ए डिभिजन लिग: आर्मीको जितसँगै शीर्षस्थानमा


१९ माघ २०७६, आईतवार
nepal army team

काठमाडौं,१९ माघ । त्रिभुवन आर्मी क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको अंकतालिकामा पुनः शीर्ष स्थानमा उक्लिएको छ।

आइतबार अर्को विभागीय टोली नेपाल पुलिस क्बललाई ४-२ गोल अन्तरले पराजित गर्दै आर्मिले अंकतालिकामा मच्छिन्द्र क्लबलाई १ अ‌ंकले पछि पारेको हो। आजको जितसँगै आर्मीको १० बाट २३ अंक भएको छ। समान खेल खेलेको मच्छिन्द्रको २२ अंक छ।

आर्मीको जितमा नवयुग श्रेष्ठले २ तथा सुदिल राई र सुमन अर्यालले १-१ गोल गरे । पुलिसका लागि बुद्ध बल तामाङ र मानबहादुर परियारले अग्रता दिलाएका थिए ।

खेलमा पुलिसले सुरुवाती अग्रता लिएको थियो । १९औं मिनेटमा बुद्व बल तामाङले गोल गर्दै पुलिसलाई अग्रता दिलाए । कप्तान नीर कुमार राईको फ्रिकिकमा बुद्व बल तामाङले गरेको हेडर टप कर्नरमा गोल हुँदा गोलरक्षक बिकेश कुथुको बचाउने प्रयास सफल हुन सकेन ।

२४औं मिनेटमा कप्तान भरत खवासको प्रहारलाई पुलिसका गोलरक्षक रोशन खड्काले सहजै बचाए । २७औं मिनेटमा जर्जप्रिन्स कार्कीको कर्नरमा विकास तामाङको हेडर पोस्टबाट थोरै बाहिरयो ।

३५औं मिनेटमा सुमन अर्यालले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए । सन्तोष तामाङको फ्रिकिकमा आएको बललाई सुमनले हेडमार्फत गोल गर्न सफल भएका थिए । ४४ औं मिनेटमा भरत खवासको प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरियो ।

५८औं मिनेटमा मान बहादुर परियारले गोल गर्दै पुलिसलाई २-१ को अग्रता दिलाए । नीर कुमार राईको फ्रिकिकमा मान बहादुरले गोल गरणन सफल भएको थियो । ७७औं मिनेटमा बिवेक बस्नेतको उत्कृष्ट क्रसमा नवयुग श्रेष्ठले गोल गर्दै खेललाई २-२ बराबरीमा ल्याए ।

८५औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई ३-२ को अग्रता दिलाए । उनले पेनाल्टी क्षेत्रभित्र बाट उत्कृष्ट फिनिस गरेका थिए । ८९औं मिनेटमा सब्सिच्युट सुदिल राईले गोल गर्दै आर्मीलाई ४(२ को जित दिलाए ।

यस जितसँगै आर्मी अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । आर्मीको १० खेलमा २३ अंक रहेको छ । दोस्रो स्थानमा रहेको मछिन्द्रभन्दा आर्मी १ अंकले अगाडि छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७