नेपाल ओमानसँग १८ रनले पराजित, सन्दीपले २८ रन बनाए, लिन सकेनन् विकेट


२२ माघ २०७६, बुधबार
cricket 5

काठमाडौं, २२ माघ । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय क्रिकेट श्रृंखलाको पहिलो खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको छ ।
१७९ रनमा ‘अलआउट’
बुधबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको खेलमा नेपाल १८ रनले पराजित भएको हो । १९८ रनको चुनौती पछ्याएको नेपाल ४६ ओभर ५ बलमा ‘अलआउट’ हुँदै १७९ रनमा समेटियो ।
सन्दीपले जोडे २८ रन, लिन सकेनन् विकेट

शरद भेषावकरले सर्वाधिक ५५ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले ३६ रन जोडे । शरदसँग आठौं विकेटका लागि ३८ रनको साझेदारी गर्नेक्रममा सन्दीप लामिछानेले २७ बलमा २८ रन बनाए । जसमा तीन चौका र एक छक्कासमेत सामेल थियो ।

४ रन जोड्दा कप्तान ज्ञानेन्द्र मल्ललाई १ तथा पूर्व कप्तान पारस खड्कालाई ३ रनमा गुमाएर धरासायी बनेको नेपाल सुरुआतदेखि नै दबाबमा आएको थियो ।

ओमानको १९७ रन, करणको ४ विकेट
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा १९७ रन बनाएको थियो । मोहम्मद नदिमले अविजित ६९ रन बनाएको इनिङ्समा करण केसीले ४, सुशन भारीले ३ विकेट तथा दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए । सन्दीप लामिछाने, पारस खड्का र अविनाश बोहरा भने विकेटविहीन रहे ।

त्रिकोणात्मक श्रृंखला

त्रिकोणात्मक श्रृखलामा नेपाल र ओमानसँगै अमेरिका पनि सहभागी छ । यही माघ २९ गतेसम्म चल्ने प्रतियोगितामा तीन टिमले आपसमा दुई–दुई खेल खेल्ने छन् ।

नेपालले दोस्रो खेलमा अमेरिकासँग माघ २५ गते शनिबार खेल्ने छ । तेस्रो खेल ओमानसँग माघ २६ गते र अन्तिम खेल अमेरिकासँग माघ २९ गते खेल्ने छ । विश्वकप क्रिकेट लिग–२ लाई सन् २०२३ मा हुने एक दिवसीय विश्वकप क्रिकेटको छनोटको रुपमासमेत हेरिएको छ ।

शीर्ष तीन टोलीलाई विश्वकप छनोटको अवसर
सात टोली सहभागी यो प्रतियोगिताका शीर्ष तीन टोलीले विश्वकप छनोट प्रतियोगिता खेल्ने अवसर पाउने छन् ।

अहिलेसम्म ८ खेलबाट १२ अंक जोडेको अमेरिका तालिकाको शीर्ष स्थानमा रहेको छ । समान खेलबाट ९ अंक जोडेको स्कटल्यान्ड दोस्रो, ७ खेलबाट ८ अंक जोडेको नामिबिया र ६ खेलबाट ८ अंक जोडेको ओमान तेस्रो र चौथो स्थानमा छन् । पाँचौ स्थानको युएईले ७ खेलबाट ७ अंक जोडेको छ । नेपालले पहिलो खेल खेलेको हो । ८ खेल खेलेको पपुवा न्यूगिनीले अंक जोड्न सकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७