प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै केपी ओली !


२३ पुष २०७४, आईतवार
Oli Dahal

काठमाण्डौं : नेकपा माओवादी र नेकपा एमालेको पार्टी एकता सेलाएको हो कि भन्ने शंका बढिरहेका बेला दुबै पार्टीका युवा नेताहरुले भने पार्टी एकताको अन्तिम ‘मोडालिटी’ तयार भईसकेको दावी गरेका छन् ।Oli Dahal

पार्टी एकताकै कारण सरकार गठनले गति लिन नसकिरहेको अनुमान भइरहेका बेला युवा नेताहरुले भने मोडालिटी तयार गर्ने काम अन्ति चरणमा पुगेको बताएका हुन् । तयार हुँदै गरेको मोडालिटी अनुसार एकतापछिको पार्टीको नेतृत्व र प्रधानमन्त्री दुबै केपी शर्मा ओलीलाई दिने तयारी रहेको उल्लेख छ । पार्टी एकताका लागि ५०–प्रतिशतको हिस्सा चाहिने माओवादी केन्द्रका केहि नेताहरुले बताइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीकै सल्लाहमा उक्त मोडालिटी तयार भइरहेको पनि दावी गरिएको छ । चुनावमा जनताले आफूहरूले अघि सारेको स्थिर सरकार र समृद्धिको मुद्दालाई अनुमोदन गरेको र चुनावअघि नै ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा घोषणा गरिसकेको कारण पार्टी एकता गर्दा प्रधानमन्त्री, पार्टी अध्यक्ष र संसदीय दलका नेता ओली नै रहने विषयमा लगभग सहमति जुटेको समाचार स्रोतले जनाएको छ ।

चुनावी तालमेलअघि अति गोप्य रुपमा पार्टी एकताको मोडालिटी बनाउने जिम्मा दोस्रो पुस्ताका नेतालाई दिइएको भनिएको खाका तयारीको कुरा आफूहरु निकटका नेताहरुलाई समेत जानकारी नभएको दावी गरिएको छ । एमाले र माओवादीभित्रका कतिपय जिम्मेवार नेता समेत एकता हुँदा आफ्नो मन्त्री पद र पार्टीमा प्राप्त पद गुम्ने त्रासमा विपक्षमा लागेको तथ्य फेला परेपछि ओली र दाहाल दुवैले एकतापछिको राजनीतिक कार्यदिशा, सिद्धान्त, सांगठानिक संरचना र नेतृत्वको विषयमा गोप्य रुपमा खाका तयारी गरिरहेको स्रोतको दावी छ ।

पार्टी एकीकरण गर्दा एकता महाधिवेशनसम्म दुवै अध्यक्ष रहने, अध्यक्ष र कार्यवाहक अध्यक्ष रहने वा सहअध्यक्षको व्यवस्था गरी पार्टी सञ्चालनको जिम्मा दिने गरी एकताको मोडालिटी लगभग टुङ्गिएको छ । यो मोडालिटीमा माओवादी अध्यक्ष दाहाल सहमत रहेको पनि उल्लेख छ । त्यसै आधारमा दाहालले केही दिनअघि अध्यक्ष विना एकता नहुने भन्ने अडानमा माओवादी नरहेको भनाइ सार्वजनिक गरेको दाहाल निकट एक नेताले बताएका छन् ।

‘प्रचण्ड स्वयम्ले चुनावअघि नै प्रधानमन्त्रीमा ओलीको नाम घोषणा गरेको र आमजनताले भावी प्रधानमन्त्रीका रूपमा ओलीलाई हेरेकोले उनैलाई नै संसदीय दलको नेतासहित एकता महाधिवेशनसम्म एकीकृत पार्टीको अध्यक्ष कायम राखेर घोषणापत्रअनुसार स्थिर सरकार निर्माण गरी समृद्धितर्फ जाने गरी दुवै नेताले एकता मोडालिटीमा लगभग टुङ्गो लगाउने तयारी छ’–माओवादी केन्द्रका एक नेताले भनेका छन्–एकतामा पदीय हैरियत वाधक बन्दैन ।’ उनका अनुसार अब हुने एकता संयोजन समितिको वैठकले मोडालिटीलाई अन्तिम रूप दिनेछ ।
मान्य होला त मोडालिटी ?

प्रचण्ड र केपी ओलीबीच पार्टी एकताका अन्तिम तयारी भइरहेको र दुबै अध्यक्ष एकताका लागि मोडालिटीमा मञ्जुर रहेको दावी रहे पनि अहिले भनिएको मोडालिटीमा दुईतर्फी रुपमा आएको कुरामा माओवादी केन्द्रका नेताहरु भने शंका व्यक्त गरिरहेका छन् । पार्टी एकताका लागि समान हिस्सेदारी आवश्यक हुने माओवादीका शीर्ष नेताहरु बताउँछन् । न्यायिक सिद्धान्त भन्दा बाहिर रहेर आएको मोडालिटीलाई पार्टीका सबै नेताले मान्छन् भन्ने कुरा पत्याउन नसकिने माओवादी केन्द्रका एक शीर्ष नेता बताउँछन् । पार्टी एकताको प्रक्रियाबारे सबै जानकार हुन आवश्यक रहेको बताउँदै उनी भन्छन्–‘मिल्ने भए मिल, नत्र केहि छैन भन्ने हिसावमा आउने मोडालिटीमा हाम्रो समर्थन रहँदैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७