प्रदेश-१ र ५ मा सबै नेकपाका उम्मेद्वार विजयी

प्रदेश नम्बर–२ मा नेकपा राजपा गठबन्धन विजयी


९ माघ २०७६, बिहीबार
5 4

काठमाडौं, ९ माघ । बिहीबार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा प्रदेश–१ र प्रदेश–५ मा सबै नेकपाका उम्मेद्वार विजयी भएका छन् ।

बिहीबार सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ मा सबै नेकपाका उम्मेद्वार निर्वाचित भएका हुन् । निर्वाचनमा नेकपाका उम्मेद्वारहरु गोपी अच्छामी, इन्दिरा गौतम र देवेन्द्र दाहाल निर्वाचित भए ।

अच्छामीले ६ हजार ३ सय ३० मतभार पाएका छन् । उनका प्रतिद्वन्द्वी नेपानी कांग्रेसका निरबहादुर विकले २७ सय १८ मत पाएका छन् भने समाजवादी पार्टीका ज्ञानबहादुर परियारले ६ सय ६४ मतभार पाएका छन् । अच्छामी दलिततर्फका सदस्यमा, गौतम महिला र दाहाल अन्यतर्फको सदस्यमा निर्वाचित भएका हुन् ।

महिलातर्फ विजयी गौतमले ६ हजार ४ सय २२ मतभार पाएकी छिन् भने अन्यतर्फ विजयी दाहालले ६ हजार २ सय ३४ मतभार पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका देवेन्द्र घिमिरेले २ हजार ७ सय ६६ र समाजवादी पार्टीका भरतबहादुर दाहालले २ सय ६४ मतभार पाएका छन् ।

यस्तै प्रदेश ५ मा भएको राष्ट्रियसभा निर्वाचनमा सबै पद नेकपाले जितेको छ । महिला सदस्यमा नेकपाकी उम्मेद्वार विमला घिमिरे विजयी भएकी छन् । घिमिरे ५७७८ मतभारसहित विजयी भएकी छन् । त्यसैगरि अन्य सदस्यतर्फ नेकपाका गोपाल भट्टराई विजयी भएका छन् । भट्टराईले ५ हजार ३ सय ८२ मतभार प्राप्त गरेका छन् ।

यसैबीच प्रदेश नं. ५ को अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यकबाट उम्मेद्वार बनेका जगप्रसाद शर्मा विजयी भएका छन् । शर्माले ५ हजार ४ सय २४ मत ल्याएर विजयी भएका हुन । उनी नेकपा तर्फका उम्मेद्ववार हुन । दाङ निवासी शर्मा यसभन्दा अगाडी प्रदेश सभामा पराजित भएका थिए ।
प्रदेश नम्बर–२ मा नेकपा राजपा गठबन्धन विजयी
यसैबीच प्रदेश–२ को राष्टियसभा निर्वाचनमा नेकपा–राजपा गठबन्धनबाट अल्पसंख्यक कोटामा उम्मेदवारी दिएका शेखरसिंह विजयी भएका छन् ।

उनले नेपाली काँग्रेस र समाजवादी पार्टीको गठबन्धनबाट उम्मेदवारी दिएका भोला पजियारलाई पराजित गरेका हुन् । सिंहले ५ हजार ५ सय २ मतभार ल्याएका छन् भने पजियारले ४ हजार ५ सय १२ मतभार ल्याए ।

अल्पसंख्यक कोटाको परिणाम आएसँगै राष्टियसभाको प्रदेश दुईको निर्वाचनमा चारवटै सीटमा नेकपा राजपा गठबन्धनले विजयी हासिल गरेको छ । नेकपा राजपा गठबन्धनबाट महिलातर्फ तुलसा दहाल, खुल्लातर्फ मृगेन्द्र सिंह र दलिततर्फ राधेश्याम पासवान विजयी भइसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७