बलात्कार आरोपी सिद्धबाबा अदालतलाई छलेर ‘सुटुक्क’ हिंडे भारत

सुरक्षा गार्डलाई सीमाबाटै फर्काइ दिए


९ माघ २०७६, बिहीबार
siddha baba

मोरङ, ९ माघ । आफ्नै अनुयायीमाथि बलात्कारको आरोपमा कानूनी झमेला झेलिरहेका सिद्धबाबा कृष्णदासजी महाराज भनिने कृष्णबहादुर गिरी सुटुक्क भारत छिरेका छन् ।

सरकारले उपलब्ध गराएको निजी सुरक्षा गार्डलाई नेपाल–भारत सीमा क्षेत्रबाटै फिर्ता पठाई सिद्धबाबा विराटनगरको जोगवनी नाका हुँदै उनी भारततर्फ हिंडेका हुन् । उनी उच्च अदालत विराटनगरले समेत जानकारी नपाउने गरी सुटुक्क भारततिर गएको स्रोतले जानकारी दिएको छ ।

सिद्धबाबा आफ्ना केही अनुयायीसहित ग १ च ८१५७ नम्बरको पजेरो चढेर भारततिर हानिएको स्रोतले बताएको छ । उनको सुरक्षामा नेपाल प्रहरीका हवल्दार मुकेश साहलाई खटाइएको थियो । स्रोतकाअनुसार कहाँसम्म गएको र कहिले नेपाल फर्किने भन्ने बारेमा केही पनि कुरा जानकारी नगराइँदा सुरक्षामा खटिएका हवल्दार साह समेत अन्योलमा छन् ।

केही समर्थक र अनुयायीका साथमा सिद्धबाबा सुनसरीको चतरास्थित आफ्नो आश्रमबाट बिहान उच्च अदालत जाने भनेर हिंडेको जनाइएको छ । अदालत नपुगिकन सिधै जोगवनी हानिएका उनले दिउँसो १ बजे सीमा पारेको जनाइएको छ । उनीविरुद्धको मुद्दाको सुनुवाई अदालतमा जारी छ ।

‘हामी एकक्षण पारी पुगेर आउँछौं भन्दै निजी सुरक्षा गार्डलाई सीमाबाट फिर्ता गरी सिद्धबाबा भारततिर गएको पाइयो,’ मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले भने, ‘उनी किन उता लागे भन्नेबारेमा जानकारी लिने काम शुरु गरिसकेका छौं ।’

स्वास्थ्य उपचारका लागि भन्दै उनी दिल्ली गएको स्रोतले बतायो । सिद्धबाबा एक साता पहिले पनि उपचारका लागि भन्दै भारत पुगेर फर्किएका थिए । त्यसकै ‘फलोअप’ का लागि फेरि गएको उनी निकट स्रोतले बतायो ।

मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश हरिप्रसाद बगालेको इजलासमा पेसी चढेको मुद्दाको सुनुवाई बिहीबार जारी रहेका बेला उनी भारत जानुलाई अर्थपूर्ण रुपमा लिइएको छ । सुनुवाईपछि आउने अदालतको आदेशको पर्खाइमा उनी रहेको स्रोतको दाबी छ । आफू निकटका कानुनी व्यवसायीसँग सल्लाह गरेरै उनी भारततिर लागेको बताइएको छ । आफ्नो पक्षमा आदेश आएमा नेपाल फर्किने र विपक्षमा आएमा भारततिरै रहने हिसाबको तयारी सिद्धबाबाले गरेको स्रोतको भनाइ छ ।

दीक्षा दिने भन्दै मध्यरातमा बोलाएर सुनसरीको चतराधामस्थित आफ्नै आश्रममा कात्तिक ४ गते बलात्कार गरेको किटानी जाहेरी एक महिला अनुयायीले दिएपछि सिद्धबाबालाई मंसिर १६ गते पक्राउ गरेर सुनसरी प्रहरीले जबरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको थियो । जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले मागेको धरौटी वापतको तीन लाख रुपैयाँ बुझाएर पुस १४ गते उनी छुटेपछि मुद्दा उच्चमा पुगेको थियो ।

मुद्दालाई भने एकै पटक सुनवाई गर्नका लागि अदालतले यस अघि नै लगाउमा राखिसकेको छ । जिल्ला अदालतको आदेशका विरुद्धमा वादी नेपाल सरकारका तर्फबाट उच्च सरकारी वकिल कार्यालय विराटनगरले उच्च अदालतमा मुलुकी फैजदारी कार्यविधि संहिताको दफा ७३ अनुसार पुस १६ गते निवेदन दिएको थियो । निवेदनमा बेरितको आदेश बदर गरी प्रतिवादी सिद्धबाबालाई थुनामा राखेर मुद्दाको पूर्पक्ष गर्न माग गरिएको छ ।

यता बलात्कारका अभियुक्त सिद्धबाबाले पनि पुस २३ गते उच्च अदालत विराटनगरमा मुलुकी फैजदारी कार्यविधि संहिताको दफा ७३ अनुसार नै साधारण तारखेमा राखेर मुद्दाको पूर्पक्ष गरिपाउँ भन्दै निवेदन दर्ता गराएका छन् । एउटै मुद्दाका पक्ष र विपक्षबाट अलग(अलग माग राखेर निवेदन दर्ता भएपछि मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले एकै पटक सुनुवाईका लागि मुद्दा लगाउमा राख्न आदेश दिएको थियो ।

प्रहरीले मंसिर १६ गते आईसीयूदेखि नै पक्राउ गरेर अदालतबाट म्याद थप गर्दै घटनाको अनुसन्धान अघि बढाएको थियो । उनलाई अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ज्ञानेन्द्र गिरीले ’माइनर हटअट्याक’ भएको बताउँदै उपचार गरेका थिए । अस्पतालबाट पुस २० गते डिस्चार्ज भएपछि कृष्णबहादुर सिधै चतरास्थित आफ्नो आश्रममै पुगेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७