‘कोरोना भाइरसबाट आत्तिनु पर्ने अवस्था छैन’

नेपालमा यसरी भयो पुष्टि, यस्ता हुन्छन् कोरोनाको लक्षण


१५ माघ २०७६, बुधबार
virus korona disebar ular dan kelelawar

काठमाडौं, १५ माघ । चीनको हुवान प्रान्तबाट सुरु भएको नोवेल कोरोना भाइरस एक जना नेपालीमा देखिएपछि सरकारले उच्च सतर्कता अपनाउन थालेको छ । सङ्क्रमित व्यक्ति हुवान प्रान्तबाट आएका नेपाली हुन् ।

एक जनामा देखिए पनि सङ्क्रमण बढ्न सक्ने आशङ्कामा सरकारले विभिन्न क्षेत्रमा ’हेल्थ डेस्क’ स्थापना गरेर सङ्क्रमण फैलन नदिन आवश्यक तयारी थालिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । काठमाडौं, पोखरा, चितवन, लुम्बिनीलगायत क्षेत्रमा डेस्क नै स्थापना गरेर निगरानी र सतर्कता अपनाउन थालिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगन्तुकको परीक्षणका लागि चौबिसै घण्टा स्वास्थ्यकर्मीको टोली खटाइएको मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताए । ‘कोही आत्तिनु पर्ने अवस्था छैन तर, पनि सङ्क्रमित क्षेत्रबाट आएकालाई भने विशेष निगरानी गरिएको छ’, श्रेष्ठले भने ।

सामान्य ज्वरो आउँदैमा डराइडराइ अस्पताल जानु नपर्ने उनले बताए । सङ्क्रमण दर बढन् सक्ने आशङ्कामा निगरानी बढाइएको र बढ्ने अवस्था देखिएमा त्यसको सामना गर्न आवश्यक तयारी भइरहेको सरकारले जनाएको छ ।

विमानस्थलबाट आउने सबै व्यक्तिको ज्वरोको जाँच सुरु गरिएको छ र एम्बुलेन्स पनि तयारी अवस्थामा राखिएको छ । स्वास्थ्यकर्मी बढी जोखिममा हुने भएकाले आवश्यक सावधानी अपनाउन भनिएको छ । स्वास्थकर्मीलाई आवश्यक प्रशिक्षण दिन थालिएको छ ।

नोवेल कोरोना भाइरसले रुघाखोकीदेखि गम्भीर प्रकारको स्वाशप्रश्वासको समस्या निम्त्याउन सक्ने चिकित्सकले बताएका छन् । सुरुमा जनावरबाट मान्छेमा आएको यो भाइरस पछिल्लो समयमा मान्छेबाट मान्छेमा सरेको विश्व स्वास्थ्य सङ्गठन (डब्लयूएचओ) ले पुष्टि गरिसकेको छ ।

कोरोना भाइरस विभिन्न सात प्रकारका छन् । सन् २००३ मा चीनमा सार्स कोरोना देखा परेको थियो । त्यसपछि सन् २०१२ मा मर्स कोरोना देखियो । अहिलेको ३१ डिसेम्बरमा चीनको हुवान शहरमा भने नोवेल कोरोना भाइरस देखिएको हो । यसलाई ‘द्दण्ज्ञढ,ल्(अयख’ नाम दिइएको छ ।

यस्ता हुन्छन् मुख्य लक्षण
नोेवेल कोरोना भाइरसको मुख्य लक्षण भनेको ज्वरो आउनु, सास फेर्न अफ्ठेरो हुनु र छातीमा सङ्क्रमण हुनु हो । रुघाखोकी जस्तै लक्षण देखिने भाइरस श्वासप्रश्वास, एक जनाले प्रयोग गरेको सामान वा रुमाल प्रयोग गर्दा, हात मिलाउँदा सर्न सक्ने चिकित्सकको भनाइ छ ।

यसको नियन्त्रणका लागि तत्कालै पहिचान गर्ने, त्यसलाई व्यवस्थापन र निदानात्मक उपाय अपनाउने, सङ्क्रमित व्यक्तिको नजिकका मान्छे खोजेर उनीहरूको निगरानी गर्ने जस्ता उपाय अपनाउनु पर्नेमा चिकित्सकको जोड छ ।

यस्तै विभिन्न देशमा गएका यात्रीले आफ्नो स्वास्थ्यमा सचेतना अपनाउनु पर्छ । धेरै भिडमा नजाने, व्यक्तिगत सुरक्षा र सरसफाइमा ध्यान दिने, सकेसम्म हात नमिलाउने मिलाएमा साबुन पानीले राम्ररी हात धुनसमेत चिकित्सकले भनेका छन् ।

विश्व स्वास्थ्य सङ्गठनको आकस्मिक कमिटीको यही जनवरी २२ र २३ मा जेनेभामा बसेको बैठकले यसलाई अहिलेसम्म विश्वको ठूलो स्वास्थ्य समस्याको रूपमा घोषणा गरेको छैन । यसलाई मध्यम तहको भनेर घोषणा गरेको छ ।

सङ्गठनको तथ्यङ्कअनुसार दुई हजार सात सय ९८ जनामा भाइरस सङ्क्रमण भएको पुष्टि भएको छ । चीनबाहेक नेपालसहित ११ देशमा सङ्क्रमण भएको पुष्टि भएको छ । चीनमा दुई हजार सात ४१ जना छन् भने बाँकी अन्य देशका छन् । अहिलेसम्म ज्यान गुमाउनेको संख्या सय नाघिसकेको जनाइएको छ ।

चीन बाहिर भियतनाममा मात्रै मान्छेबाट मान्छेमा सरेको पुष्टि भएको तर मान्छेबाट मान्छेमा कति समयमा र कुन परिमाणमा सर्छ भन्ने कुरा अझै यकिन भैसकेको छैन । कति अवधिमा रोग सर्छ भन्ने प्रष्ट नभए पनि सामान्यतः दुई देखि १० दिनभित्रमा लक्षण देखिने जनाइएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार बढी सङ्क्रमण फैलिएको चीनको हुवान प्रान्तमा एक सय ९० जना नेपाली रहेको तथ्याङ्क छ । जसमध्ये सय जना सम्पर्कमा आइसकेका छन् । अन्यलाई पनि ‘वी च्याट ग्रुप’ वा अन्य कुनै माध्यामबाट सम्पर्कमा ल्याउने प्रयास भइरहेको जनाइएको छ ।

सन् २००२ मा चीनमा सार्स कोरोना भएको थियो । त्यसको पुष्टि सन् २००३ मा विश्व स्वास्थ्य सङ्गठनले र्गयो । त्यहाँ आठ हजार जनामा सङ्क्रमण भएकोमा सात सय ७४ को ज्यान गएको थियो । जसले गर्दा मृत्युदर बढी भयो ।

सन् २०१२ मा साउदी अरबमा मर्स कोरोनाको सङ्क्रमण हुँदा मृत्युदर ३५ प्रतिशत थियो । अहिले तीन प्रतिशत मृत्युदर हुनु सामान्य भएको मन्त्रालयको दाबी छ । सन् २०१५ मा दक्षिण कोरियामा पनि यस्तै प्रकारको भाइरस देखिएको थियो ।

नेपालमा यसरीे भयो पुष्टि

हुवान प्राप्तबाट आएका एक व्यक्ति रुघाखोकी र ज्वरो देखिएपछि अन्य बिरामीझैं आफै ओपीडीमा सामान्य उपचार गर्न पुगेका थिए । उनको नमुना परीक्षणका लागि विश्व स्वास्थ्य सङ्गठनको हङकङमा रहेको प्रयोगशालामा पठाइएको थियो । परीक्षणमा उनीमा नोवेल कोरोना भाइरस पुष्टि भएको शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका चिकित्सक डा. विवेकलालले जानकारी दिए ।

उनी अहिले घर फर्किसकेका छन् । उनीसँगको सम्पर्कमा रहेका अरुमा भने भाइरस नदेखिएको डा. विवेकलालले जानकारी दिए । उनी नेपालमा गएको पुस १६ गते चिकित्सकको सम्पर्कमा आएका थिए । पुस २८ गते भर्ना भएकोमा माघ ९ गते भाइरस रहेको पुष्टि भएको थियो ।

अहिलेसम्म परीक्षण गरिएका चारमध्ये तीन जनामा भने भाइरस नरहेको पाइएको छ । शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशाला हेर्ने डा. रुना झाले अहिले कुनै पनि व्यक्ति परीक्षणको क्रममा नरहेको जानकारी दिए ।

अर्का चिकित्सक डा. अनुप बाँस्तोलाले मौसमी रुघाखोकी जस्तै रहेको बताउँदै दुवैको रोक्ने तरिका पनि उस्तै उस्तै भएको बताए । नियमित हात धुने, बिरामीको नजिक नजाने, गएमा सुरक्षा अपनाएर जाने, माक्स लगाउने, सङ्क्रमित व्यक्तिलाई छोएमा तत्कालै साबुन पानीले हात धुनेलगायतका उपाय अपनाउन उनले सबैलाई सुझाव दिएका छन् ।

सामान्य रुघाखोकी लागेका पनि टेकु अस्पतालमा आउने क्रम बढेको भन्दै उनले सङ्क्रमित क्षेत्रका मानिसलाई मात्रै विशेष निगरानी जरुरी रहेको तर अन्य मानिसले सामान्य रूपमा उपचार गराउँदा हुने बताए । स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर दाहालले समयमै स्वास्थ्य संस्थामा जाँच गराउनु पर्नेमा जोड दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७