वुहानमा रहेका १७७ नेपाली विद्यार्थी फिर्ता ल्याइँदै, यी हुन् सम्भावित स्थान


१९ माघ २०७६, आईतवार
health ministray

काठमाडौं, १९ माघ । चीनको वुहानमा रहेका १७७ नेपाली विद्यार्थीलाई नेपाल ल्याइने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी १७७ जना विद्यार्थीलाई नेपाल ल्याउने तयारी भएको जानकारी दिएको हो । चीनको वुहानमा कोरोना भाइरसको संक्रमण फैलिएपछि नेपाली विद्यार्थीलाई नेपाल फिर्ता ल्याउन लागिएको हो ।

बेइजिङस्थित नेपाली दूतावासले उहानमा रहेका नेपाली विद्यार्थीहरुलाई सुरक्षित तबरले नेपाल ल्याउनका लागि फाराम भर्न शनिबार नै सूचना जारी गरिसकेको छ ।

मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठका अनुसार उनीहरुलाई चीनबाट उद्धार गरेर ल्याएपछि राख्ने सुरक्षित स्थान छैन। उनले भने, ‘चीनबाट ल्याएपछि उनीहरुलाई राख्नका लागि ठाउँ छैन। अध्ययन भइरहेको छ।’ तर हालसम्म भक्तपुरको विद्युत तालिम केन्द्र, स्टाफ कलेज जावलाखेल, भक्तपुरको बोडेस्थितकृषि विकास बैंकको हल, किर्तीपुर आयुर्वेदिक अस्पताल संभावित सुरक्षित स्थानको सूचीमा छन्।

जोखिम र चुनौती दुवै रहेको भन्दै प्रवक्ता श्रेष्ठले भने, ‘हामीले पहिलो पटक सर्वसाधारणलाई निगरानीका लागि छुट्टै स्थानमा राख्न लागेका छौ। यसअघि हामीले नेपाली सेना र प्रहरीलाई मात्र राखेका थियौ। त्यसैले जोखिम र चुनौती दुवै छ।’ उनीहरुलाई स्वदेश फिर्ता गर्ने निर्णय भएपनि कहिलेसम्म उद्धार गरिने भन्ने तय पनि भइसकेको छैन। तर जतिसक्दो छिटो उद्धार गरिने मन्त्रालयको भनाई छ।

चीनस्थित नेपाली राजदुतावासले शनिवार सूचना प्रकाशित गर्दै हुबेइ प्रान्तमा रहेका नेपाली नागरिकलाई फिर्ता ल्याउने निर्णय गरेको थियो। आइतवार बिहान ९ बजेसम्म १ सय ७७ जना नेपालीले स्वदेश फर्कन आवेदन दिएका छन्।

चीनबाट फर्कने नेपालीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण गर्दा संक्रमित भए तोकिएका अस्पतालको आइसोलेसन वार्डमा राखी उपचार हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए। अन्य नेपालीलाई भने दुई हप्तासम्म निगरानीका साथ छुट्टै स्थानमा राखिनेछ। यसअघि चीनबाट प्रस्थान गर्ने विमानस्थलमा सबै नेपालीको स्वास्थ्य परीक्षण गरिने मन्त्रालयले जनाएको छ।

चीनबाट प्रस्थान गर्ने विमानस्थलसम्म पुर्‍याउन चीनस्थित नेपाली राजदुतावासले व्यवस्था गर्ने उनले जानकारी दिए। चीनमा रहेका नेपालीलाई सुरक्षित साथ स्वदेश फर्काइने उनको भनाई छ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७