१८ पहाडी जिल्लामा सहसचिव सिडिओ


२६ माघ २०७६, आईतवार
cdo

काठमाडौं, २६ माघ । गृह मन्त्रालयले पहाडका १८ जिल्लामा सहसचिवलाई प्रमुख जिल्ला अधिकारी (सिडिओ) बनाएर पठाएको छ ।

गत मंसिर ३ गते बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी उपसचिव सिडिओ रहने १८ जिल्लामा सहसचिवको दरबन्दी कायम गरेपछि गृह मन्त्रालयले एक हप्ताअघि ती जिल्लामा सहसचिवलाई सिडिओको जिम्मेवारी दिएर पठाएको हो ।

सरकारले उपसचिव दरबन्दी भएका १८ जिल्लामा सहसचिव र डिएसपी प्रहरी प्रमुखमा एसपी पठाउने निर्णय गरेको थियो । त्यसअनुरूप मन्त्रालयले सिडिओ पठाइसकेको छ भने प्रहरी प्रधान कार्यालयले भने एसपी पठाउन सकेको छैन ।

गृह मन्त्रालयले १९ सहसचिवसहित १४० जनाको दरबन्दी माग गरेको थियो । सो दरबन्दी गत मंसिर ३ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो । हाल उपसचिव प्रजिअ र डिएसपी प्रहरी प्रमुख रहेका १८ जिल्लामा सहसचिव पठाइसकेको छ भने केही समयपछि एसपी पठाउने तयारी गरेको छ । सरकारले डोल्पा र जुम्लाबाहेक हिमाली जिल्लाहरूको हकमा भने केही निर्णय गरेको छैन ।

सरकारले लामो समयको गृहकार्यपछि सो दरबन्दी थपेको हो । पाँचथर, भोजपुर, खोटाङ, संखुवासभा, ओखलढुंगा, रामेछाप, दोलखा, लमजुङ, पर्वत, अर्घाखाँची, प्युठान, सल्यान, डोल्पा, बैतडी, जुम्ला, दैलेख, अछाम र डडेल्धुरा रहेका छन् ।

यसअघि प्रजिअको नेतृत्व ४२ जिल्लामा सह–सचिव र ३५ जिल्लामा उप–सचिवले गर्दै आएका थिए । गृहका अनुसार दुई निर्वाचन क्षेत्र भएका जिल्लामा प्रजिअका लागि सह–सचिव खटाइएको हो । गृह मन्त्रालयका प्रवक्ता सहसचिव केदारनाथ शर्माले पहाडी जिल्लामा सहसचिवलाई सिडिओ बनाएर पठाएको बताए ।

सहसचिव खटाइका जिल्लामा प्रहरी नेतृत्वका लागि एसपी जाने भएपछि प्रहरीतर्फ दरबन्दी थप्ने लविङ चलिरहेको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार हालका लागि भने रहेकै जनशक्तिबाट एसपी खटाइने छन् । हाल ४० जिल्लामा एसपी, ३५ जिल्लामा प्रहरी नायब उपरीक्षक र दुई जिल्लामा प्रहरी वरिष्ठ उपरीक्षक खटाइँदै आएको छ ।

नयाँ तयारी १६ जिल्लामा मात्रै प्रहरी नायब उपरीक्षक खटाइने छन्। प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआइजी शैलेश थापाले पनि केही पहाडी जिल्लामा एसपी पठाउने तयारी भइरहेको बताए। उनले केही प्रहरी अधिकृतको सरुवा हुने क्रममा रहेकाले केही समयपछि ती जिल्लामा एसपी जाने बताए। नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७