वुहानका नेपाली विद्यार्थीको पीडा : सबै देशले उद्धार गरीसक्यो, हामी टुहुरा जस्तो भयौं


१९ माघ २०७६, आईतवार
Nepali Student in China

काठमाडौं, १९ माघ । कोरोनाभाइरसको महामारी फैलिएको चीनको वुहानमा रहेका नेपाली विद्यार्थीहरुले आफूहरु उद्धारको प्रतिक्षामा रहेको बताएका छन् । कोरोनाभाइरस महामारी तिव्र रुपमा फैलिरहेको भन्दै उनीहरुले आफूहरु देश फर्किन चाहेको उनीहरुको भनाई छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र सरकारका मन्त्रीहरुले चीनमा रहेका विद्यार्थी र अन्य नेपालीहरु चीनमा सुरक्षाको साथ बसिरहेका दाबी गरेको रहेका विद्यार्थीहरुले भने आफूहरु असाध्यै अप्ठ्यारोमा रहेका बताएका छन् । वुहानमा रहेका विद्यार्थीहरुले सामाजिक सञ्जाल तथा बिभिन्न माध्यमबाट सन्देश पठाउदै आफूहरु थुनिएर बस्नुपर्ने अवस्थामा रहेको जानकारी दिएका छन् ।

वुहानमा रहेका विद्यार्थीहरु आफूहरु कोठाभित्रै थुनिएर बस्नु परेको भन्दै पठाएका भिडियोहरु सार्वजनिक भएका छन् ।  वुहान विद्यावारिधि गरीरहेकी पत्रकार प्रमिला देवकोटा आफूहरु उद्धारको प्रतिक्षामा रहेको बताइन् । उनले भनिन्,‘ सरकारले कहिले लैजाने हो ? हामी कुरेर बसिरहेका छौँ ।’ भारत, बंगलादेश र श्रीलंकाले आफ्नो विद्यार्थीहरु फर्कासक्दा नेपाली विद्यार्थीहरु फर्काउने  कुनै टुंगो नरहेको भन्दै चिन्ता व्यक्त गरिन् ।

Parmila Devkota
वुहानमा विद्यावारिधि गरीरहेकी पत्रकार प्रमिला देवकोटा

वुहानमा कोरोनाभाइरसको संक्रमण आक्रमक रुपमा बढिरहेको र अस्पताल गएकाहरु निको भएर फर्किनेहरु नरहेको भन्दै देवकोटाले तत्काल देश फर्किन चाहेको बताइन् । ‘विच्याटमा नेपाली विद्यार्थीहरु पशुपतिनाथले रक्षा गरुन् भनेर लेखिरहेका छन् । हामी बाहिर निस्कन लिफ्टको बटन थिच्दा पनि त्यसबाट कोरोना भाइरस सर्छ भनेर तर्सिनुपर्ने अवस्था छ ।’

‘चीनमै बस्दा राम्रो हुन्छ’ भन्ने सन्देशहरुले आफूहरु दुखित भएको उनले बताइन् । भन्छिन्, ‘चीनमै बस्दा राम्रो हुन्छ भन्ने सन्देशहरुले हामी दुखित छौं ।’  वुहानमै विद्यावारिधि गरिहेका अर्का चन्द्रभुषण शाहले अन्य देशका सबै विद्यार्थीहरु घर फर्किसकेको र नेपाली मात्रै वुहानमा रहेको बताए । उनले भने, ‘हामी मानसिक रुपमा असाध्यै तनावमा छौं । हामीलाई सरकारले लगोस् ।’

एक विद्यार्थीको दैनिकी


वुहान विश्वविद्यालयमा पीएचडी गरिरहेका अर्का नेपाली विद्यार्थी अशोक साहले श्रीलंका र बंगालादेशका विद्यार्थी साथीहरुले छोडेको खाद्य सामग्री खाएर बसेको बताए । उनले भने,‘श्रीलंका तथा बंगालादेशका साथीहरुलाई उनीहरुको सरकारले लगिसकेको छ। जानेबेला उनीहरुले बचेको खाद्य सामग्री दिएका थिए। त्यही खाएर बसेको छु। अधिकांश विद्यार्थीको अवस्था यस्तै छ ।’


वुहानस्थित ह्वाङ्जुङ यूनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलजी (हस्ट) मा इन्जिनीयरिङमा स्नातकोत्तर गरिरहेका नेपाली विद्यार्थी सम्पत न्यौपानेले भारत, बाङ्ग्लादेश, श्रीलङ्काजस्ता देशले पनि आफ्ना विद्यार्थी लगिरहेको उल्लेख गर्दे नेपाल नेपालले नलगेको दुःख लागेको बताए । बायोकेमिस्ट्रीमा विद्यावारिधि गर्दै गरेका सरोज खनाल पनि नेपालका छिमेकी मुलुक र नेपालजस्तै गरिब भनिएका देशले पनि आफ्ना नागरिकलाई उद्धार गर्दा नेपालले बेवास्ता गर्दा मानिसक तनाव उत्पन्न भएको बताए ।

वुहानबाट फर्किएका श्रीलंकाका विद्यार्थीहरु



चीनबाट फर्किन १८० जनाको आवेदन
शनिबार बेइजिङस्थित नेपाली राजदूतावासले नेपाल फर्कन चाहनेको आवेदन माग गरेको थियो । नेपाल आइतवार साँझसम्म १८० जनाले आवेदन भरेको छ । आवेदकहरूलाई लिन नेपाल वायुसेवा निगमको विशेष विमान पठाउने सरकारको योजना छ ।

बेइजिङस्थित नेपाली दूतावासका अधिकारीहरूका अनुसार कोरोनाभाइरसको महामारी फैलिएको हुबे प्रान्तको वुहान र नजिकैका सहरमा झन्डै २०० जना नेपाली छन् । ती मध्ये १८० ले फर्किन आवेदन दिएका छन् ।

अझैं अलमलमा सरकार
उनीहरुलाई नेपाल फर्काइएपछि कहाँ राख्ने र लिनको लागि कहिले जहाज पठाउने भन्ने बिषयमा अझै ठोस निर्णय भएका छैन । सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको उहानमा पहिलोपटक कोरोना भाइरस देखिएको थियो। त्यसयता आइतबार बिहानसम्म कोरोना भाइरसका कारण ३ सय ५ जनाको मृत्यु भइसकेको छ। एकजनाको मृत्यु फिलिपिन्समा भएको थियो भने बाँकी सबैको मृत्यु चीनमा भएको हो। चीनभरि थप २,५९० जनामा सङ्क्रमण भएको पुष्टि भएको छ।

यूनिभर्सिटी अफ हङ्कङको आकलनअनुसार सङ्क्रमण भएका मानिसको सङ्ख्या सरकारी तथ्याङ्कभन्दा धेरै हुन सक्छ। विज्ञहरूका अनुसार वुहानमा मात्रै कम्तीमा ७५,००० जना उक्त भाइरसबाट सङ्क्रमित भएका हुन सक्छन् ।

वुहानमा कोरोना भाइरस बिरामी र मृत्यु हुनेको सङ्ख्या बढेपछि विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा गरेको छ। महामारीको रूप लिएको कोरोना भाइरसबाट आफ्ना नागरिक बचाउन अमेरिका, जापान, बेलायत, दक्षिण कोरिया, भारत लगायत बिभिन्न देशले उहानबाट आफ्ना नागरिक उद्धार गरिरहेका छन् ।

कोरोना भाइरस चीन, नेपाल, क्यानाडा, अमेरिका, फिनल्याण्ड, जर्मनी, बेलायत, फ्रान्स, स्पेन, इटाली, रुस, युएइ, भारत, श्रीलंका, भियतनाम, थाइल्याण्ड, कम्बोडिया, मलेसिया, दक्षिण कोरिया, जापान, ताइवान, हङकङ, फिलिपिन्स, मकाउ, सिंगापुर र अष्ट्रेलियामा देखिएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७