‘नेपालमा अलि ‘ल अर्डर’ राम्रो छैन, नत्र मलाई मुद्दा हाल्न पाउँदैन : सांसद मनाङ्गे


९ माघ २०७६, बिहीबार
Dipak 1

पाेखरा, ९ माघ । पोखराको लेकसाइडस्थित होटल प्याराडाइजबाट पक्राउ परेका गण्डकी प्रदेशसभा सांसद राजीव गुरुङ्ग उर्फ दिपक मनाङ्गले ‘ल अर्डर’ नभएर मात्र नत्र आफूलाई मुद्दा हाल्न नपाउने प्रतिक्रिया दिएका छन् ।

अदालतले पक्राउ पुर्जी जारी गरे लगत्तै पक्राउ परेका उनले आफू सांसद भएका कारण पनि जोकसैको निवेदनकै भरमा पक्राउ गर्न नमिल्ने संकेत दिएका छन् ।

उनलाई प्रहरीले बिहीबार दिउँसो लेकसाइडस्थित होटल प्याराडाइजबाट सादा पोसाको प्रहरीले पक्राउ गरेको थियो । पक्राउपछि उनले भने, यस्तो विषयमा पहिले दुई पक्ष त बस्नु प¥यो नि । ठग्ने मान्छेले ठग्ने अनि उल्टै मुद्दा हाल्ने ? यो त बर्बाद भइहाल्यो नि । के फरक पर्छ र ? हामीले पनि मुद्दा हाल्छ ।’

उनले पक्राउ पूर्व दुई पक्ष बसेर छलफल गर्नुपर्ने धारणा राखेका थिए । उनले थपे, ‘अब ‘ल अर्डर’ अलि राम्रो छैन नेपालमा । जसले जसलाई पनि मुद्दा हाल्न मिल्छ ? यस्तो खालको भएर मात्र हो नत्र, निवेदन नै हाल्न पाउँदैन के खासमा ।’

गण्डकी प्रदेशमा पहिलोपटक आयोजित ‘मुख्यमन्त्री कप फुटबल प्रतियोगिता’ को उद्घाटन पूर्व मनाङेले आयोजक एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई मञ्चमै झापड हानेका थिए ।

मनाङेले झापड हानेको स्वीकार गरेका छन् । उनी बुधबार आयोजित पत्रकार सम्मेलनमा भनेका थिए, ‘मैले हातपात गरेको होइन, झापट हानेका हो ।’ मिलन गुरुङले भने बुधबार जिल्ला प्रहरी कार्यालयमा पुगेरै मनाङेविरुद्ध किटानी जाहेरी दिएका थिए ।

गुरुङले मुलुकी फौजदारी संहिता २०७४ को दफा ११८ विपरीतको कसुर हुँदा निजलाई ठाडै पक्राउ गरी प्रचलित कानुन अनुसार हदैसम्मको सजाय गरी पाउँ भनी निवेदन दिएका थिए । गुण्डा नाइके पृष्ठभूमिका मनाङे सांसद बनेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७