६ वर्षपछि नारायणकाजी श्रेष्ठको संसद् यात्रा


१० माघ २०७६, शुक्रबार
narayan kaji shrestha

काठमाडौं, ९ माघ । ६ वर्षपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ संसद् प्रवेश गर्न लागेका छन् । बिहीबार भएको राष्ट्रिय सभा निर्वाचनमा गण्डकी प्रदेशबाट निर्वाचित भएसँगै उनको संसद् प्रवेशको बाटो खुलेको हो । उनी ०६४ को संविधानसभामा मनोनीत भएका थिए ।

संविधानसभा विघटनसँगै ०७० मा पुनः संविधानसभाको निर्वाचन हुँदा मकवानपुर–३ बाट तत्कालीन एमाले उम्मेदवार सुवासचन्द्र ठकुरीसँग पराजित भए । त्यसपछि ०७४ को प्रतिनिधिसभा निर्वाचनमा गृह जिल्ला रोजेका श्रेष्ठ गोरखा–२ मा पूर्वसहकर्मी डा. बाबुराम भट्टराईसँग पराजित भए । ०६४ को संविधानसभामा मनोनीत हुँदा दुई पटक मन्त्री भएका श्रेष्ठको यो पटकको इनिङलाई पनि मन्त्रीकै रूपमा आंकलन गर्न थालिएको छ ।

यसरी आए राष्ट्रिय सभामा
२ मंसिर ०७४ मा पीताम्बर शर्मा, हरि रोकालगायत ११ जना वाम बुद्धिजीवीले विज्ञप्ति जारी गरेर मत दिन आह्वान गर्दा पनि संसद् प्रवेशको बाटो बन्द भएपछि श्रेष्ठ झण्डै दुई वर्ष चुपचाप बसे । तर, जब नेकपा नेता वामदेव गौतम उपनिर्वाचनबाट संसद्मा आउन मरिहत्ते गर्न थाले, त्यसपछि भने श्रेष्ठको नाम पनि छलफलमा आयोे ।

नेकपा सचिवालय बैठकमा गौतमलाई उपनिर्वाचनमा कहाँबाट उठाउने भन्ने चर्चा हुन थालेपछि अध्यक्ष केपी शर्मा ओलीले ‘गौतमजीको मात्र किन ? नारायणकाजीजीको इच्छा के छ ?’ भनेर सोधेका थिए । जवाफमा श्रेष्ठले उपनिर्वाचनबाट प्रतिनिधिसभामा नजाने स्पष्ट पारेका थिए ।

उनी एमाले–माओवादी एकीकरणदेखि नै पार्टी र सरकारबारे आलोचनात्मक धारणा राख्दै आएका थिए । तर, २९ मंसिरको स्थायी कमिटी बैठकसम्म पुग्दा भने पार्टी र सरकारका विषयमा चुपचाप नै रहे । त्यसलाई नेकपा नेताहरू राष्ट्रिय सभामा आउने कसरतका रूपमा अथ्र्याउँछन् ।

१९ पुसको सचिवालय बैठकमा भने श्रेष्ठको प्रस्ताव रोचक ढंगले प्रवेश भयो । अध्यक्ष ओली र प्रचण्डले वामदेव गौतम र श्रेष्ठलाई राष्ट्रिय सभामा आउन प्रस्ताव गरे । गौतमले राष्ट्रिय सभाबाट पनि प्रधानमन्त्री हुने गरी संविधान संशोधन गर्नुपर्ने सर्त राखे भने श्रेष्ठ निसर्त तयार भए ।

निर्वा्चित भएसँगै उनको भूमिकालाई लिएर चर्चा सुरू भएको छ । अहिले राष्ट्रिष्य सभामा संसदीय दलको नेता दीनानाथ शर्मा भन्दा श्रेष्ठ सिनियर हुन् । त्यसैले उनी संसदीय दलको नेता दाबी गर्न सक्ने देखिएको छ ।

अर्को, उनको मन्त्रीको दाबी रहनेछ । ‘श्रेष्ठले मन्त्री हुन बार्गे्निङ गर्न सक्छन्, त्यो बाटो खुल्यो,’ पूर्व माओवादीका एक नेताले भने, ‘तर, अहिले रिक्त रहेका सहरी र कानुन मन्त्रालयमा राजपालाई दिनुपर्ने बाध्यताका कारण श्रेष्ठको सम्भावना ज्यादै कम छ ।’

यद्यपि, उनले पूर्वएमाले समूहले सम्हाल्दै आएको परराष्ट्र वा अर्थ मन्त्रालय दाबी गर्न सक्ने ती नेताको भनाइ छ । नेकपा वरिष्ठ नेता झलनाथ खनालले श्रेष्ठलाई तत्काल सांसद मात्रै बनाउन राष्ट्रिय सभामा ल्याएको बताउँदै खनालले भने, ‘तर, कुनै नेता सांसद भइसकेपछि मन्त्री वा प्रधानमन्त्रीमा इच्छा देखाउनु स्वाभाविकै हो ।’ नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७