विराटनगरमा युवकको विभत्स हत्या, अनुहार ढुङ्गाले किचिएकाले पहिचानमै समस्या


१४ माघ २०७६, मंगलवार
Death

मोरङ, १४ माघ । मोरङको विराटनगर महानगरपालिका–४ र सुनसरीको दुहवी नगरपालिका–१२ बुकडोरीको सीमाना भएर बग्ने केसलिया खोला नजिकै एक युवको विभत्स रुपमा हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

हत्या गरेर फ्याँलिएको युवाको शव निर्वस्त्र फेला परेको छ । दुहवी–१२ बुकडोरीतर्फ हत्या गरेर खाल्डोमा फ्याँल्दै पराल र माटोले पुरेको अवस्थामा मंगलबार बिहान शव भेटिएको प्रहरीले जनाएको छ । अनुहारमा ढुङ्गा, इँटाले प्रहार गरिएका कारण शवको पहिचानमै समस्या भइरहेको प्रहरीले जनाएको छ ।

युवाको नाम, थर र वतन खोज्ने र हत्यारा पत्ता लगाउनका लागि खोजी कार्य तीब्र पारिएको सुनसरी प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले बताएका छन् । युवाको शव भेटिएको जानकारी स्थानीयले प्रहरीलाई दिएका थिए । पोखरेलले शरीरमा लगाएका कुनै पनि कपडा नभएको र अनुहार तथा टाउको किच्याएर चिन्नै नसक्ने बनाएको अवस्थामा शव भेटिएको बताएका छन् ।

बाँस झ्याङ नजिकै रहेको घटनास्थलमा वरपर लतपतिएको रगतका टाटाहरु छन् । घटनास्थलबाट शवसँगै रगत लागेको एउटा इँटा र च्यातिएको मखलर (गलबन्दी) को टुक्रा फेला परेको एसपी पोखरेलले बताए ।

हत्या गरेर फ्यालिएका युवाको उमेर अन्दाजी २०–२५ वर्ष जस्तो देखिन्छ । शरीरका केही भाग सड्न लागेको अवस्थामा भेटिएको शव पोस्टमार्टमका लागि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेर घटनाको अनुसन्धान गहन ढङ्गले थालिएको एसपी पोखरेलको भनाइ छ ।

उनले सड्न थालेका कारण घटना दुई–तीन दिनअघिको हुन सक्ने आशंका गरिएको बताए । ‘घटना हत्या नै हो । हत्या गरिएका युवाको पहिचान हुन सकेन,’ पोखरेलले भने, ‘प्रहरीले विभिन्न ठाउँमा पुगेर बुझ्ने काम गरिरहेको छ । शव भेटिएका युवाको पहिचान खुलेदेखि घटनाको वास्तविकतासम्म पुग्न सकिने थियो ।’ हत्या गरिएका युवाको पहिचान नै नभएका कारण घटनामा संलग्नका बारेमा पनि यकिन हुन नसकेको उनको भनाइ छ ।

घटनाको प्रकृति हेर्दा कुनै रिसिईबीका कारण केही न केही नियत राखेर हत्या गरे जस्तो देखिने उनले बताए । घटनास्थलबाट नजिकै दक्षिण–पश्चिममा विराटनगरबाट बुकडोरीतिर जाने पक्की सडक छ । ‘अति नै व्यस्त रहने सडक छेउमै शव भेटिएका कारण घटना दिउँसो नभई राति गराइएको हुनुपर्छ,’ एसपी पोखरेलले भने, ‘घटनाको प्रकृति हेर्दा घटनामा एक जनाको मात्रै संलग्नता हैन भन्ने देखिन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७