मेक्सिकोमा रहन चाहेमा ४,००० जनालाई रोजगारी दिने प्रस्ताव गरेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–मेक्सिको सीमामा कडाई गर्न निरन्तर दबाब दिएपछि मेक्सिकोले आप्रवासीका सम्बन्धमा कडा कदम चाल्न थालेको हो । अमेरिकाले आफ्नो देशतर्फ अनधिकृत रुपमा प्रवेश गर्न चाहनेमाथि कडा कदम नचाले मेक्सिको विरुद्ध व्यापार शुल्क बढाउने धम्की दिएको थियो । अमेरिकाको आग्रहमा राष्ट्रपति ओब्राडोरले देशको सीमानामा करिब २६ हजार सेना खटाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७