भारतीय कामदारले धानेका इँटाभट्टा


१० माघ २०७६, शुक्रबार
itta

काठमाडौं, ९ माघ । भारत बिहारका ५८ वर्षीय राम सुगारथले आफ्नो आधा उमेर काठमाडौंका इँटाभट्टामा काम गरेर बिताइसके । अहिले उनी चाँगुनारायण नगरपालिका–३ झौखेलस्थित कुमारीमाता इँटा उद्योगमा कार्यरत छन् ।

इँटा उद्योगमा वर्षको ६ महिना मात्रै काम हुन्छ । हरेक वर्ष इँटा बनाउने सिजन सुरु हुनुअगावै उनी यहाँ आइपुग्छन् र बाँकी ६ महिना विहारमै बस्छन् । उनी यहाँ इँटा चाङ लगाउने र पोल्ने काम गर्छन् । उनले काठमाडौंको भट्टामा काम गर्न थालेको ३० वर्ष भएको बताए ।

‘६ महिना घरैमा बस्छौँ, ६ महिना यता आउँछौँ,’ उनी भन्छन्, ‘अब त यही स्थायी जागिरझैं लाग्छ ।’ मौसमले साथ दिए इँटाभट्टामा काम गरेर उनी मासिक १८ हजार भारतीयसम्म कमाइ गर्छन् ।

बिहारकै ५० वर्षीय राम ताराम पनि २४ वर्षदेखि नेपालका इँटाभट्टामा काम गर्दै आएका न्न् । उनी घरमा तीन छोरा र दुई छोरी छाडेर वर्षको ६ महिना भक्तपुरमा आउँछन् । उनी भन्छन्, ‘खेतीबारी धेरै छैन, भएको ठाउँमा ६ महिना काम गरिन्छ, परिवार उता काम गर्छन्, म यता दुई–चार पैसा कमाउँछु ।’

परिवार छाडेर दुई पैसा कमाउने उद्देश्यले यहाँ आएका सुगारथ र तारामजस्ता हजारौँ परिवार छन्, जसले खेतीपातीको सिजनमा घरको काम गर्ने र बाँकी समय इँटाभट्टामा काम गरी दुई छाक टार्ने जोहो गर्छन् । तारामले गाउँका ४५ जनालाई पनि आफूसँगै ल्याएका छन् ।

झौखेलको कुमारीमाता इँटा उद्योगमा करिब सात सय कामदार छन् । उद्योगका व्यवस्थापक राजकुमार प्रजापति भन्छन्, ‘नेपालका रोल्पा, रुकुम, रामेछाप, सिन्धुली र सिन्धुपाल्चोकका करिब डेढ सय जना होलान्, बाँकी साढे पाँच सय भारतीय छन्, हामीले ठेकेदारलाई जिम्मा दिन्छौँ, कहिले आउँछन् ? कहिले जान्छन् ? कति कामदार भन्ने यकिन नै हुन्न ।’

देशभर एक हजार दुई सय ५८ वटा इँटा उद्योग छन् । काठमाडौंमा १४, भक्तपुरमा ६३ र ललितपुरमा ३१ गरी एक सय आठ इँटाभट्टा छन् । तीमध्ये अधिकांश उद्योगमा काम गर्ने मजदुर भारतीय छन् । इँटा उद्योगमा इँटा पोल्ने सिजन मंसिरदेखि सुरु हुन्छ । इँटा पोल्नुअघि मुछेको माटोलाई साँचोमा राखेर इँटा पार्ने, खात लगाउने, भट्टीमा ओसार्ने र पोल्नका लागि खात लगाउने गरिन्छ । हरेक पटक पोल्नुअघि यही प्रक्रिया दोहोरिन्छ ।

उद्योगलाई चाहिने कामदार नेपालमा नपाइने र पाइए पनि सबै काममा दक्ष नहुने भएकाले उद्योगीले भारतीय कामदार बोलाउँछन् । ‘भट्टामा काम गर्न कुनै इन्जिनियरिङ चाहिँदैन, अनुभवकै आधारमा काम गर्ने हो,’ इँटा व्यवसायी महासंघका अध्यक्ष महेन्द्र चित्रकार भन्छन्, ‘तर, हामीकहाँ सञ्चालित इँटा उद्योगमा आधाभन्दा बढी भारतीय कामदार छन्, विशेषगरी, इँटा पोल्ने काम भारतीयमै निर्भर छ ।’ तर, इँटाभट्टामा काम गर्ने भारतीयबारे कुनै तथ्यांक भने नरहेको अध्यक्ष चित्रकारले बताए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७