सनराइजको नाफा बढ्यो, ६ महिनामा ९४ करोड


१६ माघ २०७६, बिहीबार
Sunrise logo

काठमाडौं,१६ माघ । पहिलो त्रैमासको वर्गीकरणमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले सूचीकृत कम्पनीमध्ये एकमात्रै ‘क’ वर्गको कम्पनीको रुपमा सनराइज बैंकलाई राखेको थियो ।


नेप्सेको वर्गीकरणलाई साबित गर्दै बैंकले दोस्रो त्रैमासमा उल्लेख्य प्रगतिको रिपोर्ट सार्वजनिक गरेको छ । सनराइज बैंकले यो आर्थिक वर्षको पुससम्म आफ्नो खुद नाफालाई बढाएर ९४ करोड रुपैंया पुर्याएको छ जुन अघिल्लो वर्षको सोही अवधिको तुलनमा करिब १९ प्रतिशतले बढी हो । अघिल्लो वर्ष पुससम्म बैंकको नाफा ७९ करोड रुपैंया थियो ।


बैंकले पुस मसान्तसम्ममा ८२ अर्ब १५ करोड निक्षेप संकलन गरी ७५ अर्ब ८९ करोड रुपैंया कर्जा प्रवाह गरेको छ । निक्षेप र कर्जाको यो आकार अघिल्लो वर्षको तुलनामा ७-७ बढी हो । अघिल्लो वर्षको सोही समयमा निक्षेप ७४ अर्ब ४३ करोड र कर्जा ६८ अर्ब ८६ करोड रुपैंया थियो ।


पुस मसान्तसम्म बैंकको जगेडा कोष २ अर्ब ९४ करोड रुपैंया छ । यो कोष अघिल्लो वर्षको तुलनामा १३ करोड रुपैंयाले बढी हो । यो वर्ष १० प्रतिशत बोनस शेयर जारी गरेको बैंकले आफ्नो चुक्ता पुँजी अघिल्लो वर्षको तुलनामा ८१ करोडले बढाएर ८ अर्ब ९६ करोड रुपैंया पुर्याउँदा अघिल्लो वर्षको नबाँडिएको नाफा ८५ करोड रहेको देखिएको छ ।


सनराइज बैंकले अघिल्लो वर्षको तुलनामा ब्याज आम्दानी र ब्याज खर्च दुवैमा वृद्धि गरेको छ । ब्याज आम्दानी ४ अर्ब ४९ करोडबाट बढेर ४ अर्ब ९६ करोड पुग्दा ब्याज खर्च २ अर्ब ७७ करोडबाट २ अर्ब ९१ करोड रुपैंया पुगेको बैंकले जनाएको छ । अरु बैंकहरुको ब्याज खर्च यो अवधिमा उच्च गतिले बढ्दा पनि सनराइजको यस्तो खर्चमा संयमता देखिएको हो । कर्मचारी खर्च भने ५२ करोडबाट बढेर ७० करोड र अन्य सञ्चालन खर्च करिब २६ करोडबाट ३१ करोड रुपैंया पुगेको देखिएको छ ।


पुस मसान्तसम्म सो बैंकको पुँजीकोष अनुपात १७।१४ प्रतिशत छ यो नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र हो । निष्क्रिय कर्जा अनुपातलाई १।६९ प्रतिशतबाट १।२६ प्रतिशतमा झार्न सफल भएको छ । बैंकको यो वर्ष कस्ट अफ फण्ड केही घट्दा त्यसको सकारात्मक असर बेसरेटमा देखिएको छ ।


पुस मसान्तसम्म यो बैंकको कस्ट अफ फण्ड ७।१४ प्रतिशत र बेसरेट ९।९९ प्रतिशत छ । बेसरेटमा कस्ट अफ फण्डका अतिरिक्त सीआरआरको लागत, एसएलआरको लागत र सञ्चालन खर्च जोड्न पाउने राष्ट्र बैंकको प्रावधान छ ।

बैंकको निक्षेपमा दिने औसत ब्याज र कर्जामा लिने औसत ब्याजदरको अन्तर भने ५।१४ प्रतिशत छ, यो सीमालाई आगामी असार मसान्तसम्ममा ४।४० प्रतिशतमा ल्याउनुपर्ने हुन्छ जसका कारण नाफा प्रभावित हुनसक्छ । बैंकले बचत खातामा ४ प्रतिशतदेखि ६ प्रतिशत र मुद्दति खातामा ७ देखि ९।२५ प्रतिशतसम्म ब्याज दिँदै आएको छ । कर्जाको ब्याजदर भने बेसरेटमा ६ प्रतिशतसम्म थप गरेर लिँदै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७