कांग्रसले भन्यो, ‘तीन दलको गठबन्धन अस्वभाविक’


१७ आश्विन २०७४, मंगलवार
nepali congress flag

काठमाडौँ, १७ असोज : सत्तारुढ दल नेपाली काँग्रेसले निर्वाचनको संघारमा कम्युनस्टि पार्टीहरूबीच चुनावी गठबन्धनको घोषणालाई अस्वभाविक कदम भएको ठहर गरेको छ । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँशक्तिबीच आज भएको चुनावी गठबन्धन र पार्टी एकीकरणको पहलको कदमबाट काँग्रेसले आगामी निर्वाचनमा बाधा पर्न सक्ने आशंका व्यक्त गरेको छ ।

nepali congress flag

प्रधानमन्त्री निवास बालुवाटारमा काँग्रेसका शीर्ष तथा प्रभावशाली केन्द्रीय सदस्यहरूको आज बसेको बैठकले कम्युनिस्ट पार्टीहरूबीच आज भएको एकताको कदमलाई अस्वभाविकरुपमा लिएको नेता विमलेन्द्र निधिले जानकारी दिए । कम्युनिस्ट पार्टीहरूबीचको एकताले निर्वाचनलाई असर पर्न सक्ने आशंका व्यक्त गर्दै भने, “निर्वाचन यही सरकारले गराउँछ ।”

सत्तामा रहेको माओवादी केन्द्रले लिएको कदमलाई नेता निधिले गम्भीर एतिहासिक राजनीतिक भुल भएको बताए । यस कदमले माओवादीलाई राजनीतिकरुपमा ठूलो क्षति हुने उनको भनाइ छ । आज बिहान बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्नुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री देउवाले सरकारमा सँगै छौँ, चुनावमा तालमेल गर्न पनि तयार छौँ भन्नुभएको नेता निधिले जानकारी दिए ।

यसैबीच आजै दिउँसो ३ बजे पनि अध्यक्ष दाहालले पुनः प्रधानमन्त्री देउवालाई भेटेका थिए । सो भेटमा अध्यक्ष दाहालले एमालेसँग चुनावी तालमेल गर्ने, आफ्नौ चुनाव चिन्हमा चुनाव लड्ने, कम्युनिस्ट पार्टीबीचको एकतालाई पहल गर्ने र निर्वाचनसम्म यही सरकारमा रहने आफ्नो पार्टीको निर्णय सुनाएर बाहिरिएका थिए ।  प्रचण्डको सो निर्णय सुनेपछि प्रधानमन्त्री देउवालगायत शीर्ष नेताहरूले सरकारमा सँगै रहने, तर चुनावमा अरु दलसँग चुनावी तालमेल गर्ने निर्णयलाई अस्वभाविक भएको टिप्पणी गरेका थिए ।

बैठकमा प्रधानमन्त्री देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरू प्रकाशमान सिंह, पूर्णबहादुर खडका, डा रामशरण महत, नेता निधि, डा मिनेन्द्र रिजाल, महेश आचार्य, ज्ञानेन्द्र बहादुर कार्की, डा प्रकाशरण महतलगायत उपस्थित थिए ।

पछिल्लो राजनीतिक परिस्थितिका बारेमा प्रधानमन्त्री देउवाले आजै संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, नेपाल लोकतान्त्रिक फोरमकाका अध्यक्ष विजयकुमार गच्छदारसँग छलफल गरेका छन् भने भोलि बिहान राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर राणा, राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरलगायतसँग परामर्श गर्नेछन् ।  काँग्रेसले परिवर्तित राजनीतिक विषयमा छलफल गर्न भोलि केन्द्रीय कार्यसम्पादन समितिको बैठक समेत बोलाएको छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७