प्रदेश-२ को राजधानी जनकपुरधाम निश्चित


१२ माघ २०७६, आईतवार
pradesh 2

जनकपुरधाम, १२ माघ । प्रदेश–२ को राजधानी जनकपुरधाम नै हुने लगभग निश्चित भएको छ ।

प्रदेश–२ को नामाकरण र राजधानी टुङ्गो लगाउने विषयमा सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित संसदीय विशेष समितिले जनकपुरधामलाई नै स्थायी राजधानी तोक्ने सहमति गरेको छ । संसदीय विशेष समितिमा राजधानीको विषयमा सहमति भएपछि जनकपुरधाम नै राजधानी हुने लगभग पक्का भएको हो ।

अहिलेको अस्थायी राजधानी जनकपुरधामलाई नै स्थायी कायम गर्ने निर्णयमा सर्वसम्मति भएको समितिका संयोजक समेत रहेका सभामुख सरोजकुमार यादवले जानकारी दिएका छन् । उनका अनुसार समितिले प्रदेश राजधानीको सीमा समेत टुंगो लगाएको छ ।

‘उत्तरमा धनुषाको मिथिला नगरपालिकाको ढल्केवर, दक्षिणमा भारतको अन्तर्राष्ट्रिय सीमा तथा पूर्व र पश्चिमतर्फ मिथिला माध्यमिक परिक्रमा क्षेत्रसम्म राजधानीको सिमाना तोक्ने सहमति भएको सभामुख यादवले बताए ।

समितिले टुंगो लगाएको राजधानी जनकपुरधाम अब प्रदेशसभाको दुई तिहाई बहुमतले पारित गरेपछि औपचारिक हुनेछ ।

विभिन्न दलका प्रस्तावक तथा समर्थक, प्रस्तावका संशोधनकर्ता समेतलाई बोलाएर छलफल गरी उक्त निर्णयमा पुगेको सभामुख यादवले बताएका छन् । पारित भएको प्रस्ताव नेकपा, समाजवादी र राजपाले दर्ता गरेका थिए भने नेपाली कांग्रेसले जनकपुरधाम उपमहानगरपालिकाभित्र राजधानी हुनुपर्ने प्रस्ताव गरेको थियो ।

समितिमा उपसभामुख उपमा देव, नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल, प्रदेशसभा सदस्य रामकुमार यादव, नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादव र प्रदेशसभा सदस्य नरेश यादव, समाजवादी पार्टीका प्रमुख सचेतक शैलेन्द्रकुमार यादव र संसदीय दलका उपनेता रामआशिष यादव, राजपा नेपालका प्रमुख सचेतक परमेश्वर साह र प्रदेशसभा सदस्य रानी शर्मा तिवारी तथा नेपाल संघीय समाजवादीकी प्रदेशसभा सदस्य सावित्रीदेवी साह सदस्य छन् ।

प्रदेशको राजाधानी र नाम सम्बन्धमा प्रदेश सभामा भदौ ५ गते राजनीतिक दलहरुले प्रस्ताव दर्ता गराएका थिए । प्रस्ताव दर्ता भएपछि प्रदेश सभाको बैठकबाट नै सभामुख यादवको संयोजकत्वमा ११ सदस्यीय विशेष समिति गठन गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७