त्यो साँझ काठमाडौंमै भएको भए मेरो हातमा पनि एउटा सारङ्गी हुन्थ्यो : प्रचण्ड


२५ माघ २०७६, शनिबार
prachandacoversiz

काठमाडौं, २५ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकापा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू राजधानी बाहिर भएकाले बालुवाटारको सारंगी साँझमा छुटेको बताएका छन् ।

कान्तिपुरले शनिबार आयोजना गरेको कन्केल्भमा प्रचण्डसँग परिसंवाद कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले बालुवाटारमा सारंगी साँझ हुने दिन आफू पोखरामा जानकारी दिएका छन् ।
सांगीतिक साँझ हुने दिन बिहान आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको बताउँदै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीले आफूले साँगीतिक साँझबारे जानकारी गराउँदै बस्न आग्रह गरेको सुनाए ।

उनले भने, ‘त्यसको म्यासेज के हुन्थ्यो त्यो त थाहा भएन । म बिहानै बालुवाटारमा प्रधानमन्त्रीजीसँग थिए, उहाँले बेलुका सांगीतिक साँझ राखेको छु तपाईं त बस्नै पर्छ भन्नु भएको थियो’, अध्यक्ष प्रचण्डले भने ।

‘मलाई सारंगी र बाँसुरी भन्ने ता जानकारी थिएन, भोलिपल्ट हेर्दाखेरी सारङ्गी र बाँसुरी देखें’, उनले भने, ‘मलाई एक मनले लाग्यो कसो बँचेछु भन्ने ? अर्को मनले म पनि भएको भए मज्जै हुन्थ्यो, म पनि एउटा सारंगी रेटिरहेको हुन्थें भन्ने लाग्यो ।’

उनले आफू पोखरामा पूर्व निर्धारित कार्यक्रम रहेका कारण सो दिन पोखरा जानु परेको बताए । आफूलाई सारङ्गी र बाँसुरी साँझ भन्ने जानकारी नभईं संगीतिक साँझ हुने भन्ने जानकारी रहेको प्रचण्डले बताएका छन् ।

उनले कार्यक्रममा आफूलाई छुटाइएको नभई कार्यक्रमका कारण छुटेको बताए । ‘म यहाँ (काठमाडौँ) भएको भए म पनि त्यहाँ हुन्थे र एउटा सारंगी मैले पनि समातेको हुन्थें’, उनले भने ।

मंगलबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा सारंगी साँझको आयोजना गरेका थिए । सो साँझा प्रधानमन्त्री ओलीले पार्टीका दुई वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाललाई दायाँ बायाँ राखेर बीचमा बाँसुरी बजाइरहेको तस्बिर सार्वजनिक भएको थियो । दुवै वरिष्ठ नेताहरुले भने सारङ्गी समातेका थिए । अर्का अध्यक्ष प्रचण्डलाई नदेखेपछि पूर्व एमाले समूहलाई मात्रै बोलाइएको भनेर आलोचना समेत शुरु भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७