संसदमा सन्तुलित भूमिका निर्वाह गर्छु : सभामुख सापकोटा


१२ माघ २०७६, आईतवार
aagni

काठमाडौं, १२ माघ । प्रतिनिधिसभाको सभामुखमा निर्वाचित अग्निप्रसाद सापकोटाले संसदको ओज गरिमा कायम राख्नका लागि तटस्थ, निष्पक्ष, सन्तुलित भूमिका निर्वाह गर्ने बताएका छन् ।

सभामुख निर्वाचित भएपछि पत्रकारलाई प्रतिक्रिया दिँदै सापकोटाले लोकतन्त्रको मूल्य मान्यता कायम राख्न आफू इमान्दार भएर लाग्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभामा नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सभामुखको रुपमा तटस्थ भूमिका निर्वाह गर्न सापकोटालाई शुभकामना दिएका थिए । जवाफमा उनले तटस्थ भएर संसदको गरिमा कायम राख्ने प्रतिवद्धता जनाएका हुन् ।

‘लोकतन्त्रको मूल्यमान्यता, आदर्शलाई कायम गर्ने गरी नेपाली जनताको सार्वभौम सर्वोच्च संस्थाको ओज र गरिमा कायम राख्नका लागि तटस्थ, निष्पक्ष, सन्तुलित, भूमिका ‘निर्वाह गर्नका लागि म सँधैभरी दत्तचित्त भएर रहन्छु । इमानदारितापूर्वक लाग्छु’ सापकोटाले भने ।

सभामुखमा अर्को उम्मेदवार नउठाएकामा प्रमुख विपक्षी नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल, समाजवादी पार्टीलगायतलाई पनि धन्यवाद दिएका छन् ।

‘नेपाल कम्युनिष्ट पार्टीले सभामुखका लागि अगाडि बढायो । त्यसैगरी नेपाली कांग्रेस, राजपा, समाजवादी लगायत सबै पार्टीहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु । किनभने यसले निकै राम्रो संदेश गएको छ’ उनले थपे ।

आइतबारको प्रतिनिधि सभाको बैठकले सापकोटालाई सभामुखमा निर्विरोध निवार्चित गरेको हो । नेकपाका उम्मेदवार सापकोटालाई सभामुखमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रस्ताव गरेका थिए भने, नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, पूर्व सभामुख ओनसरी घर्ती र राजपाका सांसद लक्ष्मण लाल कर्णले समर्थन गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७