जाडो लम्बिने सम्भावना, घाम लागे पनि किन छ चिसो ?

कस्तो रहला आजको मौसम ?


११ माघ २०७६, शनिबार
jado

काठमाडौं, ११ माघ । जाडो कहिले सकिएला भन्ने चिन्ता अहिले जोकोहीलाई छ । तर,
यस वर्ष जाडो छोटिने भन्दा लम्बिने संकेत देखिएको मौसमविद्हरुले बताएका छन् ।

यस वर्ष पानी पार्ने प्रणाली पटक–पटक भित्रिरहेकाले जाडो लम्बिने संकेत देखिएको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेल बताउँछन् ।

‘अहिलेसम्मको स्थिति हेर्दा जाडो अलि लम्बिएला जस्तो देखिन्छ,’ उनले भने, ‘यसपटक अलि सक्रिय खालको प्रणाली (पश्चिमी न्यून चापीय प्रणाली) पटक–पटक भित्रिरहेको छ, जसले वर्षा र हिमपात गराउँदा देशभर चिसो बढ्ने गर्छ ।’

यस वर्ष औसतभन्दा बढी हिउँदे वर्षा भएको उनले जानकारी दिए । उनका अनुसार यस पटक ३–४ वर्षयताकै ठूलो हिउँदे वर्षा भएको छ । ‘घाम लागेर जमिन तात्तिन थालेको हुन्छ, तर फेरि अर्काे प्रणाली भित्रिन्छ र पानी पर्ने, हिमपात हुने गर्छ,’ उनले थपे, ‘जसले गर्दा तापक्रम बढ्न पाउँदैन र चिसो बढ्छ ।’ अहिलेसम्मको स्थिति हेर्दा यस्तो देखिए पनि मौसम सफा हुँदै गयो र दिनभर घाम लाग्न थाल्यो भने परिस्थिति फरक पनि हुन सक्ने वरिष्ठ मौसमविद् पौडेलको भनाइ छ ।
कस्तो रहला आजको मौसम ?
यतिबेला (शनिबार बिहान) तराईका अधिकांश स्थानमा हुस्सु–कुहिरो लागेको छ भने पूर्वी र पश्चिमी पहाडका केही स्थानमा मौसम आंशिक बदली भएको छ ।

यसबाहेक अन्य स्थानमा भने मौसम सामान्यतया सफा रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए । उनका अनुसार आज कतै वर्षा तथा हिमपात हुने सम्भावना छैन ।
काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रका केही स्थानमा अहिले बिहान देखिएको कुहिरो घाम लागेसँगै बिस्तारै हट्दै जाने उनले बताएका छन् ।

यसैगरी पूर्व र मध्य क्षेत्रका तराईमा लागेको हुस्सु पनि घाम लागेपछि दिउँसोदेखि क्रमशः हट्दै जाने देखिएको मौसमविद् पौडेलले बताए ।

दिउँसो घाम लाग्दा पनि किन छ चिसो ?
दिउँसो घाम लागे पनि बिहान र बेलुकी पख चिसो छ । राति आकाश खुलेको तथा उत्तर पश्चिम हिमालबाट हावा आएकाले अधिकतम तापक्रम घट्दा चिसो बढेको मौसम पूर्वानुमान महाशाखाका पौडेलले बताउँछन् ।

यस्तै हिमालबाट बहेको हावा र न्यूनतम तापक्रम बढे पनि अधिकतम तापक्रम घट्दा चिसो भएको उनले बताए । बिहीबारको भन्दा शुक्रबार झण्डै तीन डिग्री घटेर काठमाडौंको अधिकतम तापक्रम १५ दशमलव ७ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहीबार काठमाडौंको अधिकतम तापक्रम १८ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो । यसैगरी दाङमा अस्तिको भन्दा ७ डिग्री सेल्सियसले अधिकतम तापक्रम घटेको छ । दाङको शुक्रबारको तापक्रम १४ दशमलव ७ डिग्री सेल्सियसमा झरेको छ ।

यस्तै जनकपुर, विराटनगर, धरान, पोखरा, लुम्ले, जीरी आसपासका ठाउँको अधिकतम तापक्रम ३ डिग्री सेल्सियससम्म घटेको महाशाखाले जनाएको छ । तर जुम्ला, डढेलधुरा, धनगढी, नेपालगन्ज, दिपायल, भैरहवा, धनकुटा, ताप्लेजुङको अधिकतम तापक्रम भने बिहीबारको भन्दा शुक्रबार बढेको छ ।

बिहीबार ११ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको जुम्लाको तापक्रम शुक्रबार ५ डिग्रीले बढेर अधिकतम तापक्रम १७ दशमलव १ डिग्री सेल्सियस पुगेको छ । यस्तै शनिबार पनि केही ठाउँको अधिकतम तापक्रम घटबढ हुने मौसमविद् वरुण पौडेलले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७