ठग ‘महाराज’ लाई पक्राउ गर्न माग गर्दै प्रशासनमा उजुरी


२० माघ २०७६, सोमबार
bijaya

काठमाडौंं, २० माघ । आफूलाई बाल योगेश्वर महाराज बताउने ‘ठग महाराज’ विजय भण्डारीलाई पक्राउ गर्न माग गर्दै आज (सोमबार) महायज्ञ आयोजक समितिले जिल्ला प्रशासन कार्यालय चितवनमा उजुरी गरेको छ ।

पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मनोज पुडासैनीले ‘महाराज’ लाई पक्राउ गरी कारबाही गरी पाउँ भनेर प्रशासनमा आयोजकको तर्फबाट उजुरी दर्ता गराएको जानकारी गराए ।
उनले भण्डारीलाई पक्राउ गरी हदैसम्मको कारबाहीको माग गर्दै उजुरी दिएको बताएका छन् ।

भण्डारीले महाराजको आवरणमा झुटो कुरा बताएर आफूहरुको नैतिक बेइज्जती गरेको आयोजकले आरोप लगाएको छ । ‘महाराज’ कै कारण महायज्ञ बिथोलिएको र उनी भागेपछि आफूहरु समेत तनावमा परेको पुडासैनीले बताएका छन् ।

उनले महायज्ञमा आमन्त्रित केही गुरुहरुले पनि ‘महाराज’ को धन्दाविरुद्ध प्रशासनका अर्को उजुरी दिएको जानकारी गराए । गुल्मी घर भएका विजयले केही वर्ष अघिसम्म विष्णु प्रपन्नाचार्यको नाममा महायज्ञ लगाउँदै अमेरिका लैजाने भनेर सयौं व्यक्तिसँग करोडौं रुपैयाँ उठाएका थिए । ठगी धन्दाकै कारण पटक–पटक जेल सजाय भोगेका उनले पछिल्लो पटक कैदमुक्त भएपछि नाम बदलेर ‘महाराज’ को आवरणमा ठगी धन्दा चलाएका थिए ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले महायज्ञमा कार्यरत केही कर्मचारी, सप्लार्यसहरुले ‘महाराज’ ले दिएको चेकको भुक्तानी नपाएको विषयमा आफूलाई निवेदन आएको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७