कोरोना भाइरस : मित्र राष्ट्रको साथ खोज्दै चीन


१५ माघ २०७६, बुधबार
korona 4

काठमाडौं, १५ माघ । चीनले बेइजिङमा रहेका कूटनीतिज्ञलाई नोवेल कोरोना भाइरस नियन्त्रणका लागि आफ्नो नीतिप्रति समझदारी राखिदिन आग्रह गरेको छ ।

विदेश मन्त्रालयले बेइजिङस्थित नेपालसहित विभिन्न मुलुकका राजदूतहरूलाई कोरोना भाइरस नियन्त्रणबारे अपनाइएको नीतिबारे विस्तृत जानकारी दिँदै यस्तो अपिल गरेको हो । चिनियाँ पक्षले भ्रमपूर्ण समाचार वा सूचनासँग सावधान रहन, कोरोना भाइरस संक्रमणका सम्बन्धमा आधिकारिक सूचना मात्र सामाजिक सञ्जालमार्फत प्रवाह गर्न आह्वान गरेको छ ।

चीनको परराष्ट्र मन्त्रालय र राष्ट्रिय स्वास्थ्य प्रशासनका वरिष्ठ अधिकारीहरूले चीनमा रहेका राजदूत तथा विदेशी कूटनीतिज्ञहरूलाई नोवेल कोरोना भाइरसको नियन्त्रणसम्बन्धमा जानकारी गराएका थिए । चीनले कोरोना भाइरस नियन्त्रणका लागि उहानलगायतका सहरमा विशेष कदम चालेको छ ।

यसैबीच चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले उहानमा रहेका नेपालीको सुरक्षा सम्बन्धमा छलफल गरेका छन् । उनले संक्रमण नियन्त्रणका लागि चीन सरकारले चालेको कदमप्रति नेपालको समर्थन रहेको प्रस्ट पारेका छन् ।

उनले हुपै प्रान्तको उहानमा रहेका नेपालीको सुरक्षाका लागि सहयोग उपलब्ध गराउन सम्बन्धित निकायलाई अनुरोध गरेका छन्। चीनले हुपै प्रान्तमा रहेका विदेशीलाई स्वदेश फर्काउन नयाँ नीति जारी गरेमा तत्काल जानकारी गराइ ने राजदूत पौड्यालले बताए ।

उहानमा रहेका नेपालीले कुनै समस्या आइपरेका बेइजिङस्थित नेपाली दूतावासको हटलाइनमा सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ । दूतावास अधिकारी ‘विच्याट’ मार्फत विभिन्न प्रान्त र सहरमा रहेका नेपालीसँग निरन्तर सम्पर्कमा छन् । दूतावासले नेपाल सरकार तथा चीन सरकारका सम्बन्धित निकायसँग नियमित सम्पर्कमा रहेको जनाएको छ ।

भाइरस संक्रमण नियन्त्रणका लागि चीन सरकारको सुझाव पालना गर्न, कुनै समस्या उत्पन्न भएमा दूतावास वा हुपै सरकारको हटलाइनमा सम्पर्क गर्न नेपाली दूतावासले अपिल गरेको छ । अन्नपूर्ण पोस्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७