किन नियन्त्रण हुँदैन काठ तस्करी ?


२४ पुष २०७४, सोमबार
katha taskari

झापा : इलामस्थित चुरे क्षेत्रमा रहेको वनको काठ तस्करी रोक्न वन कार्यालयबाट ठूलै टोली खटिएको छ । तर, तस्करी रोकिएको छैन । पटक–पटक काठ बरामद भएको इलामको माई नगरपालिकास्थित सुखानीमा रहेको दक्षिणी सेक्टर वन कार्यालयका प्रमुख रितेशभूषण बस्नेतले बताए । ‘काठ बरामद भइरहन्छ, बढीचाहिँ चुलचुलीबाट बरामद हुन्छ,’ उनले भने, ‘ठूलो टोली चुलाचुलीतिरै खटाइएको छ ।’ ट्र्याक्टर, पिकअप, ट्रक, मोटरसाइकल, साइकल र बसमा समेत तस्करी हुने गरेको उनले बताए । तस्करीमा संलग्न समूह वर्षाको समय पारेर बढी सक्रिय हुने गर्छ ।katha taskari

दिउँसो नयाँ पत्रिकाकर्मी सुखानीमा रहेको दक्षिणी सेक्टर वन कार्यालय पुग्दा दिउँसो दुईजना मात्र कर्मचारी थिए । बाँकी सबै गस्तीमा गएको प्रमुख बस्नेतले बताए । गस्ती टोलीले काठ तथा काठ ओसार्न प्रयोग गरिएका सवारीसाधन बरामद गरिरहन्छ । बरामद गरिएका सामग्री राख्ने ठाउँको कमी हुन थालेको उनले बताए ।

‘मान्छे पनि पक्राउ पर्छन्, उनीहरूविरुद्ध हामी वन मुद्दा चलाइरहेका हुन्छाैँ,’ कार्यालयका प्रमुख बस्नेतले भने, ‘काठको बिगो हेरेर कुनै मुद्दा जिल्ला अदालतमा र कुनै जिल्ला वनमा जान्छ ।’ मान्छेसहित समातेको काठ अदालतका लागि प्रमाण जुटाउन कार्यालयमै राखिएको हुन्छ । ती काठ लिलाम नहुँदा कार्यालयमै सड्ने अवस्था छ ।

राति बढी तस्करी

काठ तस्करी रातिको समयमा बढी हुने गरेको कार्यालयले जनाएको छ । सुखानीस्थित दक्षिणी सेक्टर वन कार्यालयमा हाल ६ जना सहायक वन रक्षक, एक वन रक्षक, दुई अधिकृत र एकजना सुब्बा छन् । चुलाचुलीमा रहेको कार्यालयमा भने ११ सहायक वन रक्षक, एकजना फरेस्टर, दुई वन रक्षक र एकजना अधिकृत छन् ।

बस्नेतले भने, ‘चुलाचुली र रतुवातिर ९, १० मा पढ्ने केटाहरू साइकल लिएर तस्करी गर्न आउँछन्, कार्यालयबाट खटिएको गस्ती टोलीले काठ काट्दाकाट्दै, ओसार्दाओसार्दै पनि समातेको छ ।’ ट्र्याक्टरमा हालेर माथिबाट ढुंगा र केराले छोपेर तस्करी भएको पनि पाएको उनले सुनाए ।

तस्करीमा एउटै व्यक्तिको तीनवटा ट्रयाक्टर

कार्यालयमा थुप्रिएका काठ तथा सवारीसाधन लिलाम गर्ने हो भने तस्करीमा संलग्न व्यक्तिले नै लिलाम सकार्ने सुखानीस्थित दक्षिणी सेक्टर वन कार्यालयका प्रमुख बस्नेतको तर्क छ । अञ्चल कटाएर लिलाम गर्दा उचित हुने उनले बताए । १७ पटकको प्रयासमा मावा खोलाबाट ट्र्याक्टर समातेको समेत बस्नेतले सुनाए । कार्यालयमा राखिएकामध्ये तीनवटा ट्र्याक्टर एउटै मान्छेको हो । पटक–पटक गरी तीनवटै ट्र्याक्टरलाई गस्ती टोलीले समातेपछि ट्र्याक्टरधनी हाल विदेश गएको स्थानीयवासीले बताए ।

तस्करीका लागि साइकल ‘मोडिफाइ’

साइकलमा काठका ससाना टुक्रा राखेर तस्करी हुने गरेको सुखानीका बासिन्दा बताउँछन् । काठ ओसार्नकै लागि साइकलमा फलामका रड जोडिएको भेटियो । साइकलको चक्कामा स्पोक पनि रिक्साको जडान गरिएको हुन्छ । ती साइकललाई बरामद गरी सुखानीस्थित दक्षिणी सेक्टर वन कार्यालयमा राखिएको छ । तस्करी गरिएको काठको ठूलो बजार झापा हो । झापामा वनक्षेत्र कम भएका कारण अधिकांश सर्वसाधारण तस्करीकै काठ किन्छन् ।

अघिल्लो वर्ष ३१ जना पक्राउ

कार्यालयले अघिल्लो आर्थिक वर्षमा मात्र १६ वटा मुद्दा दायर गरेको थियो । ३१ जना पक्राउ परेका थिए । ३४ जना फरार छन् । सो क्रममा तीन सय ९२ थान काठ बरामद भएको थियो ।

दाउराको नाममा सालका हाँगा तस्करी

अशोक पहाडी/रौतहट

जिल्लाका विभिन्न स्थानमा दाउराको नाममा सालका हाँगा तस्करी हुँदा पनि वन कार्यालयले नियन्त्रण प्रयास गरेको छैन । तस्करले जिल्ला वनकै आँगनबाट हाँगा लैजाँदा पनि नियन्त्रण नगरिएको हो । जिल्लाको उत्तर र दक्षिणी भेगको रंगपुर साझेदारी वन, जंगलसहिया साझेदारी वन, अञ्जुमन सामुदायिक वनक्षेत्रबाट दाउराको नाममा दैनिक काँचा सालका लाथ्रा कटान भइरहेको छ ।

साइकलमा सालका हाँगा र टुप्पा नै ढालेर लगिने गरेको स्थानीयको भनाइ छ । जिल्ला वन कार्यालय रौतहटतका कर्मचारीले भने यसरी तस्करी भएको भेटिहाले, एकदुई सय रुपैयाँ लिएर छाड्ने गरेको स्थानीय टीका चौधरीले जानकारी दिए । जाडोका वेला कर्मचारी फिल्डमा नजाने गरेका कारण साल फँडानी तीव्र भएको उनको भनाइ छ ।

स्थानीय काठ चोरसँगै वन कर्मचारीको उठ्बस रहेका कारण व्यापक वन विनाश भइरहेको स्थानीय बताउँछन् । साना–साना काँचा सालका लाथ्रा काटिँदा वनमा रहेको बहुमूल्य जातको साल नै लोप हुने अवस्थामा पुगेको स्वयं वन कर्मचारीहरूको भनाइ छ । जिल्ला वन कार्यालयमा कार्यरत रहेका साढे दुई सय कर्मचारीमा डेढ सयभन्दा बढी स्थानीय छन् । उनीहरूकै संलग्नतामा वनमा चोरी तस्करी बढेको स्थानीय बासिन्दाको भनाइ छ ।

जिल्लाको रामलाल वृन्दावन साझेदारी वनक्षेत्रमा हतियारसहित दिउँसै तस्करहरू पस्ने गरेका छन् । आरा लगेर हरिया सालका रूख कटान गर्ने गरेको भए पनि जिल्ला वन कार्यालय रौतहटले नियन्त्रण गर्न सकेको छैन । जिल्ला वन प्रमुख दीर्घनारायण कोइरालाले भने आफूले वन विनाश रोक्नका लागि सधैँ लागिपरेको बताए ।

नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७