कोरोना भाइरसबाट हङ्कङमा पनि एकको मृत्यु

कोरोना भाइरसबाट ४२५ को मृत्यु, २० हजार संक्रमित


२१ माघ २०७६, मंगलवार
virus korona disebar ular dan kelelawar

काठमाडौं, २१ माघ । विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरसबाट हङ्कङ पनि एक व्यक्तिको ज्यान गएको छ । क्वी चुईस्थित प्रिन्सेस मार्गरेट अस्पतालमा ३९ वर्षीय पुरुषको उपचारका क्रममा निधन भएको हो ।

यो कोरोना भाइरसका कारण चीनबाहिर भएको मृत्युको अर्काे घटना हो । यसअघि चीनको वुहानबाट फिलिपिन्स पुगेका एक चिनियाँ नागरिकको त्यहाँ उपचारका क्रममा ज्यान गएको थियो ।

मंगलबार बिहान एक व्यक्तिको ज्यान गएको साउथ चाइना मर्निङ पोस्टले हस्पिटलका अधिकारीलाई उद्धृत गर्दै लेखेको छ । ज्यान गुमाउने व्यक्तिको परिचय भने खुलाइएको छैन । पत्रकार सम्मेलन गरेर यसबारे विस्तृतमा जानकारी दिने त्यहाँका सरकारी अधिकारीको तयारी छ ।

समाचारमा जनाइअनुसार, कोरोनाको संक्रमणले मुटु फेल हुँदा ती व्यक्तिको ज्यान गएको हो । उनी आमासँगै हङकङको वामोपा गार्डेनमा बस्दै आइरहेका थिए । उनीबाटै आमामा पनि संक्रमण सरेको पाइएको छ ।

२१ जनवरीमा हुबेई प्रान्तको वुहानमा रहेका ती व्यक्ति त्यसको दुई दिनपछि गोन्जाउ–सेन्जन–हङकङ एक्सप्रेस रेल लिंकमार्फत हङकङ फर्किएका थिए । समाचारमा जनाइएअनुसार ३१ जनवरीमा उनमा ज्वरो आएको थियो ।

लगत्तै उनलाई कोरोनाको आशंकामा क्विन एलिजावेद हस्पिटलमा भर्ना गरिएको थियो । परीक्षणका क्रममा ती बिरामीमा कोरोना भाइरस भेटिएपछि प्रिन्सेस मार्गरेट हस्पिटलको छुट्टै वार्डमा सारिएको समाचारमा उल्लेख छ । त्यहीँ उनको उपचारका क्रममा ज्यान गएको हो ।

चीनको हुबेइ प्रान्तको वुहानमा देखिएको कोरोना भाइरस अहिले २२ देशमा फैलिएको छ । यसबाट सबैभन्दा बढी चीन प्रभावित भएको छ । साउथ चाइना मर्निङ पोस्टका अनुसार, यो भाइरसका कारण चीनमा अहिलेसम्म ४२५ जनाको ज्यान गइसकेको छ । २० हजार ४३८ संक्रमित भएका छन् ।

त्यस्तै, हङकङमा १५, मकाउमा ८ र ताइवानमा १० कोरोना संक्रमित बिरामी भेटिएका छन् । एसियाका अन्य देशमा ९७, युरोपमा २१, उत्तर अमेरिकामा १५ र अस्ट्रेलियामा १२ बिरामी फेला अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७