स्वदेश फर्कन चाहने आप्रवासी कामदारका लागि थपियो ६ महिना


२३ पुष २०७४, आईतवार
malasia

काठमाण्डौं : स्वदेश फर्किन चाहने आप्रवासी कामदारका लागि मलेशिया सरकारले ६ महिना अवधि थपेको छ । उक्त अवधि सकिएसँगै उसले पुनः अर्को ६ महिना (यसै वर्ष जुन ३०) सम्मका लागि समयावधि थप गरेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । मलेशियाले पछिल्लो पटक गत वर्ष अक्टोबर १० देखि डिसेम्बर ३१ सम्मका लागि समयावधि दिएको थियो ।malasia

क्वालालम्पुरस्थित नेपाली दूतावासका अनुसार ‘माई ईजी सर्भिसेज बर्हाड’ लगायत विभिन्न ८ कम्पनीहरुले मलेशियाली अध्यागमन विभागसँग सहजीकरण गरी गैरकानुनी कामदारलाई घर फर्काउन सरकारी अनुमति पाएका थिए । विगत एक बर्षको अवधिमा करीब १६ हजार अवैधानिक नेपाली कामदार स्वदेश फर्किसकेको दूतावासले जानकारी दिएको छ । अहिले दैनिक सय जनाको हाराहारीमा नेपालीहरु स्वदेश फिर्तीका लागि यात्रा अनुमतिपत्र लिन दूतावास पुग्ने गरेका छन् ।

तर उनीहरु पक्राउ परिने डरले आफैं अध्यागमन विभाग जाँदैनन् । त्यहाँ जान अधिकांश दलालको सहारा लिने गरेका छन् भने कतिपय सहजीकरणका लागि सरकारी मान्यता पाएका कम्पनीका प्रतिनिधिको सहारामा आउटपास लिन पुग्ने गरेका छन् । करीब २० लाख आप्रवासी कामदार बैधानिक रुपमा कार्यरत रहेको मलेशियामा अझैं लाखौं कामदारहरु अवैधानिक अवस्थामा कार्यरत रहेको अनुमान छ । करीब ४ लाख नेपाली बैधानिक रुपमा कार्यरत रहेका र हजारौं नेपाली अवैधानिक अवस्थामा कार्यरत रहेको हुनसक्ने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७