अग्नीप्रसाद सापकोटा : ‘हेड सर’ देखि सभामुखसम्म


१२ माघ २०७६, आईतवार
Agni Sapkota

काठमाडौं, १२ माघ । लामो समयको वहस, छलफल र विरोधका वावजुद प्रतिनिधिसभाको सभामुखमा अग्नीप्रसाद सापकोटा आज (आइतबार) निर्विरोध निर्वाचित भएका छन् ।

आज बसेको प्रतिनिधि सभाको बैठकले सापकोटालाई सभामुखमा निर्विरोध निर्वाचित गरेको हो । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सापकोटा सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।

नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङले सापकोटालाई सभामुख बनाउन संसदमा प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसैगरी पूर्व सभामुख ओनसरी घर्ती, नेकपा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ र राष्ट्रिय जनता पार्टी (राजपा) सांसद् लक्ष्मणलाल कर्णले गरेका थिए । नेपाल कम्युनिस्ट पार्टी नेकपाले सापकोटालाई उम्मेद्वा बनाउने निर्णय गरेको थियो ।

को हुन् अग्नीप्रसाद सापकोटा ?
धेरैले ‘अग्नि सर’ का रुपमा चिन्ने र जान्ने अग्निप्रसाद सापकोटालाई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सभामुखको उम्मेद्वार बनाउने निर्णय गर्‍यो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले लामो प्रयासपछि सापकोटालाई सभामुखको उम्मेद्वार बनाउने निर्णय भएको थियो । तत्कालीन सभामुख कृष्णबहादुर महरालाई यौन दुर्व्यवहारकाे आरोप लागेपछि विगत चार महिनादेखि रिक्त रहँदै आएको सभामुखमा लामो बहस र छलफलपछि नेकपाले उम्मेद्वार टुङ्गो लगाएको थियो । 

माओवादीले सञ्चालन गरेको जनयुद्धमा होस् वा राजकीय जिम्मेवारीमा रहँदा नै किन नहोस् प्राप्त भएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने सभामुखमा प्रस्तावित सापकोटा नेकपाभित्र सादगी र इमान्दार नेताका रुपमा परिचित छन् । माओवादीले शुरु गरेको जनयुद्धमा सहभागी हुँदा होस् वा शान्ति प्रक्रियामा नै रहँदा नै किन नहोस् सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोकलगायतका जिल्लावासीले उनलाई ‘अग्नि सर’ का रुपमा चिन्छन् ।

विसं २०१४ फागुन २४, सिन्धुपाल्चोक, कुविण्डेमा तिलमाया सापकोटा र धनपति सापकोटाको सुपुत्रका रुपमा जन्मिएका सापकोटाले त्रिभुवन विश्वविद्यालयबाट स्नातकसम्मको अध्ययन गरेका छन् । लामो समय शिक्षकका रुपमा सेवा गरेका कारण पनि उनलाई धेरैले अग्नि सरकारको नाम दिएका हुन् ।

नेता सापकोटा २०३५ सालमा नेकपा (चौथो महाधिवेशन) बाट पार्टी राजनीतिमा लागेका हुन् । हाल नेकपा स्थायी कमिटी सदस्य रहेका सापकोटा २०६४ चैत २८ गते सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं २ बाट निर्वाचित भएका थिए ।

विसं २०६८ मा सूचना तथा सञ्चारमन्त्री भएका सापकोटा २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा पनि सिन्धुपाल्चोक–२ बाट दोस्रो पटक संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।
तत्कालीन नेकपा (माओवादी) ले विजयी हासिल गरेकामध्ये वाग्मती अञ्चलबाट निर्वाचित हुने एक मात्रै नेता हुन् उनी । सापकोटाले २०७३ मा नेपाल सरकारको वन तथा भू–संरक्षण मन्त्रीको समेत जिम्मेवारी सम्हालेका थिए ।

विसं २०७४ मा भएको प्रतिनिधिसभाको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं १ बाट निर्वाचित सापकोटा २०४८ सालदेखि सक्रियरुपमा राजनीतिमा क्रियाशील छन् । विसं २०५१ मा तत्कालीन नेकपा (एकता केन्द्र) को केन्द्रीय सदस्य हुँदै २०५१ असोजमा नेकपा (माओवादी) केन्द्रीय सदस्य भएका उनले २०५२ माघदेखि भूमिगत राजनीति समेत गरेका थिए ।

विसं २०५८ मा तत्कालीन नेकपा (मोआवादी) का तर्फबाट गठन गरिएको तीन सदस्यीय वार्ता टोलीमा रही शान्ति प्रक्रियालाई अगाडि बढाउन महत्वपूर्ण योगदान गरेका थिए । तत्कालीन एकीकृत नेकपा (माओवादी) को हेटौंडा महाधिवेशनबाट पोलिटब्युरो सदस्य बनेका उनी २०६९ साउनदेखि एकीकृत नेकपा (माओवादी) को स्थायी समिति सदस्य तथा पार्टीको केन्द्रीय प्रवक्ताको भूमिका निर्वाह गरे ।

सानैदेखि विद्रोही स्वभावका सापकोटा कुविण्डेका सापकोटा परिवारकै पहिलो प्रधानाध्याक हुने पहिलो व्यक्तिका रुपमा समेत परिचित छन् । धेरैले अग्नि सर भनेर नाम दिएका सापकोटालाई नेकपाले लामो बहस र छलफलपछि सभामुखको उम्मेद्वार बनाउने निर्णय भएको थियो । स्पष्ट वक्ता र राजनीतिमा कहिल्यै विचलित नहुने स्वभावका छन् सापकोटा ।

जनयुद्धकाल होस् वा शान्ति प्रक्रियामा समेत पार्टी, देश र जनताप्रति इमान्दार भएर लागेका सापकोटाकै पहलमा लामो समयदेखि बन्द भएको तातोपानी नाका समेत खुलिसकेको छ । राजधानीमा भन्दा जनताको घर आँगनमा नै रमाउन चाहने सापकोटा पार्टीभित्र स्पष्ट विचार राख्ने नेतामध्ये एक हुन् । पार्टी राजनीतिमा अधिकांश समय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई साथ सहयोग दिँदै आएका सापकोटाले यसअघि तत्कालीन एकीकृत नेकपा (माओवादी) को पार्टी प्रवक्ताको भूमिका समेत कुशलतापूर्वक निर्वाह गरेका थिए ।

नेकपाको बहुमत रहेको प्रतिनिधिसभालाई जनताप्रति उत्तरदायी बनाउने र नीति निर्माणमा विगतमा जस्तै कुशलतापूर्वक जिम्मेवारी बहन गर्ने दायित्व समयक्रमले सापकोटाको काँधमा ल्याई दिएको छ । यो जिम्मेवारीलाई उनले कुशलतापूर्वक सम्हालेर सङ्घीय संसद्लाई थप जनमुखी बनाउने विश्वास उनलाई अग्नि सरको उपमा दिने धेरैले लिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७