इतिहासको सम्मान गर्न नचाहनेले आफ्नै भविष्य समाप्त पार्छन् : महासचिव पोखरेल


२२ पुष २०७४, शनिबार
Ishwor Pokhrel.

काठमाडौं : नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पृथ्वीनारायण शाहको योगदानलाई बिर्सन र सम्मान गर्ने विषयबाट अलग गर्न नमिल्ने बताएका छन् । राष्ट्रिय एकता दिवस तथा २६९औँ पृथ्वी जयन्तीका अवसरमा शनिबार यहाँ आयोजित ‘नेपाली राष्ट्रियता र पृथ्वीनारायण शाह’ विषयक छलफलमा उनले इतिहासको सम्मान गर्न नचाहनेले आफ्नै भविष्य समाप्त पार्ने बताए।Ishwor Pokhrel.

महासचिव पोखरेलले भने, ‘पृथ्वीनारायण शाहको एकीकरणको अभियानलाई हामी अत्यन्त सकारात्मक ढंगबाट लिन्छौँ र त्यसलाई सम्मान गर्छौ यो हाम्रो अडान हो, इतिहासलाई सम्मान गरेर मात्र अघि बढ्न सक्छौँ भन्ने हाम्रो बुझाइ हो ।’

राष्ट्रियता, सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र जनताको पक्षमा दृढतापूर्वक उभिनु नै एकताको मूल आधार भएको बताउँदै उनले भने, ‘हाम्रो अन्तरचेतनाले भन्छ, पृथ्वीनारायणलाई भुल्न र सम्मान गर्ने कुराबाट अलग हुन मिल्दैन ।’

पहिचान, प्रतिनिधित्व र पहुँचको प्रश्नमा अब राष्ट्रिय बहस हुन आवश्यक रहेको बताउँदै उनले यी विषयमा प्रायोजित ढंगबाट नभई यथार्थपरक ढंगबाट बहस र छलफल हुनुपर्छ भने।

पूर्वमन्त्री मोदनाथ प्रश्रितले नेपालको एकताको भावनालाई विभाजित गर्ने तत्वले मात्र पृथ्वीनारायण शाहलाई अपमान गर्ने गरेको बताए । उनले भने, ‘राष्ट्र र राष्ट्रनायकलाई सम्मान गर्न सिक्नुस्, मुलुकको एकीकरण र एकताबाट अघि बढ्नुपर्छ भन्ने सन्देश दिनेलाई अपमान होइन, सम्मान गर्ने परम्पराको थालनी हुन आवश्यक छ ।’

प्रा डा जगमान गुरुङले संघीयता, गणतन्त्र र धर्मनिरपेक्ष युगको माग भएजस्तै राष्ट्रनिर्माता पृथ्वीनारायण शाहप्रति सम्मान गर्नु आजको आवश्यकता भएको बताए ।

उनले भने, ‘पृथ्वी दिवसको अवसरमा आयोजना हुने छलफल र अन्तक्र्रियाले समेत राष्ट्र, राष्ट्रियता र धर्म संस्कृतिलाई जोगाउने विषयमा चिन्तनमनन गर्ने अवसर प्रदान गरेको छ ।’

पूर्व सांसद लालबाबु यादवले मुुलुकको एकीकरण गर्ने व्यक्तिलाई गालीगलौज गर्ने प्रवृत्तिले राष्ट्रियता प्रवद्र्धन गर्न योगदान नपुग्ने धारणा व्यक्त गरे । उनले भने, ‘राष्ट्रियता भनेको कुनै जात र क्षेत्र विशेषको हुँदैन, जातीयता र क्षेत्रीयताको भावले राष्ट्रियतालाई कमजोर तुल्याउँछ ।’

सो अवसरमा सहभागी वक्ताले मुलुकको वर्तमान स्थितिमा पृथ्वीनारायण शाहको दिव्य उपदेशको सान्दर्भिकता अझै बढेको धारणा व्यक्त गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७