उपराष्ट्रपतिको घर छेउमै दर्दनाक घटना, श्रीमान-श्रीमतीलाई बाँधेर लुटियो

मुखमा कपडा कोचेर बाँधिएका बृद्धको मृत्यु


१८ माघ २०७६, शनिबार
rukum

रुकुम, १८ माघ । उपराष्ट्रपति नन्दबहादुर पुनको गृह जिल्ला रोल्पाको परिवर्तन गाउँपालिका–६ मा दर्दनाक घटना घटेको छ ।

रोल्पाको परिवर्तन गाउँपालिका– ६ भनभनेमा रहेको उपराष्ट्रपति पुनको छिमेकीको घरमा बाँधेर लुटपाट मच्चाइएको छ । यो दर्दनाक घटना माघ १६ गते राति १० बजेतिरको हो ।

६ जना केटा र जना एक केटी वृद्धवृद्धा मात्र रहेको एक घरमा पुगे । उनीहरुले दुबै बुढाबुढीको हात खुट्टा बाँधेर मुखमा कपडा कोचिदिए । केहि समयभित्र घर पुरै खानतलासी गरेर नगद र सुन लुटेर हिंडे ।

हात खुट्टा बाँधेर मुखमा कपडा कोचेर लडाइएका बृद्धको कतिबेला मृत्यु भयो कसैले पत्तो समेत पाउन सकेनन् । १७ गते बेलुका ८ बजेतिर अबेलासम्म घरमा बत्ति नबलेपछि छिमेकी हेर्न जाँदा वृद्धा भने बाँधिएको अवस्थामा अचेत भेटिइन् । ७२ वर्षीय बलिराम बुढा बाँधिएकै अबस्थामा मृत भेटिए भने उनकी ७० वर्षीया श्रीमती काउली बुढाको स्थानीयले उद्धार गरे ।

घरमा कति रकम थियो भन्ने काउलीलाई यकिन जानकारी नभए पनि करिब एक लाख नगद र करिब दुई तोला सुन लुटिएको हुन सक्ने प्रहरीले अनुमान गरेको स्थानीयले जानकारी दिएका छन् ।
प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाइसकेको जनाएको छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल रेउघा ल्याइएको रोल्पा प्रहरी प्रमुख डिएसपी चित्रबहादुर गुरुङले जानकारी दिएका छन् । उनका अनुसार अपराधमा संलग्नको खोजी भइरहेको छ ।

आफूहरु पुग्दा घरका सबै सामान छरपस्ट अवस्थामा भेटिएको जानकारी दिंदै स्थानीय नविन रोका मगरले भने, ‘गाउँघरमा अलि हुने खाने भनेर चिनिएका कारण अपराधीले नगद र सुन चाँदी खोज्दा सरसामान छरेका हुन सक्छन् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७