आज सभामुख निर्वाचन, अग्नि सापकोटा निर्विरोध हुने निश्चित


१२ माघ २०७६, आईतवार
aagni sapkota 1

काठमाडौं, १२ माघ । संघीय संसद प्रतिनिधि सभाको सभामुख चयनका लागि आज निर्वाचन हुँदैछ ।

सभामुख चयनको प्रक्रिया अगाडि बढाउन आज अपरान्ह तीन बजे प्रतिनिधि सभाको बैठक डाकिएको छ । सभामुखमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट स्थायी समिति सदस्य अग्नि सापकोटाको मात्र उम्मेद्वारी परेको छ ।

सापकोटाको मात्र एकल उम्मेद्वारी परेकाले प्रतिनिधसभाको नियमावली अनुसार उनी निर्विरोध हुने छन् । तर अर्को उम्मेद्वारी नपरे पनि मतदान बाहेक निर्वाचनको अन्य प्रक्रिया भने पूरा गर्नुपर्नेछ ।

सापकोटाका प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ र समर्थकमा पूर्व सभामुख ओनसरी घर्ती, नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ र राजपा सांसद लक्ष्मणलाल कर्ण छन् ।

प्रस्तावक र समर्थकहरुले संसद बैठकमा बोलेपछि सापकोटा सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा हुनेछ । यौन हिंसाको अभियोगमा कृष्णबहादुर महराले सभामुखबाट राजीनामा दिएपछि लामो समयदेखि सभामुख पद रिक्त छ । लामो समयपछि प्रतिनिधिसभाले सभामुख पाउने पक्का भएको छ । सभामुख नहुँदा संसद सञ्चालनमा समस्या हुँदै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७