देशभर मौसम नखुल्ने, कस्तो रहला आउँदा तीन दिन ?


१० माघ २०७६, शुक्रबार
kathamandu

काठमाडौं, ९ माघ । केहि दिन सुधार देखिएको देशभरको मौसम फेरि बिग्रिएको छ । आउँदो तीन दिनसम्म देशभर मौसम नखुल्ने मौसमविद्ले जनाएका छन् ।

पश्चिमी न्यून चापीय रेखा अझै रहेका कारण देशभर बर्षा र हिमपातको सम्भावना कम भए पनि मौसम धुम्म हुने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलले जानकारी दिइन् । न्यून चापीय रेखाले पानी पार्ने सम्भावना कम भए पनि आकाशमा बादल लाग्ने भएकाले आगामी तीन दिनसम्म देशभर मौसम खुल्ने सम्भावना नदेखिएको उनले बताएकी छन् ।

‘पश्चिमी न्यून चापीय रेखा मात्रै छ, प्रणाली होइन,’ मौसमविद् पोखरेलले भनिन्, ‘यसले वर्षा तथा हिमपात गराउने सम्भावना हुँदैन, तर घाम लाग्न पनि दिँदैन, मौसम धुम्म भइरहन्छ ।’ तर सीमित स्थानमा हल्का क्षणिक वर्षा हुन पनि सक्ने उनले बताएकी छन् । मौसम बदलीका कारण दिनभर घाम नलाग्ने भएकाले अधिकतम तापक्रम घटेर जाडो बढ्ने मौसमविद् पोखरेलले बताइन् ।

काठमाडौं उपत्यकामा पनि अहिले मौसम बदली छ । मौसमविद् विभूति पोखरेलका अनुसार पानी पर्ने सम्भावना भने छैन । तर दिनभर घाम पनि लाग्ने देखिन्न । शनिबार बिहान ५ः४५ बजेको रेकर्डअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २.८ डिग्री सेल्सियस छ ।

तराईको मौसम कस्तो ?
मौसम बदली भएपछि अर्थात् आकाशमा बादल लागेपछि तराईमा हुस्सु र कुहिरो लाग्न छाड्छ । मौसमविद् पोखरेलका अनुसार पश्चिमी तराईमा त अहिले हुस्सु कुहिरो नै लागेको छैन भने मध्य र पूर्वी तराईमा लागेको हुस्सु कुहिरो पनि हट्ने क्रममा छ । आगामी तीन दिनसम्म यो क्रम जारी रहने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७