नेपालको कम्युनिष्ट शासन प्रणाली दुनियाँको कुनै किताबमा भेटिंदैन : प्रचण्ड


११ माघ २०७६, शनिबार
prachanda

काठमाडौं, ११ माघ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नेपालको कम्युनिष्ट शासन प्रणाली दुनियाँको कुनै किताबमा नभेटिने खालको भएको बताएका छन् ।

पार्टी कार्यालय धुम्बाराहीमा शनिबार ‘जनताको जनवादका आधारहरु‘ विषयक पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेपालको कम्युनिष्ट क्रान्ति पुरानो पुँजीवादी क्रान्ति र नवजनवादी क्रान्तिभन्दा भिन्न प्रकृतिको भएको औंल्याए ।

नेपालमा कम्युनिष्ट पार्टीको नेतृत्व मुख्य रुपमा स्थापित गर्दे पूँजीपतिलाई पनि साथ लिएर सामन्तवादमाथि विजय हासिल गरेको हुनाले यसलाई समाजवाद उन्मुख जनताको जनवादको रुपमा समाजवादको आधार तयार पार्ने एउटा राजनीतिक प्रक्रियाको रुपमा लिनुपर्ने उनले बताए ।

उनले भने, ‘हामीले नेपालमा जे अनुभव गर्‍यौं, जे हासिल गर्‍यौं र हामी अब जसरी समाजवाद निर्माणको दिशामा अगाडि बढ्दैछौं । त्यो दुनियाँको कुनै किताबमा भेटिने खालको छैन । हामी आफैले आफ्नो जीवनमा संघर्ष गरेर बलिदान गरेर, मेहनत गरेर , त्याग गरेर हासिल गरेका छौं र विश्वभरिका अनुभवहरुको अध्ययन गरेर, हामीले नेपालमा जे प्रयोग गरेका छौँ यही विषयलाई सबै कमरेडले गम्भीरतापूर्वक विचार गर्नुहोला ।’

पूँजीपतिलाई पनि सहयात्री बनाएर नेपालको क्रान्ति सपन्न भएकाले नवजनवादी वा पुरानो पूँजीवादी दुवै क्रान्ति जस्तो नभई नेपालको क्रान्ति ‘नेपाली जनवादी क्रान्ति’ भएको टिप्पणी उनले गरे ।

अध्यक्ष दाहालले पार्टीको इतिहास तयार पार्ने जनताको जनवादका आधारहरु पुस्तकले ऐतिहासिक एकतापछिको संक्रमणकालीन परिस्थिति र विचारको विकासको प्रक्रिया र श्रृंखलालाई बुझ्न मद्दत पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

उनले थपे, ‘नेपाली राजनीतिको आजको विन्दु के हो ? हामी जान खोजेको हाम्रो मिसन, हाम्रो टार्गेट के हो भन्ने कुरा बुझ्न यसले धेरै मद्दत गर्छ । पार्टीको इतिहास तयार पार्ने क्रममा यो पुस्तकले पूर्वाधारको काम राम्रैसँग गर्छ भन्ने मैले विश्वास लिएको छु ।’

गोपीरमण उपाध्याय र मनहरि तिमिल्सिनाद्धारा सम्पादित ‘जनताको जनवादका आधारहरु’ पुस्तकमाथि युवराज ज्ञवालीले टिप्पणी गरेका थिए । पुस्तकमा जनताको जनवादका आधारहरु सम्पादनको आवश्यकता, नेकपाको एकीकृत अवस्था, एमालेका ऐतिहासिक दस्तावेजका अंशहरु, माओवादीका ऐतिहासिक दस्तावेजका अंशहरु र ऐतिहासिक एकताको अवस्था समावेश गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७