कोरोनाबाट चीनमा ज्यान गुमाउने ४२६ पुगे, २० हजार बढी संक्रमित

एकै दिन ६४ जनाको मृत्यु, अमेरिका–चीनबीच ‘तनाव’


२१ माघ २०७६, मंगलवार
korona 1

काठमाडौं, २१ माघ । कोरोना भाइरसका कारण चीनमा ज्यान गुमाउनेको संख्या ४२६ पुगेको छ । कोरोना भाइरसबाट २० हजार बढी मानिस संक्रमित भइसकेको चिनियाँ अधिकारीहरुले बताएका छन् ।

चीनमा सोमबार कोरोना भाइरसका कारण थप ६४ जनाको मृत्यु भएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । त्यस्तै फिलिपिन्समा एक जनाको मृत्यु भएको थियो । सोमबार मात्रै थप दुई हजार ३४५ मा कोरोना भाइरसको संक्रमण फेला परेको छ ।

चीनमा मात्रै २० हजारभन्दा बढीमा यसको संक्रमण देखिएको छ । हुबेईमा मात्रै १० हजार ९९० जना अस्पताल भर्ना भएको चिनियाँ अधिकारीले जनाएका छन् । सोमबार साँझसम्म चीनमा मात्रै २० हजार ४३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले पुष्टि गरेको छ । चीन बाहिर विश्वका विभिन्न मुलुकमा करिब १८० व्यक्तिमा कोरोनाको संक्रमण देखिएको छ ।

अमेरिका–चीन तनाव
कोरोना भाइरसबारे अमेरिकाले त्रास फैलाएको चीनले आरोप लगाएको छ । पटक–पटक सहयोग गर्ने प्रतिबद्धता जनाए पनि अमेरिकाले सहयोगभन्दा बढी त्रास फैलाएको चिनियाँ विदेश मन्त्रालयले आरोप लगाएको छ । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनिङले जतिसक्दो छिटो अमेरिकाले सहयोगको हात अगाडि बढाउने विश्वास व्यक्त गरिन् ।

आपतका बेला सहयोग गर्नुको साटो अमेरिकाले अनावश्यक त्रास फैलाएको चीनले बताएको छ । वासिङ्टनले ‘निरन्तर त्रास उत्पन्न गराउँदै भ्रम फैलाइरहेको छ,’ सोमबार राजधानी बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयकी प्रवक्ता ह्वा चुनिङले बताइन् । उनले विश्व स्वास्थ्य संगठनले व्यापार र यात्रा प्रतिबन्ध नगर्न गरेको आग्रह स्मरण गर्न पनि आह्वान गरेकी छन् ।

‘विश्व स्वास्थ्य संगठनको सुझाव विपरीत प्रकोप रोकथाम गर्न सक्षम अमरिकाजस्तो देशले प्रतिबन्ध लगाउने कार्यको नेतृत्व गरेको छ,’ जवाफयोग्य, शान्त र विज्ञान आधारित विषयवस्तुमा ध्यान दिन आग्रह गर्दै प्रवक्ता ह्वाले बताइन् ।

अमेरिकाले गत शुक्रबार कोरोना भाइरसको संक्रमण रोक्ने भन्दै ‘स्वास्थ्य आपत्काल लगाएको’ थियो । उसले चीन हुँदै अमेरिका प्रवेश गर्ने र सबै चिनियाँ नागरिकलाई कम्तीमा दुई साता प्रतिबन्ध गर्ने घोषणा गरेको थियो । आफ्ना नागरिक र उनीहरूका आफन्तका लागि भने स्वदेश फर्किएपछि १४ दिन विशेष निगरानीमा बस्नुपर्ने वासिङ्टनले जनाएको छ । दुई देशबीच एक वर्षभन्दा बढी समयदेखि चलेको व्यापार युद्ध केही मत्थर भएकै बेला फेरि तनाव बढ्ने देखिएको छ  ।

यसैबीच विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोमले भने अन्तर्राष्ट्रिय यात्रा र व्यापारमै प्रतिबन्ध लगाउनुपर्ने अवस्था नभएको प्रतिक्रिया दिएका छन् । उनले सबै देशलाई प्रमाणका आधारमा कदम चाल्न र अभिव्यक्ति दिन पनि आग्रह गरेका छन् ।


हवाई सेवा शुरु
पाकिस्तानले चीनसँग तीन दिनअघि स्थगन गरेको हवाई सेवा सुचालु गरेको छ । हवाई सेवा सुचालु गरिएकोबारे सोमबार जानकारी दिँदै पाकिस्तानी नागरिक उड्डयनका उपसचिव अब्दुल सट्टार खोकरले भने, ‘हामीले चीनसँगको हवाई यात्रा सुचालु गरेका छौं । १४५ यात्रु बोकेको चाइना साउर्दन एयरलाइन्सको विमान सोमबार बिहान ९ बजे इस्लामाबादस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।’

दुवैतर्फको उडान सुचालु भएको उनले बताए । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस संक्रमणलाई लिएर विश्वव्यापी आपत्काल घोषणा गरेको एक दिनपछि गत शुक्रबार पाकिस्तानले दुवैतर्फबाट हुने उडान स्थगित गरेको थियो । हवाई सेवा सुचालु गर्ने पाकिस्तानको कदम अन्य देशका लागि पाठ हुन सक्ने चिनियाँ अधिकारीले बताएका छन् । कोरोना भाइरस संक्रमणमा वृद्धि भएसँगै कैयौं एयरलाइन्सले चीनमा उडान नगर्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७