गिट्टी कुटेर बुढेसकालको गुजारा


१४ माघ २०७६, मंगलवार
giti

रुकुम, १४ माघ । माघको चिसो, सडकको छेउमा एकाबिहानै रुकुमपश्चिम आठबिसकोट नगरपालिका–१४ छेपारेस्थित ६५ वर्षीय पुतली परियार गिट्टी कुट्दै भेटिन्छन् । उमेर जति बुढो भए पनि उनका कर्मशील हात भने गिट्टीमा कुदिरहेका छन् ।

गिट्टी कुटेर दैनिक रु छ हजारभन्दा बढी कमाउने गरेको उनको भनाइ छ । छोराछोरीले पालनपोषण गर्ने उमेरमा उनलाई गिट्टी कुट्न रहर नभई बाध्यता रहेको छ । दर्जन बढी परिवारको संख्या भएकी पुतली अहिले बाँच्नका लागि गिट्टीको सहारा लिन बाध्य भएको बताइन् ।

उनले भनिन्, ‘रेडियोबाट यो बाटो कालेपत्र गर्ने समाचार सुनेपछि म यहाँ गिट्टी कुट्न आएकी हुँ, नाति, नतिनालाई कापीकलम र मलाई घर खर्च टार्न केही पैसा आउँला भन्ने आशा छ ।’ ‘छोराहरु कमाइ गर्न भारत गएका छन्, छोरी सबैको विवाह भइसकेको छ’, उनले भनिन्, ‘अहिले मर्ने बेला पनि ढुङ्गा कुटेर जीवन पाल्ने पेशा नछुट्ने भो ? हात नचलाए खाना पाइँदैन ।’

उनी जस्तै आठविसकोट नगरपालिका–११ रिठास्थित छ बच्चाकी आमा २७ वर्षीय कमला सिर्पाइली दुई बच्चा च्यापेर गिट्टी कुट्दै छिन् । १५ वर्षकै उमेरमा उनको विवाह भयो । छोराको आश गर्दागर्दै पाँच छोरी जन्म हुँदा अन्तिममा छोरा जन्मिएको छ ।

कमलाले भनिन्, ‘श्रीमान् भारतमा कमाइ गर्न गएको दुई महिना भयो, म दुई छोराछोरी च्यापेर गिट्टी कुट्दैछु । दिनभरि कुटेको गिट्टीबाट मुस्किलले रु छ हजार हुन्छ ।’ दैनिक गिट्टी कुटेको रकमबाट छोराछोरीको लालनपालनदेखि घरायसी खर्च जुटाउन सजिलो भएको उनको भनाइ छ ।

त्रिभुवन मावि नलगाड–७ दल्लीमा कक्षा ४ मा पढ्ने आशिष पुन विद्यालय जाने समयसम्म गिट्टी कुट्ने गरेका छन् । बिहान ६ बजे रिठास्थित सडकमा हातमा हथौडा लिएर गिट्टीसँग पौठेजोडी खोज्ने आशिष यही कमाइबाट पढाइ खर्च जुटाउँछन् ।

बिहान चार घण्टा गिट्टी कुटेर विद्यालय जाने पुनलाई दैनिक गृहकार्य गर्ने समय नभएर समस्या पर्ने गर्दछ । उनी भन्छन्, ‘दैनिक गिट्टी कुट्दा गृहकार्य गर्ने समय नै हुँदैन, सरले किन गृहकार्य नगरेको भन्दै साथीको अगाडि उभ्याउनु हुन्छ, मेरो समस्या भने अर्कै छ ।’

यी त प्रतिनिधिमूलक घटना मात्र हुन् । जाजरकोट–डोल्पा सडकखण्डभित्र अहिले जीवन धान्नकै लागि गिट्टी कुट्ने मानिसको ठूलो भीड लाग्ने गरेको छ । दुधेबच्चा बोकेर सडकमा गिट्टी कुट्दै दैनिकी चलाउनेदेखि ६० वर्ष उमेर पार गरेका ज्येष्ठ नागरिकको जीवन धान्ने गतिलो माध्यम यही गिट्टी बनेको छ ।

रोजगारीका कुनै वैकल्पिक माध्यम नभएको भित्री पहाडीमा यहाँका अधिकांश स्थानीयवासी भारत जाने गर्दछन् । भारत जानबाट रोकिएका अधिकांश मानिस सडकमा गिट्टी कुटेर दैनिक जीवनरुपी रथलाई गति दिन बाध्य छन् । पुसको चिसो सिरेटो र पातलो एकसरो कपडाको सहारामा हातमा हथौडा लिएर गिट्टी कुट्दै जीवन खोज्नेहरु आजभोलि सडकमै भेटिने गरेका छन् ।

जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत पासागाड–चिसापानीसम्म पक्की गर्ने काम शुरु भएसँगै यहाँका अधिकांश गरीब परिवारका स्थानीयवासी सडकमा गिट्टीको सहारा लिन थालेका हुन् । छोराछोरीको पढाइदेखि वृद्धावस्थाको सहारा गर्नका लागि आर्थिक जोहो सडकमै हुने गरेको छ ।

खेतबारीमा उपादन हुने अन्नले छ महिना खाना नपुग्ने यहाँका स्थानीयवासी कोही भारत गएर कमाइ गर्छन् भने कोही यसरी सडकमा काम गरिरहेका छन् । गाउँगाउँमा विकास निर्माणका काममा समेत अधिकांश महिला नै सहभागी हुने गरेको नलगाड नगरपालिकाका नगर प्रमुख टेकबहादुर रावलले बताए । युवाहरु विदेशी भूमिमा छन्, गाउँमा वृद्ध तथा कम ऊर्जाशील सर्वसाधारण बढी भएका कारण विकास निर्माणका काम गर्न समस्या भएको यहाँका स्थानीय सरकारले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७