निगमका २५ पाइलटको सामुहिक राजीनामा, अन्तर्राष्ट्रिय उडानमा असर


१० माघ २०७६, शुक्रबार
airlines

काठमाडौं, ९ माघ । नेपाल वायुसेवा निगमको ६० वर्षे इतिहासमै पहिलो पटक दुई दर्जनभन्दा बढी पाइलटले सामुहिक राजीनामा बुझाएका छन् ।

व्यवस्थापनका कारण निगम धराशयी भएको तथा विदेशी र नेपाली पाइलटबीच सेवा–सुविधामा चरम विभेद गरिएको भन्दै उनीहरूले राजीनामा बुझाएका हुन् । अन्तर्राष्ट्रिय उडान भर्ने निगमका चार जहाजका ४० पाइलटमध्ये बिहीबार २५ जनाले सामुहिक राजीनामा दिएका हुन् ।

वाइडबडीका तीन र न्यारोबडीका २२ पाइलटसहित २५ जनाले निगमका निमित्त कार्यकारी अध्यक्ष गणेशबहादुर चन्दलाई सामुहिक राजीनामा बुझाएका हुन् । राजीनामा दिने सबै स्थायी पाइलट हुन् । राजीनामा बुझाउनेमध्ये १५ जना क्याप्टेन हुन् भने १० जना को–पाइलट हुन् ।

राजीनामा दिएका २५ पाइलट सबै बाहिरिए भने निगमको अन्तर्राष्ट्रिय उडान पूर्ण रूपमा बन्द हुनेछ । निगममा १३ विदेशी क्याप्टेन छन् । तर, क्याप्टेन र को–पाइलट दुवै नभई उडान गर्नै पाइँदैन । निगमले हाल दुईवटा न्यारोबडी र दुईवटा वाइडबडी जहाजमार्फत नौवटा गन्तव्यमा उडान भर्दै आएको छ ।

‘पाइलटहरूको सामुहिक राजीनामा आएको छ, सचिवज्यूले बोर्ड बैठक राखेपछि एजेन्डाका रूपमा पेस गर्नेछु,’ निगमका निमित्त कार्यकारी अध्यक्ष चन्दले भने । व्यवस्थापनको कमजोरी र सुविधा तथा करका विषयमा विभेद गरेको भनेर राजीनामा आएको उनले बताए ।

सञ्चालक समितिले राजीनामाको विषयमा समाधान निकाल्ने चन्दले बताए । सामूहिक राजीनामा आउनु दःस्खद भएको बताउँदै चन्दले पर्यटन सचिवलाई यस विषयमा जानकारी गराइसकेको बताए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७