सिन्धुपाल्चोक प्रहरी चौकी आक्रमण : घाइते असईलाई उपचारका लागि काठमाडौं ल्याइयो

आक्रमणकारीको खोजीमा जङ्गलभरी प्रहरी


२५ माघ २०७६, शनिबार
police ghaite

काठमाडौं, २५ माघ । सिन्धुपाल्चोकको तिपेनीस्थित प्रहरी चौकीमा शुक्रबार मध्यराति भएको आक्रमणमा सख्त घाइते इञ्चार्ज असई सन्तोषकुमार झालाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि असई झालाई काठमाडौं पठाइएको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रज्ज्वल महर्जनले जानकारी दिएका छन् ।

‘अवस्था त्यस्तो क्रिटिकल त होइन, तैपनि हामीले असईलाई उपचारका लागि काठमाडौं पठाएका छौं,’ घटनास्थलमा खटिएका एसपी महर्जनले भने, ‘अर्का घाइते हवल्दारको भने यतै उपचार भइरहेको छ ।’

शुक्रबार राति मोटरसाइकलमा आएका १२–१५ जनाले सिन्धुपाल्चोकको मेलम्ची पाँचपोखरी थाङपाल गाउँपालिका–८, तिपेनी खाल्डेमा रहेको प्रहरी चौकीमा ढुङ्गामुढासहित आक्रमण थिए ।

आक्रमणबाट चौकीका इञ्चार्ज असई झासहित प्रहरी हवल्दार हरिबहादुर मगर घाइते भएको एसपी महर्जनले बताएका छन् । असई झालाई काठमाडौंको कुन अस्पताल ल्याइएको भन्नेबारे भने आफूलाई जानकारी नआएको उनले बताएका छन् । हवल्दार मगरको भने मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

मोटरसाइकलमा आएको समूहले एक्कासी प्रहरी चौकीमा हुलदंगा गर्न खोजेको र प्रहरीले सम्झाईबुझाई गर्दा उल्टै आक्रमणमा उत्रिएको एसपी महर्जन बताउँछन् । आmमणकारी को हुन् र आक्रमणको उद्देश्य के थियो भन्नेबारे अहिलेसम्म थाहा हुन नसकेको उनी बताउँछन् । ‘हामी त्यही बुझ्ने प्रयासमा छौं, अहिलेसम्म खुल्न सकेको छैन,’ उनले भने ।

आक्रमणकारीको खोजीमा जङ्गलभरी प्रहरी
प्रहरी चौकी आक्रमणमा संलग्न समूहका एक सदस्य पक्राउ परे पनि अन्यको खोजी भइरहेको छ ।
अहिले तिपेनी प्रहरी चौकी नजिकको गाउँ तथा जङ्गलमा प्रहरीले उनीहरुको खोजी गरिरहेका छन् ।

‘अहिलेसम्म घटनामा संलग्न एक जना र तिनले प्रयोग गरेका चार मोटरसाइकल नियन्त्रणमा लिएका छौं,’ एसपी महर्जन भन्छन्, ‘उनीहरुको खोजी जारी छ, अन्य व्यक्ति फेला परेका छैनन् ।’

सदरमुकामबाट आफ्नो (एसपी प्रज्वल महर्जन) नेतृत्वको टोलीसहित मेलम्ची चौकीलगायतबाट गरी तीन प्रहरी टोली आक्रमणकारीको खोजीमा जुटेको उनले बताए। 

‘गाउँमा, जंगलमा तथा सम्भावित नाकामा हामीले खोजी व्यापक पारेका छौं,’ उनले भने। घटनाको अनुसन्धान जारी नै रहेकाले पक्राउ परेका व्यक्तिको नाम पनि अहिले खुलाउन नमिल्ने उनको भनाइ छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७