बालुवाटार जग्गा प्रकरणमा आफ्नालाई बचाउने र अर्कालाई फसाउने नियत देखियो : कांग्रेस


२३ माघ २०७६, बिहीबार
bishwa 1

काठमाडौं, २३ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बालुवाटार जग्गा प्रकरणमा आफ्नालाई बचाउने र अर्कालाई फसाउने सरकारको नियत देखिएको बताएको छ ।

कांग्रेसले बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा दायर गरेको मुद्दामा दुई प्रश्न उठाएको छ । अख्तियारले कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनाविरूद्ध ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सारेको भन्दै भ्रष्टाचार मुद्दा हालेको छ ।

उक्त मुद्दामा असन्तुष्टि जनाइरहेको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार दिउँसो पत्रकार सम्मेलन गर्दै अख्तियारको मुद्दामा सरकारको प्रभाव परेको देखिएको दावी गरेका छन् । ‘सरकारको दुष्प्रभावमा परेर यो मुद्दामा आफ्नालाई बचाउने र अर्कालाई फसाउने नियत देखिन्छ,’ शर्माले थपे, ‘प्रश्न विजय गच्छदारमाथि मुद्दा लगाइयो भन्ने होइन तर आफ्नालाई छानीछानी किन जोगाइयो भन्ने हो ।’

उनले गच्छदार जुन मन्त्रिमण्डलका सदस्य ती मन्त्रिमण्डल हाँक्ने प्रधानमन्त्रीमाथि किन मुद्दा लगाइएन ? भनेर प्रश्न गरेका छन् । प्रवक्ता शर्माले नेकपाका महासचिव विष्णु पौडेलका छोरालाई मुद्दा नलगाएकोबारे पनि सरकारलाई प्रश्न सोधेका छन् ।

‘यो कुरा अरू मुलुकले नपढून् किनकी जग्गा फिर्ता गरेपछि मुद्दा नलाग्ने भन्ने नेपालले नयाँ नजिर प्रतिस्थापन गरेको छ,’ शर्माले थपे, ‘सबैलाई थाहा थियो कि पौडेलका छोरा नवीनका नाममा बालुवाटारको जग्गा थियो । फिर्ता दिन्छु भनेपछि मुद्दा नलाग्ने कानुन पनि कहीं हुन्छ ।

त्यसो भने त कसैल डकैती गर्‍यो र दुई वर्षपछि ब्याजसहित पैसा फिर्ता दिन्छु भन्यो भने जेल पठाउनु परेन ।’ उनले अख्तियारलाई शक्तिशाली बनाउने कानुन आफ्नो पार्टीको सरकारका पालामा भएको भन्दै अहिलेको सरकारले त्यसलाई आफ्नो छायाँ बनाएको तर्क गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७