आर्मी शीर्ष स्थानमै कायम, उपाधि होड रोमाञ्चक


११ माघ २०७६, शनिबार
army 2

काठमाडौं, ११ माघ । सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा रहेको त्रिभुवन आर्मी क्लब आठौं चरणको खेलमा बराबरीमा रोकिएको छ।

आर्मीलाई शनिबार दशरथ रंगशालामा भएको खेलमा न्युरोड टिम (एनआरटी) ले गोलरहित बराबरीमा रोकेको हो। आर्मीले खेलमा गोल गर्न गरेको प्रयासमा एनआरटीका गोलकिपर अजित प्रजापति पटक-पटक बाधक बनेका थिए।

दिनको दोस्रो खेलमा भने संकटा क्लबले जित हात पारेको छ। संकटाले फ्रेण्ड्स क्लबमाथि १-० को जित हात पार्‍यो। संकटाको जितमा अजयी मार्टिन्सले खेलको ६४ मिनेटमा गरेको गोल निर्णायक बन्यो। खेलसँगै लिगका आठौं चरणका खेल सकिएका छन्।

आठौं चरणका खेल सकिदा आर्मी अंक तालिको शीर्ष स्थानमा छ। आर्मीले १७ अंक जोडेको छ। १६ अंकसहित मच्छिन्द्र क्लब दोस्रो र १६ अंक नै जोडेको साविक विजेता मनाङ मर्स्याङ्दी क्लब तेस्रो स्थानमा छ।

चौथो स्थानको थ्रीस्टारको १४ अंक छ। शीर्ष चार टिमको अंक भिन्नता ३ अंक मात्र भएकाले पाँच चरणको खेल बाँकी रहदा उपाधि होड रोमाञ्चक बनेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७