‘ओरियन्स’ को ठगीमा परेका किशोर-किशोरी सिलिगुडीमा बन्धक, यस्तो छ ओरियन्सको ‘धन्दा’


२३ माघ २०७६, बिहीबार
Orience Company Networking

काठमाडौं, २३ माघ । नेपाल र भारतबीच खुला सीमानाको लाभ लिएर मानव तस्करी र अन्य गैरकानूनी कारोवार चलिरहेको खबर नौलो होइन ।

नेपालीलाई विभिन्न प्रलोभनमा पारेर भारत लगी मिर्गौला झिक्ने वा वेश्यालय पुर्‍याउने काम वर्षाैदेखि चलिआएको छ । यस्ता काममा सीमावर्ती भारतीय एजेण्टहरू अहोरात्र खटिएका हुन्छन् र तिनका नेपाली एजेण्टले उत्तम आर्थिक अवसर नपाएका नेपालीका विवशतालाई विभिन्न सपना देखाएर सीमा कटाउने काम गरिरहेका छन् । नेटवर्किङका नाममा यस्तै ठूलो मानव तस्करीको जालो अहिले मेची वारिपारी सक्रिय रहेको फेला परेको छ ।

दोलखाका सुदीपबाबु पोखरेलले गाउँमा रहेका १७ र २१ वर्षका फेसबुकका दुई केटी साथीलाई जागिर लगाई दिने प्रलोभनमा पारेर झापा ल्याए । यही माघ १५ गते काँकडभिट्टा नाका पार गर्न लाग्दा प्रहरीले गरेको सोधपुछमा उनीहरूलाई ओरियन्स नामक नेटवर्किङ कम्पनीमा भारत लगिएको खुलासा भयो ।

मानव बेचविखन अभियोगमा पक्राउ परी हाल अनुसन्धानका लागि काँकडभिट्टा इलाका प्रहरी कार्यालयको हिरासतमा थुनिएका पोखरेल ओरियन्सका एजेन्ट हुन् । प्रहरीले उद्धार गरिएका दुवै चेलीलाई अभिभावक बोलाएर जिम्मा लगाएको छ ।

माघ २१ गते नेपालसँग सीमा जोडिएको भारतको पश्चिम बङ्गालस्थित पानीटङ्की नाकामा शङ्कास्पद अवस्थामा डुलिरहेका तीन किशोरी र एक युवकलाई ‘साना हात, भारत’ नामक संस्थाका निगरानीकर्ताले सोधपुछ गरे । पानीटङ्कीस्थित एक घरमा सञ्चालित होस्टलमा बस्दै आएका तीन किशोरी पनि ओरियन्स नेटवर्किङ कम्पनीको तालीम लिनका लागि काठमाडौंंबाट फकाएर ल्याइएका रहेछन् ।

मानव बेचबिखनविरुद्ध सीमा क्षेत्रमा निगरानी गर्दै आएको साना हातलेसोही दिन चारै जनालाई काँकडभिट्टा इलाका प्रहरी कार्यालयमा जिम्मा लगाई दियो । नेपाल प्रहरीको महिला सेलले सोधपुछ गर्दा उदयपुर, त्रियुगा नगरपालिका वडा नं १५ घर भई काठमाडौंंको मान्द्रो रेष्टुँरामा काम गरिरहेका तीनै किशोरीलाई ओरियन्सको एजेन्टका रुपमा काम गर्ने मोरङ, विराट्चोक निवासी मोहम्मद आलम मियाले फेसबुकका सम्पर्कबाट पालैपालो फकाएर भारत पुर्‍याएको तथ्य फेला पर्‍यो ।

नवलपरासी, मध्यविन्दु–१५ घर भएका २४ वर्षीय पुनमबहादुर कुमालले झापाको अस्पतालमा जागिर खुलेको छ भनेर गाउँमा रहेकी २१ वर्षीया आफ्नै भाञ्जीलाई फकाएर काँकडभिट्टा बोलाए । माघ २१ गते बिहान साना हातका निगरानीकर्ताले ओरियन्स कम्पनीको तालीममा भारत लैजान लागेको तथ्य पत्ता लगाएपछि कुमाललाई प्रहरीको जिम्मा लगाई दिएका छन् भने युवतीलाई उद्धार गरेर पुनस्र्थापना गृहमा राखेका छन् । उद्धार गरिएकी युवतीलाई जिम्मा लिन प्रहरीले उनकी आमालाई बोलाएको छ ।

झापा काँकडभिट्टा नाकाबाट प्रहरी र गैरसरकारी निगरानीकर्ताको आँखा छलेर ६ महिनायता भारतको ओरियन्स नेटवर्किङ कम्पनीका एजेन्टले जागिर लगाई दिने बहानामा नेपालका ग्रामीण किशोर किशोरीलाई भारत लैजाने र काँकडभिट्टाबाट ५२ किलोमिटरपूर्व भारतको सिलिगुडी शहरका अवैध होस्टेलमा बन्धक बनाएर राख्ने क्रम ह्वात्तै बढेको पाइएको छ ।

काँकडभिट्टा नाकाबाट दिनहुँ नेपाली युवतीलाई उद्धार गरेर अभिभावकको जिम्मा लगाइने गरेको प्रहरीको भनाइ छ । दुई वर्षदेखि ओरियन्सले मान्छे लैजाने गरेता पनि अहिले गतिविधि अत्यधिक बढेको हो ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेल ओरियन्स नेटवर्किङ कम्पनीमा काम दिलाउने प्रलोभनमा नेपाली सोझा युवतीलाई भारत लगेर अवैध होस्टेलमा बन्धक बनाई राख्ने बढ्दो क्रमले उनीहरु मानव बेचबिखनको जोखिममा पर्न सक्ने चिन्ता व्यक्त गर्छन् । उनले १५ दिनमा ओरियन्सका लागि भारत जान लागेका ४५ युवतीलाई नाकाबाट उद्धार गरी अभिभावकको जिम्मा लगाइएको जानकारी दिए ।

माघ लागेयता नेपाली युवतीलाई जागिरको प्रलोभनमा पारी भारतको सिलिगुडी लैजाने कार्यमा संलग्न दोलखाका २१ वर्षीय पोखरेललाई पक्राउ गरी काँकडभिट्टा इप्रकाले मानव बेचबिखन अभियोगमा मुद्दा चलाएको छ भने उदयपुरकी मीना बस्नेत र महोत्तरीका कमलेश सासुरीसहित चार जनालाई पक्राउ गरी अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाएको छ । बस्नेत माघ १५ गते पक्राउ परेकी हुन् भने सासुरीलाई माघ १८ गते पक्राउ गरिएको थियो ।

ओरियन्सको ठगी धन्धा
नेपाली युवक युवतीलाई फँसाइरहेको ओरियन्स भारतमा दर्ता रहेको नेटवर्किङ धन्धा हो । नेपालमा नेटवर्किङ धन्धा प्रतिबन्धित भएकाले यसका कारोवारीले नेपालभित्र लुकीछिपी गतिविधि गरेका हुन्छन् । पश्चिम बङ्गाल, सिलिगुडीस्थित सिटी सेन्टरमा ओरियन्स ग्लोबल मार्के्टिङ प्रालिको ब्यानरमा कार्यालय छ ।

कार्यालयमा सुमन नाम बताउने प्रमुख कार्यकारी अधिकृत र पिन्टुलाल नाम बताउने मार्केटिङ प्रमुख रहन्छन् तर यिनीहरुसँग नेपालबाट गएका युवकयुवतीको हत्तपत्त भेट हुँदैन । तल्लो तहका व्यक्ति विभिन्न पदवी देखाउँदै नेपालीसँग कुराकानी र कारोवार गर्छन् । यस कम्पनीले प्रवेश गर्न शुरुमै रु एक हजार तिराउँछ ।

यसपछि तीन दिने तालीम भनेर रु सात हजार असुल्छ । तालीममा कलिला युवकयुवतीको ‘ब्रेनवास’ गरेर सदस्य सञ्जाल विस्तार गर्न सिकाइन्छ भने महिनाको अर्बपति बन्न सकिने फोस्रो सपनामा उनीहरुलाई भ्रमित पारिन्छ । तालीममा कसरी पैसा कमाउने होइन, कमाएको पैसा के गर्ने भनेर युवक युवतीलाई कम्पनीको सदस्य बन्ने गरी सम्मोहित गरिन्छ ।

मासिक रु ३५ हजारदेखि डेढ लाखसम्म आम्दानी हुन्छ भन्दै सदस्यलाई ओरियन्स कम्पनीकै फुड सप्लिमेन्ट बेच्न वा नयाँ तीन सदस्य खोज्न लगाइन्छ । रक्त क्यान्सर समेत निको पार्ने भन्दै बेचिने उक्त औषधि दिने कुनै डाक्टर हुँदैनन्, कक्षा ११–१२ पढेको तिनै सदस्यले नै औषधि दिन्छन् । तल्लो तहको सदस्यलाई फस्र्ट, सेकेण्ड, थर्ड हुँदै क्रमागत रुपमा डायमण्ड उपाधि दिइन्छ । फस्र्ट डायमण्डलाई रु १० देखि १५ हजार, सेकेन्ड डाइमण्ड हुनेलाई रु ३० देखि ३५ हजार र थर्ड डाइमण्ड बन्न चाहनेलाई रु एक लाख लगानी गर्न बाध्य पारिन्छ ।

साना हातको काँकडभिट्टा कार्यालयका स्टेशन म्यानेजर राजेश गुरुङका अनुसार तालीम लिएका युवाले जागीरको धरौटीका लागि भन्दै अभिभावकलाई करकापमा पारेर पैसा झिकाउने र ओरियन्स कम्पनीका कारोवारीलाई लुटाउने गरेका छन् ।

पैसा नपठाए आफ्नै मिर्गौला बेचेर पनि ओरियन्सको जागीर खाने वा त्यसको विकल्पमा आत्महत्या गर्ने भन्दै युवाले पैसाका लागि अभिभावक धम्क्याउने गरेको जानकारी प्राप्त भएको गुरुङले बताए । पैसा लिएपछि कम्पनीले कुनै बिल भपाई दिंदैन ।

भारतको पानीटङ्कीस्थित साना हातका स्टेशन मेनेजर विवश रसाइलीले ओरियन्स कम्पनीमा काम गर्न भन्दै नेपालबाट कलिलो उमेरका युवालाई भारतको सिलिगुडीमा लैजाने क्रम धेरै बढेको पाइएको जानकारी दिँदै भारतका बासिन्दा भने यस नेटवर्किङ धन्धामा नफसेको बताउँछन् ।

उनका अनुसार नेपालका रोल्पा, रुकुम, जाजरकोट, काभ्रेपलाञ्चोक, दोलखा, उदयपुर, दैलेखलगायत जिल्लाबाट आउनेको संख्या अधिक छ । आफूहरुले सोधपुछका क्रममा धेरैजसोलाई सम्झाइबुझाई नेपालतिर फर्काइ दिने गरेको रसाइलीले बताए ।

ओरियन्सका मुख्य कारोवारीले नेपाली युवकयुवतीलाई सदस्य बनाएर पैसा असुलिसकेपछि बोनस र डायमन्ड पदवी बढाउने बहानामा आफ्नै नातागोता, फेसबुकका साथी र बेरोजगारलाई सदस्य बनाउन दवाव दिने गरेका छन् । साथीसंंगी नफसाएसम्म आफ्नो लगानी नउक्सिने भएकाले नयाँ सदस्यहरु एजेन्टमा रुपान्तरित हुँदै आएका छन् । एजेन्टले फेसबुकका बेस्ट फ्रेन्ड र नजीकका नातेदारलाई विश्वासमा पारेर सञ्जालको सदस्य बनाउँदै आएका छन् ।

सदस्य बनाउन ल्याउने गरिएका अधिकांश युवा कर्णाली प्रदेशलगायत दुर्गम क्षेत्रका छन् । उनीहरु उमेरले कलिला र झापा भन्ने ठाउँ नै नचिनेको पाइएको छ । लैङ्गिक विभेदमा परेका, पढाइमा मन नलगाइरहेका, बाबुआमाबाट टाढा रहेका र फेसबुकमा नचिनेका साथीसँग खुलेर कुराकानी गर्दै आएका किशोरीलाई लक्ष्य गरी सदस्य बनाउने गरिएको छ । हरेक दिन ओरियन्सको तालीम, कुराकानी, अर्बपति बन्ने सपना आदिले गर्दा उनीहरुमा भावी जीवन सुखी र समृद्ध बनाउन ओरियन्स एक मात्र सहारा हो भन्ने भ्रम पर्ने गरेको छ ।

एजेन्टलाई पक्रेर थुन्न निर्देशन
झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले ओरियन्स नेटवर्किङ धन्धामा लागेकाहरुलाई पक्रेर कानूनी कार्वाही चलाउन प्रहरीलाई निर्देशन दिइएको बताए । ‘नेपालभित्रको कम्पनी भए विघटन गरिदिन सकिन्थ्यो’, प्रजिअ रानाले भने, ‘तर विदेशी मुलुकको कम्पनी भएको हुँदा त्यसका एजेन्टलाई पक्रँदै मानव बेचबिखन अपराधमा कानूनी कार्वाही चलाउनु बाहेकको विकल्प अब रहेन ।’

भारतको सीमावर्ती नाका पानीटङ्कीमा रहेको भारतीय सीमा सुरक्षा बलका उपकमाण्डर रवि तेजाले मानव बेचबिखनको जोखिम तथा आर्थिक ठगीको जोखिममा पारेर कलिला युवक युवतीलाई फकाइफुल्याई भारत ल्याएर राखिएको सेल्टरका बारेमा नेपाली सरकारी पक्षबाट आधिकारिक रुपमा जानकारी आए छापा मारेर दोषीलाई कानूनी कार्वाही गर्न सकिने बताए । उनले अहिलेसम्म नेपाल सरकारबाट कुनै गुनासो नआएको जिकिर गरे ।

सिलिगुडीस्थित सिटी सेन्टरको तीन तलामा रहेको ओरियन्स ग्लोबल मार्केटिङ प्रालिको कार्यालयमा पत्रकारलाई पस्न निषेध गरिएको छ । कम्पनीको परिचयपत्र बोकेका एजेन्ट र तालीमका लागि छनोट भएर कोड नम्बर पाएका नयाँ सदस्यलाई मात्र त्यहाँ प्रवेश दिइने गरिएको छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाको नियन्त्रणमा रहेका २० वर्षीय एजेन्ट मोहम्मद आलम मियाँले सिलिगुडीको सिटी सेन्टरमा हप्तैपिच्छे नयाँ सदस्यलाई मोटिभेशनल तालीम सञ्चालन हुने गरेको बताए । मियाँले सदस्य बढाउँदै लगेर एक लाख सदस्य हुनेहरू २२ जना पुर्‍याएपछि एउटा कार पुरस्कार दिने, युरोप भ्रमणमा लैजाने र कम्पनीको अफिसर बनाएर जीवनभर जागीर दिने भनेर आफूलाई असफाक आलम नामका प्रशिक्षकले काममा लगाएको जानकारी दिए ।

हाल इलाका प्रहरी कार्यालय काँकडभिट्टाको नियन्त्रणमा रहेका मियाँले तालीममा ओरियन्सको औषधि खाएर आफ्नो नातेदारको अर्बुदरोग निको भएको, नेटवर्किङमा लागेर करोड कमाएको, विदेश भ्रमण गरेको, महँगो ल्यापटप, मोबाइल र कार भएको, गरीब बुबाआमालाई घरमा महिनैपिच्छे लाखौं रकम कमाएर पठाउन थालेको, आमा बुवालाई लिएर विश्व भ्रमणको योजना बनाइरहेको, नेपाल सरकारले केही दिनभित्रै ओरियन्सलाई खुला गर्न लागेको जस्ता उडन्ते कुरा गरेर सदस्य फसाउन सिकाउने गरेको बताए ।

केही वर्षअघि नेपालमा गोल्डक्वेस्ट, युनिटी, मोदीकेयर जस्ता नेटवर्किङ धन्धामा लागेर सर्वसाधारण ठगिएपछि सरकारले ती कम्पनी बन्द गरेर सञ्चालकलाई कार्वाही गर्नुपरेको थियो । अहिले ओरियन्स कम्पनीले विदेशी भूमिमा बन्धक बनाएर नेपाली युवाबाट अर्बाै लुटिरहेको छ ।

औषधि जफत
मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख ध्रुवराज विश्वकर्माले नेपालमा प्रतिबिन्धत सामान भएको हुँदा नाकाबाट ल्याइने ओरियन्सका औषधि जस्तो देखिने फुड सप्लिमेन्टका सामान जफत गर्न थालिएको जानकारी दिए ।

‘औषधि व्यवस्था विभागको स्वीकृतिबेगर कुनै पनि औषधिजन्य वस्तु आयात वा ओसारपसार गर्न पाइँदैन’, भन्सार प्रमुख विश्वकर्माले ओरियन्सका सामान ल्याउन नपाइने बताउँदै भने, ‘मेरी आमा बिरामी हुनुहुन्छ, म आफै बिरामी भएर यही दबाई खाँदैछु भन्ने बहाना गरेर कतिपयले ओरियन्सका सामान नाकाबाट छिराउन खोज्दा रहेछन्, त्यसलाई हामीले रोकेका छौं ।’

मेची भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०७६–०७७ को ६ महिनामा रु २७ लाख ६ हजार मूल्य बराबरका ओरियन्सका सामान जफत गरेको छ । भन्सार प्रमुख विश्वकर्माका अनुसार ओरियन्स ठगी धन्धा भएको हुँदा यसलाई रोक्न नाकामा निगरानी बढाइएको छ ।

नाकामा ओरियन्सका प्रतिबिन्धत औषधि भित्रिन नदिन सुरक्षा निकाय सक्रिय बनेका छन् । गत ६ महिनामा जफत ओरियन्सका औषधिमध्ये आधाजति सामान सशस्त्र प्रहरी बलको भन्सार राजश्व गुल्म एक्लैले बरामद गरेको हो ।

गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक ज्ञानमणि पौडेलले सो अवधिमा रु १२ लाख ८८ हजार ५६ मूल्य बराबरको ओरियन्सका प्रतिबन्धित औषधि बरामद गरेर भन्सार बुझाइएको जानकारी दिए । सो अवधिमा नेपाल प्रहरीले रु ६ लाख ९१ हजार, भन्सार कार्यालय आफैँले रु ६ लाख ६० हजार र सशस्त्र प्रहरीले रु ६६ हजार मूल्य बराबरको ओरियन्सका सामान बरामद गरेर भन्सार दाखिला गरेका थिए ।

नाका वारिपारी दर्जनाैं होस्टल
अभिभावकलाई झुक्याएर आएका नेपाली युवक युवतीलाई काँकडभिट्टा नाका कटाएर भारतको पुर्‍याउनुअघि ओरियन्सका एजेन्टले झापाको बिर्तामोड, चारआली, धुलाबारी र काँकडभिट्टा वरपरका केही घर भाडामा लिएर राख्ने गरेका छन् । ती घरलाई उनीहरु होस्टेल भन्छन् । होस्टेलमा उनीहरुलाई एजेन्टले बाहिरी सम्पर्कबाट अलग गर्दै बन्धक बनाउने गरेका छन् ।

मेचीनगर नगरपालिका र बुद्धशान्ति गाउँपालिकाको सीमामा पर्ने धाइजनमा एक भूतपूर्व भारतीय सैनिकको दुई तले पक्की घरमा ओरियन्सका एजेन्टले पश्चिम नेपालबाट आउने युवक युवतीका लागि गत वर्ष अबैध होस्टेल सञ्चालन गरेका थिए । पन्ध्रदेखि २२ वर्षसम्मका युवतीलाई सो घरमा युवकसँगै राखिएको थियो । एउटा कोठामा १२ जनासम्मलाई कोचेर राख्ने गरिएको थियो । नेत्रविक्रम चन्दका कार्यकर्ताले सेल्टर बनाएको हल्ला भएपछि प्रहरीले सोधपुछ गरेको हुँदा एजेन्टले होस्टेल अन्यत्रै सारेका थिए ।

धुलाबारी र काँकडभिट्टाका होस्टेलमा राखिएका उनीहरूलाई भारतबाट खबर आएपछि मात्र तालीमका लागि भन्दै नाका कटाएर होस्टेल सार्दै सिलिगुडी पुर्‍याउने गरिएको पाइन्छ । स्थानीय भूगोलको ज्ञान नभएका उनीहरूलाई नेपाली भाषा चल्ने सीमावर्ती पानीटङ्कीमा सञ्चालन गरिएका होस्टेलमा पैसा नतिरेसम्मका लागि राखिन्छ । पैसा नतिरे सिलिगुडीमा हुने तालिममा जान नपाउने र बेखर्ची भएका कारण घर फिर्न पनि नसक्ने हालतमा पुगेका उनीहरूले पैसा नपाए मरिदिने भन्दै अभिभावकलाई धम्क्याउने समेत गरेका छन् ।

भिन्न भिन्न ठाउँबाट आएका सदस्यबीच परिचय घनिष्ठ बनोस् भनेर होस्टेल बदलेर राख्ने गरिएको एजेण्टकै काम गर्दै आएकी उदयपुर गाईघाट घर बताउने २२ वर्षीया अनिता मगर बताउँछिन् । पानीटङ्कीका तीन होस्टेलमा आफू पुगेको तर अरु आठदश होस्टेल पनि रहेको सुनेको उनी बताउँछिन् ।

उनका अनुसार नेपालीलाई राख्न सिलिगुडीको मतिगडा वरपर ६० देखि ८० अबैध होस्टेल सञ्चालनमा रहेका छन् । शुरुमै होस्टेलमा खान र बस्नका लागि लाग्ने खर्च सदस्यसँग प्रतिव्यक्ति रु दुई हजार लिने गरिन्छ । होस्टेलमा बस्दा मेसमा खाना खानुपर्ने, कम्पनीले दिएका किताब पढ्नुपर्ने, बाहिरिया मानिससँग सम्पर्क गर्न नहुने र नियमित रुपमा प्रशिक्षणमा भाग लिनुपर्ने नियम लगाइएको हुन्छ । मोबाइल र फेसबुक चलाउन भने उनीहरुलाई छुट दिइएको हुन्छ । होस्टेलको एउटा कोठामा २० जनासम्म खाँदाखाँद गरेर राख्ने गरिएको छ ।

सिटी सेन्टरमा सञ्चालन हुने मोटिभेसनल कार्यक्रममा एकै खेपमा एक हजारभन्दा बढी सदस्य सहभागी हुने गरेको र सिलिगुडी वरपर ओरियन्सका होस्टेलमा हजारौंँको संख्यामा पश्चिम नेपालबाट आएका युवा बस्ने गरेको उनी बताउँछिन् ।

सीमा क्षेत्रमा नेटवर्किङ धन्धाको बिगबिगी
भारतमा प्रतिबन्ध नभएका कारण विभिन्न नामका नेटवर्किङ बिजनेसको धन्धा सीमावर्ती नेपालका शहर तथा गाउँमा पनि फैलिन थालेको छ । पिरामिड शैलीमा सदस्य सञ्जाल विस्तार गर्दै जाँदा बोनस धेरै पाइने लोभमा नेपाली एजेन्ट नै चोकचोकमा सदस्य फँसाउँदै हिंडेको भेटिने गरेको छ ।

भारतमा दर्ता र कार्यालय रहेका ओरियन्स जस्तै इम्पोरियम, आर्च र मिराकल नामक नेटवर्किङ बिजनेस नेपाली सीमावर्ती बजारमा फस्टाएका छन् । कपडा, मञ्जन, खानेतेल, साबुन जस्ता सामान दिएर सदस्य बनाउने गरेको हुँदा उपभोक्ताले आफू ठगिएको चाल पाउँदैनन् ।

ओरियन्सका एजेन्टले नै भारतको सिलगुडी शहरमा बसेर पश्चिम नेपालसम्म ओरियन्सका ठगको सञ्जाल फैलाउने काममा आफूलाई डाइमण्ड डाइरेक्टर भनेर चिनाउने सन्दीप बस्नेत, जगदीश चौहान, असफाक आलम र ईश्वरीप्रसाद नेपाली संलग्न रहेको बताउने गरेका छन् । यी मुख्य व्यक्ति दिल्ली, कोलकाता, मुम्बई र चेन्नइमा बस्दै आएका र तालीमका बेला पैसा उठाउन मात्र सिलगुडी आउने गरेका छन् ।

ओरियन्सको नेटवर्किङ धन्धामा कति नेपाली फसेका छन् भन्ने आधिकारिक तथ्याङ्क नेपाली पक्षसँग छैन । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेल भारत जाने ताँती विचार गर्दा ठगिएका नेपालीको संख्या हजारौंं हुन सक्ने अनुमान गर्छन् ।

कलिला किशोरीहरू छानीछानी सदस्य बनाउने, अथाह पैसा कमाउने प्रलोभन दिने, अभिभावकलाई थाहै नदिई सीमा पार गराउने, सञ्जालको सदस्य बनाएर रकम असुल्ने, एउटै कोठामा २० जनासम्म राख्नेलगायत ओरियन्स कम्पनीको गतिविधिका कारण हजारौंँ नेपाली किशोर किशोरी भारतको सिलिगुडीमा मानव बेचबिखन र आर्थिक ठगीको जोखिममा परेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७