दिलिप हत्या प्रकरण : टिपरका सहचालक ढल्केबरबाट समातिए


११ माघ २०७६, शनिबार
dilip

जनकपुर, ११ माघ । बालुवा–गिट्टीको अवैध उत्खननको विरोधमा क्रियाशिल ओमप्रकाश कुमार महतो (दिलिप) हत्या प्रकरणमा प्रहरीले आज (शनिबार) थप एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दिलिपलाई किच्न प्रयोग गरिएको ना ७ ख ६४१३ नम्बरको टिपरका सहचालक १९ वर्षीय सत्यनारायण महतो रहेको प्रहरीले जानकारी दिएको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका–२ घर भएका उनलाई लुकिछिपी बसिरहेको अवस्थामा बिहीबार ढल्केवरबाट पक्राउ गरिएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन् ।

‘अनुसन्धानबाट दिलिपको हत्या घटनाको समयमा सत्यनारायणको पनि संलग्नता देखिएको छ । उनीमाथि थप अनुसन्धान र कारवाही प्रक्रिया अघि बढाइएको छ’, प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कील कार्कीले भने ।

गएको पुस २५ गते औरही खोलामा भइरहेको अवैध ढुङ्गा गिटी उत्खनन् रोक्न गएका बेला मिथिला नगरपालिका–५ श्रीपुरका २४ वर्षीय दिलिपको हत्या गरिएको थियो । दिलिपलाई पहिले रडले हानेर घाइते बनाई टिपरले किचेर हत्या गरिएको परिवारजनको आरोप छ ।

हत्याको ओरोपमा प्रहरीले चुरियामाई प्रशोधन केन्द्र क्रसर उद्योगका सञ्चालक विपिन महतो, टिपरका चालक मुनीन्द्र महतो, जितेन्द्रकुमार महतो र हत्याका प्रत्यक्षदर्शी भनिएका रोशनकुमार यादवलाई पक्राउ गरेर कारवाही प्रक्रिया अघि बढाइसकेको छ ।

दिलिपका परिवारले सात जनाविरुद्ध किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ । प्रहरीको हालसम्मको अनुसन्धानले पनि दिलिपमाथि पहिला आक्रमण गरिएको र पछि टिपरले किचेर हत्या गरिएको देखाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७