कोरोना भाइरस : चीनमा मृतकको संख्या ४ सय ९० पुग्यो


२२ माघ २०७६, बुधबार
korona 1

काठमाडौं,२२ माघ । चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दिनप्रति दिन बढ्दै गएको छ।

बुधवारसम्म कोरोना भाइरसको संक्रमणबाट चीनको हुबेई प्रान्तमा मृत्यु हुनेको संख्या ४ सय ९० पुगेको छ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगलाई उल्लेख गर्दै हालसम्म २४ हजार ३ सय २४ व्यक्ति संक्रमित भएकोे जनाएको अन्तराष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ। पछिल्लो समय कोरोना प्रभावित हुबेई प्रान्तबाट विभिन्न राष्ट्रले आफ्ना नागरिकलाई उद्धार गरिरहेका छन्।

कोरोनाको संक्रमण चीनबाहेक २५ बढी फैलिसकेको छ। जसमध्ये फिलिपिन्स र हङकङमा एक÷एक जनाको मृत्यु समेत भइसकेको छ। विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको बढ्दो संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि अन्तर्राष्ट्रिय रुपमा एकजुट हुने आह्वान गरेको छ।

के हो कोरोना भाइरस ?
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार कोरोना भाइरसको समूह हो। जसले विशेषगरी श्वासप्रश्वास प्रणालीमा असर गर्छ। कोरोना भाइरस श्वासप्रश्वासको माध्यमबाट सर्छ। यसले सामान्य रुघाखोकीदेखि निमोनिया गराउने अनि मानिसको मृत्युसम्म हुन्छ।

अहिले देखिएको कोरोना भाइरस नयाँ प्रकारका हो। जुन पहिले मानिसमा पहिचान भएको थिएन। डब्लुएचओका अनुसार कोरोना भाइरसले मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम ९मार्स० र सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम (सार्स) को समस्या निम्त्याउँछ।

कसरी थाहा पाइन्छ ?

जाडोको मौसम छ । यतिबेला रुघाखोकी लाग्नु सामान्य मानिन्छ । जबकी कोरोना भाइरसले संक्रमण गरिसकेपछिको सुरुवाती लक्षण पनि यस्तै हुन्छ । त्यसैले यसबाट कतिपय झुक्किन सक्छन् । रुघाखोकी जस्तै लागेपनि यो सामान्य रुपमा रहँदैन । त्यसपछि क्रमस उच्च ज्वरो आउँछ, टाउको दुख्छ, सास फेर्न गाह्रो हुन्छ । कतिपय अवस्थामा यसबाट मृत्यु समेत हुन्छ ।

यसको डरलाग्दो पक्ष के भने, यो भाइरस एउटा प्रजातिको जीवबाट अर्कोमा सजिलै सर्छ । यसरी सर्दैसर्दै मान्छेसम्म पुग्छ ।

कसरी सुरक्षित रहने ?

यसबाट सुरक्षित रहनु भनेको अहिलेको अवस्थामा सजग र सतर्क रहनु नै हो । रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने, भिडभाडमा सावधानी अपनाउने, सरसफाईमा विशेष ध्यान दिने नै हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७