अख्तियार प्रमुखलाई फूल दिन गएका साझा पार्टीका १३ नेता-कार्यकर्ता पक्राउ


२४ माघ २०७६, शुक्रबार
akh

काठमाडौं, २४ माघ । बालुवाटार जग्गा प्रकरणमा सत्तारुढ दलका नेतालाई जोगाउन ‘एक देश, दुई कानुन’ लागू गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय अगाडि विरोध प्रदर्शन गर्न पुगेका साझा पार्टीका नेता–कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

पार्टीका संयोजक रबिन्द्र मिश्रका अनुसार प्रहरीले समीक्षा बाँस्कोटा, नारायण कोइराला, प्रकाशचन्द्र परियार, शरदराज पाठक, अब्दुस मियाँलगायतका नेताहरुलाई पक्राउ गरेको जानकारी दिएका छन् । आफ्ना पाँच केन्द्रीय सदस्यसहित १३ नेतालाई प्रहरीले पक्राउ गरेको साझा पार्टीले जनाएको छ ।

‘हामीले बालुवाटार जग्गा प्रकरणका विषयमा अख्तियार गरेको अनुसन्धानका लागि प्रमुख आयुक्तलाई नै भेटेर धन्यावाद दिन र केहीले उन्मुक्ति पाएको विषयमा ध्यानाकर्षण गराउनका लागि गएका थियौं’, पक्राउ परेका केन्द्रीय सदस्य शरदराज पाठकले भने, ‘उहाँहरुले भेटन चाहनु भएन । त्यसपछि हामीले झण्डै १० मिनेट जति प्रदर्शनगरेपछि प्रहरीले पक्राउ गर्‍यो ।’

उनले प्रमुख आयुक्तले भेट नदिएपछि निषेधित क्षेत्रभन्दा बाहिरबाट आफूहरुले प्रदर्शन गरेको र प्रदर्शनकै क्रममा प्रहरीले पक्राउ गरेको बताए । पक्राउ परेका सबैलाई महेन्द्र पुलिस क्लबमा राखिएको पाठकले बताए ।

बालुवाटार जग्गा प्रकरणमा शुरु गरेको राम्रो कामको स्वागत गर्दै अख्तियार प्रमुखलाई ‘गुलाफको फूल’ दिन र सत्तारुढ दलका नेतालाई जोगाउने गरी लागू गरिएको ‘एक देश, दुई कानुनको विरोध गर्न साझा पार्टीका नेताहरु नक्सालस्थित कार्यालय अगाडि पुगेका थिए ।

अख्तियारले बुधबार मात्रै ललिता निवास प्रकरणमा तीन पूर्वमन्त्रीसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७