बिपी, गणेशमान, किसुनजी र मदन भण्डारी मेरा फ्यान : हरिवंश आचार्य


२२ पुष २०७४, शनिबार
Hari Bansha Acharya

काठमाडौ‌‌‌ : कलाकार हरिवंश आचार्यलाई नचिन्ने सायदै होलान् । उनले हास्यव्यंग्य कलाकारितामा लामो समय बिताइसकेका छन् । आचार्य यस क्षेत्रमा छुट्टै छवि भएका व्यक्तित्व पनि हुन् । उनले सामाजिक सन्देश दिनेखालका कैयौँ चलचित्र र हास्यव्यंग्य टेलिशृंखलामा अभिनय गरिसकेका छन् । चलचित्रमा पनि उनी फरक पात्रका रूपमा प्रस्तुत हुँदै आएका छन् । यसरी फरक–फरक पात्रमा अभिनय गर्ने हरिवंशका थुप्रै फ्यान छन् । तिनै फ्यानबारे यहाँ चर्चा गरिएको छ :Hari Bansha Acharya

कलाकारिता सुरु गर्दै फ्यानले बुढो सोचे

म हास्यव्यंग्य कलाकारिता क्षेत्रमा प्रवेश गर्ने वेलामा अहिलेकोजस्तो डिजिटल प्रविधिको विकास भइसकेको थिएन । त्यसवेलामा मेरा फ्यानले अडियोमार्फत मलाई चिन्थे । म २१–२२ वर्षको उमेरमा कलाकारिता क्षेत्रमा लागेको थिएँ । त्यसवेला मेरो अडियो क्यासेट सुन्दा मलाई पाको अथवा बुढो मान्छेजस्तो कल्पना गर्दा रहेछन् । तर, भेटेपछि फ्यानहरू छक्कै पर्थे ।

मेरो फोटो घरको भित्तामा टाँस्ने महिला
बिस्तारै भिडियोको जमाना आउन थाल्यो । मेरो अनुहार पनि फ्यानहरूले चिन्न थाल्नुभयो । यसैबीचमा विदेशमा एकजना महिला बस्नुहुन्थ्यो । म एकपटक उहाँ भएको देशमा जाँदा एकजनाले, मेरो साथी छिन्, उनले तपाईंलाई एकदमै मन पराउँछिन्, आफ्नो कोठामा तपाईंको फोटो राखेकी छिन् भन्नुभयो । त्यसवेला महिलाले फिल्म खेल्ने हिरोहरूलाई चाहिँ मन पराउँथे ।

म हास्यव्यंग्य क्षेत्रमा भएकाले कतिपय महिलाले हामीलाई जोकर पनि भन्थे । अनि कसरी यस्तो भयो होला भन्ने लाग्यो । जुन आजभन्दा १५ वर्षअघिको कुरा हो । उहाँले त्यस्तो कुरा गर्दा मेरो श्रीमती पनि सँगै थिइन् । श्रीमतीले पनि नरमाइलो अनुहार लगाइन् । पछि ती महिलालाई मैले काठमाडौंमा भेटेँ ।

भेटेपछि रुने विराटनगरको भाइ

गत वर्ष म विराटनगर गएको थिएँ । म आउँछु भन्ने थाहा पाएपछि एकजना भाइ बिहानैदेखि होटेलमा आएर बस्नुभएको रहेछ । म साँझतिर त्यहाँ पुगेँ । होटेलको मान्छेले एकजना भाइ बिहानैदेखि तपाईंलाई भेट्न बसेको छ भनेपछि मैले उहाँलाई भेटेँ । उहाँ मलाई देखेपछि बर्बरर आँसु निकालेर रुन थाल्नुभयो । अनि मैले उहाँलाई अंकमाल गरेँ । किन रोएको भनेर सोधेँ । उहाँले तपाईंसँग भेट्ने सपना थियो, त्यो पूरा भयो भन्नुभयो । म भावुक भएँ । उहाँले मलाई भेटेर एउटा फोटो दिनुभएको थियो । जुन अहिले पनि घरको भित्तामा सुरक्षित छ ।

मलाई भेटेर लगलग काप्ने जापानी फ्यान

आजभन्दा धेरै पहिला जापानी महिलासँग नेपालमा भेट भयो । उहाँ नेपाली भाषा पनि बुझ्नुहुँदो रहेछ । उहाँले मेरो र मदनकृष्ण दाइको प्रस्तुति हेर्नुभएको रहेछ । उहाँको नाम यामामोता मायामी हो । उहाँ नेपाल र भारतबारे थेसिस लेख्न नेपाल आउनुभएको रहेछ । उहाँले भैरहवामा लन्डन एयरपोर्ट भन्ने प्रोगाम हेर्नुभयो । त्यसपछि भने विषयवस्तु नै परिवर्तन गरेर नेपालमा हास्यव्यंग्यको अवस्थाका बारेमा रिसर्च गर्नुभयो ।Haribansha Acharya

त्यसैक्रममा पछि उहाँले काठमाडौंमा मलाई भेट्नुभयो । त्यतिवेला उहाँ लगलग काम्नुभयो र मलाई डर लाग्यो पनि भन्नुभयो । त्यसवेला मेरो गाडी थिएन । उहाँलाई मोटरसाइकलमा राखेर पुल्चोक पु¥याइदिएँ । पछि त उहाँले जापानमा गएर मेरो र मदनकृष्ण दाइको विषयमा एउटा किताब लेख्नुभएछ । जापानी भाषामा ‘महको आँखामा नेपाल’ शीर्षक राख्नुभएको रहेछ । बिस्तारै उहाँ मेरो घरमा आउन थाल्नुभयो । अनि हाम्रो पारिवारिक सम्बन्ध अझै गाढा हुँदै गयो ।

महिलाले दाइ भन्दिनँ भनेपछि‘

काठमाडौंमा एकजना महिला हुनुहुन्थ्यो । उहाँलाई म निकै मन पर्दोरहेछु । उहाँसँग मेरो विवाह भइसकेपछि भेट भएको थियो । अनि उहाँले मलाई भेट भएको समयमा यदि तपाईंको विवाह नभएको भए म तपाईंसँग विवाह गर्थेँ, कुनै हालतमा पनि छाड्दिनथेँ भन्नुभयो । मैले ठीकै छ अब दाजुबहिनीको रूपमा बसौँ न त भन्दा उहाँले दाइ त कुनै हालतमा नभन्ने बताउनुभयो । म त छक्क परेँ ।

फ्यानसँग फोटो खिच्न स्टेजबाट भाग्नुप¥यो

केही वर्ष पहिला हामी मलेसियामा प्रोगाम गर्न गएका थियौँ । केही दिन पहिला मात्रै त्यहाँ सलमान खान गएको रहेछ । सलमानलाई जुन खालको सुरक्षा दिइएको थियो, हामीलाई पनि त्यहाँको आयोजकले त्यस्तै खालको सुरक्षा दिएको थियो । तर, त्यत्रो सुरक्षा हामीलाई आवश्यकता थिएन । हाम्रो प्रोगाम हेर्न आउने ३५०० जति दर्शक हुनुहुन्थ्यो । त्यहाँ कतिपय दर्शकले हामीसँग फोटो खिच्ने इच्छा राख्नुभएको थियो । तर, सुरक्षागार्डले त्यो सुविधा दिएको थिएन । मैले दर्शकहरू फोटो खिच्न नपाएर तड्पिएको देखेँ । फ्यानहरूसँग फोटो खिच्न स्टेजबाट भागेर अर्को हलमा गयौँ ।

कान्छी श्रीमती बन्छु भन्ने प्रस्ताव पनि आयो

आजभन्दा ९ वर्षअघिको कुरा हो । एक दिन टेकुमा साथीको घरमा खाना खान गएको थिएँ । त्यसवेला मेरो छोरा र श्रीमती पनि सँगै थिइन् । त्यो साथीको घरमा गाडी जाँदैनथ्यो । त्यसैले हामीले बाटोमै गाडी राखेर गएका थियौँ ।

एकजना अपरिचित महिला आएर मलाई झ्याम्म अंकमाल गरिन् । म जिल्ल परेँ । त्यसपछि त उनले मसँग बिहे गर्छु भन्न थालिन् । श्रीमती सँगै थिइन् । अनि मैले विवाह भइसकेको छ उनी मेरी श्रीमती हुन् भनेँ । त्यति भन्दा पनि म कान्छी श्रीमती भएर बस्छु भनेर हैरान पारिन् । उनलाई त्यहाँका अरू महिलाले समातेर लगेपछि हामी उम्कियौँ ।

मेरो फिल्म हेरेपछि मात्र खाना खाने काभ्रेका वृद्ध

बनेपामा एकजना वृद्ध मेरो फ्यान हुनुहुन्छ । उहाँको नामचाहिँ मैले भुलेँ । उहाँ ह्विलचियरमा
बस्नुहुन्छ । उहाँको छोराले मलाई भेटेर दाई तपाईं एकपटक मेरो घरमा गइदिनुप¥यो, बुबा तपाईंको एकदमै फ्यान हुनुहुन्छ भन्नुभयो । उहाँ वृद्धको साथै अशक्त पनि हुनुहुँदो रहेछ । उहाँले हत्तपत्त खाना खान मान्नुहुन्न रहेछ ।

मेरो फिल्म देखाएपछि मात्र उहाँले खाना खानुहुँदो रहेछ । उहाँको छोराले आग्रह गरेपछि म घरमा गएँ । ती बुढा मान्छे निकै खुसी हुनुभयो । उहाँले मेरो हात समातेर २५ मिनेटसम्म छाड्नुभएन । मैले पनि आफ्नै बाबु, काका जसरी अँगालो हालेर बसेँ । उहाँहरूचाहिँ तामाको काम गर्ने ताम्राकार हुनुहुँदोरहेछ । उहाँहरूले मलाई एउटा तामाको भाँडो दिनुभएको थियो ।

बिपी, गणेशमान, किसुनजी र मदन भण्डारी मेरा फ्यान

मेरो फ्यानहरू विभिन्न थरीका हुनुहुन्छ । त्यसमध्ये कांग्रेसका संस्थापक नेताहरू स्वर्गीय बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र एमाले नेता स्वर्गीय मदन भण्डारी मेरो फ्यान हुनुहुन्थ्यो । गणेशमान दाइको श्रीमती मंगलादेवी भाउजूले हामीलाई भेटेपछि ‘बाले त तपाईंहरूको क्यासेट सुनिरहनुहुन्छ’ भन्नुहुन्थ्यो । मदनकृष्ण दाइलाई र मलाई उहाँको घरमा जान खुला थियो ।

त्यस्तै, ०३७ मा हामीले प्रज्ञा भवनमा यमलोक भन्ने प्रोगाम देखाएका थियौँ । त्यहाँ साहित्यकारको रूपमा बिपी कोइराला पनि प्रोगाम हेर्न आउनुभएको थियो । प्रोगाम हेरेपछि नातिकाजी दाइसँग यी दुईजनाको प्रस्तुति देखेर म त यिनीहरूको फ्यान भएँ भन्नुभएछ । तर, मैले उहाँलाई भेट्नचाहिँ पाइनँ । कृष्णप्रसाद भट्टराई पनि मेरो प्रस्तुति हेर्न आइरहनुहुन्थ्यो ।

एकपटक पद्मरत्न तुलाधरको छोरीको विवाहमा मैले मदन भण्डारीलाई भेटेको थिएँ । उहाँले त्यहाँ हामीलाई भेट्नुभयो र हात मिलाएर ‘म तपाईंहरूको एकदमै ठूलो फ्यान हुँ, भूमिगत भएको समयमा तपाईंहरूको क्यासेट धेरै सुन्थ्यौँ’ भन्नुभयो । भेट भएको १५ दिनपछि उहाँ दुर्घटनामा परेर बित्नुभयो ।

नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७