तीन पार्टीको सहमति पत्रमा रहेका ६ सन्देश


१७ आश्विन २०७४, मंगलवार
Nepali Leaders

काठमाडौं : नेपालको राजनीतिमा मंगलबार (१७ असोज २०७४) ऐतिहासिक दिन बनेको छ । तीन पार्टी नेकपा (एमाले), माओवादी केन्द्र र नयाँ शक्तिले चुनावी तालमेल हुदै पार्टी एकीकरण घोषणा गरेको यो दिनबाट नेपाली राजनीतिमा नयाँ अध्यायको प्रारम्भ भएको छ ।Nepali Leaders

नेकपा (एमाले), माओवादी केन्द्र र नयाँ शक्तिका नेताहरुले नेपाली राजनीतिमा सरप्राइज जस्तै दिएका छन् । मंगलबार काठमाडौंको भकुटीमण्डव स्थित सभागृहमा आयोजित पत्रकार सम्मेलनमा नेताहरुले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा तालमेल र निर्वाचनपछि पार्टी एकीकरण गर्ने लगायत ६ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरे । सहमति पत्रमा हस्ताक्षरपछि सम्बोधन गर्दे एउटै कम्युनिष्ट पार्टी बनाउने उद्घोष समेत गरे । नेकपा (एमाले) र माओवादी केन्द्र त कम्युनिष्ट पार्टी नै भइहाले । नयाँ शक्ति पार्टी जन्माउने र अहिले चलाइरहने पनि कम्युनिष्ट पार्टीले बनाएका नेताहरु हुन् । कम्युनिष्ट पार्टीले हरेक शब्दमा फराकिलो सन्देश दिन गर्छन् । तीन शक्तिबिच भएको सम्झौता पत्रमा पनि उनीहरुले त्यही सन्देश दिएका छन् ।

एमाले र माओवादीको कारण राजतन्त्रको अन्त्य र समाजवाद उन्मुख संविधान
सहमति पत्रको सुरुमा नै एमाले र माओवादीको सहकार्यको कारण समाजवाद उन्मुख संविधान निर्माण गर्न सम्भव भएको सन्देश दिइएको छ । एमाले र माओवादी केन्द्रको नीतिगत र व्यवहारिक नेतृत्वमा राजतन्त्रको अन्त्य भएको उल्लेख छ । सुरुमा भनिएको छ, २००६ सालमा स्थापित नेपाल कम्युनिस्ट पार्टी वर्ग संघर्ष, विचाराधारात्मक संघर्ष र व्यवहारिक प्रयोगका अनेक शृंखला पार गर्दै आजको अवस्थामा आइपुगेको छ। नेकपा एमाले र माओवादी केन्द्रको नीतिगत र व्यवहारिक नेतृत्वमा राजतन्त्रको अन्त्य गर्दै लोकतान्त्रिक गणतन्त्र, संघीयता, समानुपातिक समावेशीता, धर्म निरपेक्षता र सामाजिक न्यायसहितको समाजवाद उन्मुख संविधान निर्माण गर्न सम्भव भएको छ ।

समाजवाद स्थापनाका लागि एउटै कम्युनिस्ट पार्टी निर्माण
सहमति पत्रको अर्को महत्वपूर्ण सन्देश हो, समाजवादको निम्ती एउटै कम्युनिस्ट पार्टी निर्माण । शान्तिपूर्ण प्रतिस्पर्धाको माध्यमबाट सामाजिक, आर्थिक तथा सांस्कृतिक रुपान्तरण गर्ने उल्लेख छ । समृद्ध, समुन्नत एवं न्यायपूर्ण समाज निर्माण गर्दै समाजवादका आधारहरू तयार गर्ने साझा निष्कर्षमा आइपुगेको उल्लेख छ । भनिएको छ, ‘फरक–फरक पृष्ठभूमिका साथ अघि बढेका हामी राष्ट्रिय सार्वभौकिता, स्वाधीनता, भौगोलिक अखण्डता, राष्ट्रिय हित एवं स्वाभिमान रक्षा गर्दै संविधानसभाबाट पारित नेपालको संविधान रक्षा र प्रयोग क्रममा देश र जनताको आवश्यकताअनुसार परिमार्जन र विकास गर्दै लोकतान्त्रिक प्रणाली र शान्तिपूर्ण प्रतिस्पर्धाको माध्यमबाट सामाजिक, आर्थिक तथा सांस्कृतिक रुपान्तरण गर्ने र समृद्ध, समुन्नत एवं न्यायपूर्ण समाज निर्माण गर्दै समाजवादका आधारहरू तयार गर्ने साझा निष्कर्षमा आइपुगेका छौं।’

नेकपा एमाले, माओवादी केन्द्र र नयाँशक्ति पार्टी नेपालका बीच एकीकरण गरी एउटै कम्युनिस्ट पार्टी निर्माण गर्ने उद्देश्यका साथ हाललाई आठ सदस्यीय पार्टी एकता संयोजन समिति गठन गर्ने स्पष्ट उल्लेख छ । समितिमा नेकपा एमालेको तर्फबाट चार जना, माओवादी केन्द्रका तर्फबाट तीन जना, नयाँ शक्ति पार्टीका तर्फबाट एक जना नेता रहनेछन् ।

नेपाली चाहना, कम्युनिष्ट पार्टीको नेतृत्वमा मुलुक
नेताहरुले पत्रकार सम्मेलनमा नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाएर मुलुकलाई समृद्ध बनाउने घोषणा गरेका थिए । सहमति पत्रमा पनि नेपाली जनताले एकताबद्ध कम्युनिस्ट पार्टीको नेतृत्वमा मुलुक अघि बढेको देख्न चाहेको उल्लेख छ ।भनिएको छ,’नेपाली जनताले एकताबद्ध कम्युनिस्ट पार्टीको नेतृत्वमा मुलुक अघि बढेको देख्न चाहेका छन्। हाम्रो पृष्ठभूमिका र जनताको चाहना र राष्ट्रको आवश्यकताले पनि हामीलाई एकताबद्ध हुन र एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्न निर्दे्शित गरिरहेका छन्। तसर्थ हाम्रा आफ्नै अनुभव र जनता एवं राष्ट्रको आवश्यकतालाई हृदयंगम गर्दै नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालका बीचमा एकीकरण गरी एउटै कम्युनिस्ट पार्टी निर्माण गर्न सहमत भएका छौं।’

नेपाली क्रान्तिको नयाँ सिद्धान्त बनाइने
वैचारिक छलफल तथा बहसद्वारा नेपाली क्रान्तिको सिद्धान्तलाई विकसित गर्दै लगिने सहमतिमा उल्लेख । एकीकृत पार्टीको नीति तथा कार्यक्रमको घोषणापत्र र विधान तयार गर्न तीनवटै पार्टीका प्रतिनिधि सम्मिलित दस्तावेज मस्यौदा समिति गठन गर्ने उल्लेख छ । प्रदेश सभा तथा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपश्चात् विधिवत पार्टी एकता सम्पन्न गरिने उल्लेख छ ।

एकीकरण नभएसम्म स्वस्थ बहस
पार्टी एकीकरणको वैचारित र संगठनात्मक काम पूरा नभएसम्म आफ्ना आफ्ना विचार व्यक्त गर्न र स्वस्थ बहस गर्न सकिने सहमति पत्रमा उल्लेख छ । तर, पार्टी एकीकरणको आधार सुदृढ बनाउन एकअर्काप्रति सार्वजनिक रूपमा नकारात्मक टिप्पणी र आलोचना नगर्ने उल्लेख गरिएको छ । पार्टी एकीकरणको उद्देश्यअनुरुप अघि बढ्न आफ्नो आफ्नो पार्टी पंक्तिलाई आह्वान गर्ने उल्लेख गरिएको छ । छरिएर रहेका सबै कम्युनिस्ट तथा वामपन्थी पार्टी तथा समूहहरूलाई एकीकरणको यही प्रवाहमा समाहित हुन अपिल गर्ने उल्लेख छ ।

सहमतिमा निर्वाचन क्षेत्र निर्धारण
आगामी मंसिरमा सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभाका प्रत्यक्षतर्फका निर्वाचनहरूमा नयाँ शक्ति पार्टी नेपाल र अन्य पार्टी एवं समूहका लागि आपसी सहमतिमा निर्वाचन क्षेत्र निर्धारण गरिने भएको छ । नेकपा एमालेका ६० प्रतिशत र माओवादी केन्द्रका ४० प्रतिशत उम्मेदवार हुने गरी आपसी तालमेल गर्ने उल्लेख छ । निर्वाचनमा साझा घोषणापत्रका आधारमा सहभागी हुने। यसका लागि तीनै पार्टीका प्रतिनिधिहरू सम्मिलित प्रतिनिधिसभा निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन गर्ने उल्लेख छ । प्रदेश तहमा पनि संयुक्त घोषणापत्र तयार गरिने भएको छ ।

https://www.youtube.com/watch?v=0UHivsqzl2M&feature=youtu.be

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७