कोरोना भाइरससँग सतर्क बसौं तर, डराउनु पर्दैन : चिकित्सक


११ माघ २०७६, शनिबार
Coronavirus 2 ph4NdFOKyI

काठमाडौं, ११ माघ । चीनमा फैलिएको कोरोना भाइरसबारे नेपालमा डराउनुपर्ने अवस्था नरहेको चिकित्सकहरुले बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले कोरोना भाइरस सरुवा रोग भएकाले सतर्क हुनुपर्ने तर, धेरै डराउनुपर्ने अवस्था नरहेको बताएका छन् ।

कोरोना भाइरसको विस्तृत जानकारी अझै प्राप्त नभएको तर मन्त्रालयले सबै पूर्व तयारी गरेको पनि श्रेष्ठले बताए । ‘कोरोना भाइरस अध्ययनको विषय बनेको छ । धेरै प्रश्नहरु अनुत्तरित छन् । तर धेरै भयावह स्थिति छैन’ श्रेष्ठले भने । श्रेष्ठले चीनमा कोरोना भाइरसबाट संक्रमण भएकामध्ये ३ देखि ४ प्रतिशतको मृत्यु हुने गरेको तथ्याङ्क उल्लेख गर्दै छिमेकी देशमा नयाँ रोग फैलिँदा नेपाल सरकार चुप लागेर नबस्ने विश्वास दिलाए ।

चीनबाट नेपाल आएका एक नेपाली नागरिकमा भाइरसको संक्रमण देखिए पनि अरुमा फैलिएला कि भनेर डराउनुपर्ने अवस्था नरहेको श्रेष्ठको दाबी छ । ‘स्वास्थ्य मन्त्रालय सजग छ । अहिले एक जनामा मात्रै देखियो, उहाँ निको भइसक्नु भयो । उपचार गर्ने स्वास्थ्यकर्मी र साथीभाइहरुको खोजी गरेर परीक्षण गराउँदैछौं । उहाँबाट कसैलाई सरेको जस्तो लाग्दैन ।’

उनले भने । तर, चीनसँगको सीमाना नजिक भएकोले नेपालमा पनि कोरोना भाइरस संक्रमण होला कि भनेर आफूहरु सचेत भएर बसेको श्रेष्ठको भनाइ छ । नाकाहरु र विमानस्थलमा सतर्कता अपनाउने योजना लागू भइसकेको बताए ।

चीनसँगका नाका तथा त्रिभुवन अन्तरास्ष्ट्रिय विमानस्थलमार्फत चीनबाट आउने सबै व्यक्तिको स्वास्थ्य परीक्षण गरिने श्रेष्ठले जानकारी दिए । ‘शंका लागेमा सिधै टेकुस्थित् शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाउँछौं । अस्पतालमा पनि छुट्टै राखेर कोरोना हो कि हैन भनेर परीक्षण गर्छौ ।’ टेकुमा ठाउँ पुगेन भने पाटन अस्पताललाई पनि तयारी अवस्थामा राखिएको बताए ।

doctoratreportersclub 20200125113031

त्यसैगरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.वासुदेव पाण्डेले कोरोना भाइरसबारे जानकारी दिँदै सरसफाइमा ध्यान दिने हो भने संक्रमणबाट बँच्न सकिने बताए । अहिले देखिएको कोरोना भाइरस विगतमा देखिएको तर अहिले नयाँ प्रजाति भेटिएको उनको भनाइ छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल संक्रमण नियन्त्रण गर्न तयारी अवस्थामा रहेको पनि उनको दाबी छ ।

‘कोरोना भाइरस अरु प्रजातिमा पनि छन् । २००३ सालमा सार्स आयो । त्यसबेला पनि टेकु अस्पतालले नै नियन्त्रण गर्‍यो । अहिलेको कोरोना भाइरस पनि सार्ससँग मिल्दोजुल्दो छ । हामी तयारी अवस्थामा छौं’ उनले भने ।
कोरोनाबाट कसरी जोगिने ?
कोरोना भाइरस स्वासप्रस्वाससँग सम्बन्धित् भाइरस भएकाले एक मिटरको दूरीसम्म एक व्यक्तिले हाँच्छु गर्दा अर्कोलाई सर्न सक्ने उनको भनाइ छ । ‘संक्रमणबाट जोगिन सरसफाईमा ध्यान दिनुपर्छ ।

चीनमा एक हजारभन्दा बढिमा संक्रमण भइसक्यो, केहीको मृत्यु पनि भइसक्यो त्यसैले सचेत हुनुपर्छ । तर पनि धेरै डराउनुपर्ने अवस्था छैन’, पाण्डेले भने । रोगसँग लड्ने क्षमता कम भएका वृद्ध, बालबालिका वा अरु विभिन्न रोगबाट ग्रसितलाई छिटो संक्रमण हुन सक्ने पाण्डेको भनाइ छ ।

सरुवा रोग विशेषज्ञ चिकित्सक डा. शेरबहादुर पुनले पनि कोरोना भाइरसबारेमा जानकारी दिँदै चीनमा संक्रमण बढिरहे पनि नेपालमा धेरै डराउनु नपर्ने बताए । यो भाइरस जनावरबाट सर्ने भएकाले मासु खाँदा राम्रोसँग पकाएर खान सुझाव दिए । कोरोना भाइरस आफैमा रोग नभइ एउटा भाइरस मात्रै भएको उनले बताए ।

‘कोरोना भाइरस आफैँमा नयाँ रोग होइन, यसपटकको भाइरस नयाँ प्रजाति हो । २००३ मा सार्स, २०१२ मा मर्स देखिएको थियो । २०१९ को अन्तिममा देखिएको हो कोरोना । यसको नाम २०१९ नोबल कोरोना हो’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७