सहकारीको १२ करोड हिनामिना प्रकरणमा ५३ जनाविरुद्ध मुद्दा


१४ माघ २०७६, मंगलवार
Kapilbastu shakari

कपिलवस्तु, १४ माघ । सहकारी संस्थाको १२ करोड रुपैयाँ घोटालामा संलग्न ५३ जनामाथि अदालतमा मुद्दा दायर भएको छ ।

कपिलवस्तु बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा भएको १२ करोड रकम हिनामिना गरेका ५३ जनालाई प्रतिवादी बनाई प्रहरीले मुद्दा दायर गरेको हो । सहकारीका कर्मचारी, कार्यसमिति तथा अन्य विभिन्न समितिका पदाधिकारी र लेखा परीक्षक सहित ५३ जना उपर सोमबार जिल्ला अदालतमा ठगी तथा संगठित अपराधमा मुद्दा चलाईएको हो ।

करिब दुई महिना लामो अनुसन्धानपछि मुद्धा दायर गरिएको प्रहरीले जनाएको छ । सहकारीका अध्यक्ष रामेन्द्रसिंह रावल, उपाध्यक्ष जय प्रकाश पाण्डेय, सचिव देवेश जयसवाल, कोषाध्यक्ष प्रशान्त गुप्ता, लेखा समिति संयोजक बाबुराम भण्डारी लगायतको समितिलाई मुद्दा दर्ता गरिएको छ । त्यसैगरी आर्थिक वर्ष २०६७–०६८ देखि हालसम्मका पदाधिकारीलाई मुद्दामा विपक्षी बनाइएको छ ।

प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा सरकारी वकिलले ५३ जना उपर अभियोग पत्रका साथ अदालतमा मुद्दा दर्ता गराएका छन् । प्रतिवादी ५३ जना मध्ये सहकारीका प्रबन्धक अविनाश पाण्डेय, कर्मचारीहरु राजेश कान्दु, श्रवण कुमार गुप्ता र राकेश ठाकुर प्रहरीको नियन्त्रणमा छन् । प्रतिवादी मध्ये बाँकी ४९ जना फरार रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी नियन्त्रणमा रहेका ४ जना आरोपीको सोमबारबाटै बयान लिने काम शुरु भएको अदालतका श्रेस्तेदार चिन्तामणि शर्माले जानकारी दिएका छन् । प्रहरी अनुसन्धानका क्रममा मुख्य आरोपी राजेश कान्दुसँगको लामो बयान र अनुसन्धानपछि २०६७ सालदेखि हालसम्मका कर्मचारी, सञ्चालक समिति, लेखा परीक्षक सवैलाई विपक्षी बनाई मुद्दा दायर गरिएको प्रहरी नायब उपरीक्षक सुनील मल्लले बताए ।

२०६७–०६८ सालदेखि हुदै आएको लेखा परीक्षणमा लाखौं रुपैया हिनामिना भएको भए पनि सो हिनामिनालाई लेखा परीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छैन । ‘लेखा परीक्षण सही ढंगबाट हुँदै आएको भए गल्ती कमजोरी भएकै वर्षबाट सच्याउन मिल्थ्यो, तर लेखा परीक्षकहरुले सही ढंगबाट लेखा परीक्षण गरेको देखिएन’, सहकारीका अध्यक्ष रामेन्द्र सिंह रावलले बताए । यति धेरै रकम घोटाला भएपछि सो सहकारी दुई महिना अघिदेखि बन्द छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७