चीनमा कोरोनाबाट ज्यान गुमाउने ३६१ पुगे, १७ हजार बढी संक्रमित

एकै दिन ७५ जनाको गयो ज्यान, १० दिनमै हजार शैंयाको अस्पताल निर्माण


२० माघ २०७६, सोमबार
korona hospital

काठमाडौं, २० माघ । चीनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३६१ पुगेको छ । कोरोना भाइरसबाट संक्रमितको संख्या १७ हजार नाघिसकेको छ ।

हिजो (आइतबार) कोरोना भाइरसबाट चीनमा एकै दिन ७५ जनाको ज्यान गएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले पुष्टि गरेको बीबीसीले जनाएको छ । चीन बाहिर आइतबार फिलिपिन्समा पनि एक जनाको ज्यान गएको छ ।

यस्तै थप तीन हजारमा कोरोना संक्रमण भएको पनि चीनको राष्ट्रिय स्वास्थ्य आयोगले पुष्टि गरेको छ । चीन भन्दा बाहिर २४ देशमा गरी १५० जनामा कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ ।
यातायात ठप्प, बजार सुनसान
कोरोना भाइरसका कारण चीनको वुहान शहरमा यातायात तथा बजार सबै बन्द छन् । वुहानभन्दा बाहिरका शहरहरुमा पनि अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएका छन् । ६० लाख जनसंख्या रहेको वुहानको पूर्वी शहरमा कोरोनाको प्रकोप अझै बढ्न सक्ने भन्दै स्थानीय सरकारले चेतावनी दिएको छ ।

चिनिया सरकारी सञ्चारमाध्यमले वुहान शहरबाट सात लाखभन्दा धेरै मानिस वुहानमा नाकाबन्दी गर्नुअघि नै शहर छाडेर बाहिर गईसकेका बताएका बीबीसीले जनाएको छ ।

वुहानको पूर्वी शहर वेन्जुउमा बसोबास गर्नेहरूलाई खाना र अन्य अत्यावश्यक सामान किन्नका लागि एउटा परिवारको एक जनालाई दिनमा दुई पटक घरबाट बाहिर निस्कन अनुमति दिएको छ । बाँकी समय कोही पनि घर बाहिर निस्कन पाउँदैनन् ।

१० दिनमै हजार शैंयाको अस्पताल
कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि चीनले १० दिनमा एक हजार शैयाको आस्पताल निर्माण गरेको छ । संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि चीनले त्यसको उपचारका लागि नयाँ अस्पताल सञ्चालन गरेको छ ।

नयाँ अस्पतालमा विशेषज्ञ, चिकित्सक र स्वास्थ्यकर्मीसहित एक हजार भन्दा बढी संलग्न हुने जनाइएको छ । यस्तै अन्य शहरहरुमा पनि नयाँ अस्पताल निर्माण हुने क्रममा रहेको र एक साताभित्रै सञ्चालनमा आउने चिनियाँ अधिकारीहरुलाई उध्रृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

चीनको वुहान शहरबाट गत डिसेम्बरमा शुरु भएको कोरोना भाइरसका कारण चीनमा मात्र मर्नेहरुको उच्च बन्दै गएको छ । अन्य देशमा पनि उक्त भाइरसको संक्रमण बढ्दै गएको छ ।

अधिकांश देशहरुले चीन भ्रमण गरेका नागरिकलाई आफ्नो देशमा प्रवेशमा रोक लगाएका छन् ।
यसैबीच हङकङका स्वास्थ्यकर्मीहरुले चीनसँगको सीमा नाका बन्द गर्न माग गरेका छन् । उनीहरुले बढ्दो संक्रमण फैलन नदिन सीमा नाका बन्द नगरिए हड्तालमा उत्रने चेतावनी समेत दिएका छन् ।

तर विश्व स्वास्थ्य संगठन डब्ल्युएचओका अधिकारीहरुले सीमा नाकामा चेकजाँचमा कडाइ गरेर आवागमनलाई सहज बनाउनुपर्ने बताएका छन् । उनीहरुले आवतजावत बन्द गरे सूचना आदानप्रदानमा समेत अफ्ठेरो हुने भन्दै आपतकालीन अवस्थामा सूचना आदानप्रदान सहज गराउन माग गरेका छन् ।

चीन सरकारले भाइरसबाट प्रभावितको संख्या १७ हजार रहेको बताए पनि हङकङले उक्त तथ्याङ्कमा आशंका व्यक्त गरेको छ । हङकङ विश्वविद्यालयका अधिकारीहरुले चीनमा ७५ हजारभन्दा बढी प्रभावित भए पनि सूचना लुकाइएको दाबी गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७