अमेरिकाले कोरोना भाइरसबारे त्रास फैलायो : चीन


२० माघ २०७६, सोमबार

बेइजिङ, २० माघ । चीनले वुहानबाट सुरू भएको नोवेल कोरोनाभाइरसबारे संयुक्त राज्य अमेरिकाले संसारभर त्रास फैलाएको आरोप लगाएको छ।

सोमबार एक विज्ञप्ति जारी गर्दै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले भाइरसको संक्रमण रोक्न वासिङ्टनले आफूहरूलाई सहयोग पनि नगरेको बताएका छन्। अमेरिकाबाहेक सबै देशले कोरोनाभाइरसविरूद्ध लड्न चीनले गरिरहेका प्रयासको पनि प्रशंसा गरेको उनको भनाइ छ।

‘अमेरिकी सरकारले हामीलाई उल्लेख्य सहयोग गरेको छैन तर ऊ नै पहिलो देश हो जसले वुहानको महावाणिज्यदूतावासबाट आफ्ना कर्मचारीलाई फर्कायो, दूतावासका केही कर्मचारी फिर्ता बोलायो र चिनियाँमाथि अमेरिका यात्रा गर्न प्रतिबन्ध लगायो,’ हुवाले भनेका छन्,‘यी सबैबाट संसारमा त्रासमात्र फैलायो यो गलत उदाहरण हो।’

उनले सन् २०१८ र २०१९ मा अमेरिकामा रूघाबाट १ करोड ९० लाख मानिस संक्रमित भएको र तीमध्ये १० हजार जनाले ज्यान गुमाएको उल्लेख गर्दै कोरोनाभाइरस त्यस्तो भयावह नभएको दाबी गरे। चीनमा आइतबारसम्म कोरोनाभाइरसबाट ३६१ जनाको मृत्यु भएको छ १७ हजार बढी संक्रमित भएका छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७