बालुवाटार प्रकरणबारे सञ्चारमन्त्री : गच्छदार दोषी ठहर हुनु भए हाम्रो के लाग्छ र !

‘अदालतबाट निर्दोष प्रमाणित गरेर आउनुस्’


२३ माघ २०७६, बिहीबार
Gokul baskota 1

काठमाडौं, २३ माघ । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले ललिता निवास प्रकरणमा राजनीतिक पूर्वाग्रह राखेको विजयकुमार गच्छदारमाथि मुद्दा चलाएको कांग्रेसको आरोप अस्वीकार गरेका छन् ।

अख्तियारले बुधबार मात्र गच्छदारसहित १७५ जनामाथि मुद्दा दायर गरेको थियो । राजनीतिक पूर्वाग्रहका आधारमा गच्छदारलाई मुद्दा चलाइएको भन्दै कांग्रेसले बिहीबार प्रतिनिधिसभा बैठक नै अवरुद्ध गरेको छ ।

तर, सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री बास्कोटाले भने यो मुद्दामा कुनै पूर्वाग्रह नराखिएको बताएका छन् । मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटोले भने, आरोप र पूर्वाग्रह स्वीकार गर्नु पर्दैन । तथ्य त स्वीकार गर्नुपर्‍यो नि । तथ्य नै गलत छन् भने उहाँले अदालतमा राख्नुपर्‍यो र आफू निर्दोष प्रमाणित भएर आउनुपर्‍यो । फेरि सरकारले समातेर लगेर तँ दोषी नै होस् भनेर सरकारले करार गर्दैन ।’ ‘दोषी ठहर हुनु भयो हाम्रो के लाग्छ र ?’ उनले भने ।

उनले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरण लाल र श्वेत फित्ताको कुरा नभई कानुनी कुरा भएको बताएका छन् । उनले भने, ‘यहाँ लाल फित्ताधारी र श्वेत फित्ताधारीको व्यवहार भएको छैन । यो कानुन कुरा हो ।’

उनले यो बालुवाटारको मात्रै नभई अन्त पनि त्यस्तो हुँदै आएको भन्दै उदाहरण समेत पेस गरे । उनले त्रिशूलीको ११० विधा, सिरहा २८ र सर्लाहीका जग्गा पनि सरकारले फिर्ता ल्याएको जानकारी दिए ।

‘जस–जसका नाममा अनाधिकृत फर्जी र कीर्ते गरेर विभिन्न खालका काजजात तयार गरेर राज्यका सम्पत्ति हिनामिना भएको भए जे प्रमाणित हुन्छ सोही बमोजिम कारबाही गर्छौैँ भनेका छौं ’, उनले भने, ‘त्यसैले यहाँ विजयकुमार गच्छदारमाथिको कारबाही पूर्वाग्राही भन्ने कुरै भएन ।’

उनले नेकपा महसचिव विष्णु पौडेल नभई उनको छोराको नाममा जग्गामा जोडिएर आएको बताए । उनले पौडेलका छोराले जग्गा किनेको उल्लेख गर्दै उनी जस्ता ६५ जनाले जग्गा फिर्ता गर्नुपरेको जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७