छाउगोठमा बुहारीको मृत्यु भएपछि जेठाजुलाई ४५ दिन कैद


१० माघ २०७६, शुक्रबार
chhau

अछाम, ९ माघ । साँफेबगर नगरपालिका–३ डिग्रेनीकी पार्वती बुढा रावतको छाउगोठमै मृत्यु प्रकरणमा जिल्ला अदालत अछामले जेठाजु छत्र रावतलाई ४५ दिन कैद फैसला सुनाएको छ ।

बुहारीलाई छाउगोठ बस्न बाध्य बनाएको अभियोगमा न्यायाधीश नवीनकुमार जोशीको इजलासले छत्रलाई दोषी ठहर गरेको हो ।

तर, फौजदारी कार्यविधि संहिताको दफा १५५ अनुसार उनी बिहीबारै ६ हजार नगद जरिवाना बुझाएर कैदमुक्त भएका छन् । सो दफाअनुसार एक वर्षभन्दा कम कैद सजायको हकमा नगद जरिवाना बुझाए कैद छुट हुने व्यवस्था छ ।

मुलुकी अपराध संहिता, २०७४ को दफा १६८ को उपदफा ४ बमोजिम ४५ दिन कैद फैसला गरिए पनि फौजदारी कार्यविधि संहिताको व्यवस्थाअनुसार नगद जरिवाना बुझाएर घर फर्किएको न्यायाधीश जोशीले बताए ।

२१ वर्षीया पार्वतीको १५ मंसिरमा छाउगोठमै मृत्यु भएको थियो । घटनाको चार दिनपछि १९ मंसिरमा छत्रलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको थियो । त्यतिवेला पार्वतीका श्रीमान् र सासू ससुरा रोजगारीका सिलसिलामा भारतमा रहेकाले सबैभन्दा नजिकको अभिभावकका रूपमा उनी पक्राउ परेका थिए ।

प्रहरीले उनलाई हिरासतमा राख्यो । तर, अदालतको थुनछेक बहसका क्रममा उनले हिरासतबाहिरै बसेर अनुसन्धानमा सहयोग गर्ने कबुल गरेपछि २५ दिनको हिरासत बसाइपछि १५ हजार धरौटीमा छुटे ।

अदालतले ४५ दिनको कैद फैसला गरेकोमा हिरासत बसेको २५ दिन कटाएर बाँकी २० दिनको दैनिक तीन सयका दरले ६ हजार जरिवाना असुल गरेको हो । जरिवाना बुझाएर छत्र बिहीबार नै घर फर्किएको जिल्ला प्रहरी प्रमुख डिएसपी दीपक भारतीले बताए ।

नेपालमा यसअघि छाउ बार्ने चलनसँग जोडिएर कुनै पनि मुद्दा परेको तथा कानुनी कारबाही भएको रेकर्ड छैन । सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लामा महिनावारी हुँदा छाउगोठमा बसेकै कारण महिला तथा किशोरीको ज्यान समेत गएपछि सरकारले कानुन कार्यान्वयनमा कडाइ गरेको छ ।

पार्वतीको मृत्युपछि नै अछाममा जनप्रतिनिधि र स्थानीय प्रशासनले छाउगोठ भत्काउने अभियान सुरु गरेका छन् । छाउ बार्न छाउगोठ बसे–नबसेको निगरानी गरिरहेका छन् । छाउगोठ, ओडार वा पालमुनि छाउ बार्न बसे–नबसेको बुझ्न प्रहरीले हरेक राति गाउँमा गस्तीसमेत गरिरहेको प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले बताए । अहिले अधिकांश महिला छाउ हुँदा घरभित्रै बस्ने गरेको उनको दाबी छ ।

तत्कालीन महिला तथा बालबालिका कार्यालयले ०७३ मा गरेको घरधुरी सर्वेक्षणअनुसार अछाममा साढे ३२ छाउगोठ रहेको तथ्यांक सार्वजनिक गरेको थियो । तर, पछिल्लो समय प्रहरी सक्रियतामा दुई हजार नौ सय ४४ र स्थानीय आफैँले ६ सय २० गरी तीन हजार पाँच सय ६४ छाउगोठ भत्काइएको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७