ट्राफिक नियम उल्लंघन गर्ने २० हजार ४३३ जनामाथि कारबाही


२६ माघ २०७६, आईतवार
bhim dhakal

काठमाडौं, २६ माघ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालु आर्थिक वर्षको ६ महिनामा ट्राफिक नियम उल्लंघन गर्ने २० हजार ४३३ जनालाई कारबाही गरेको छ ।

महाशाखाले आइतबार पत्रकार सम्मेलन गरी साउनयता २० हजार ४३३ जना सवारी चालकहरुलाई कारबाही गरेको जानकारी दिएको छ । महानगरिय ट्राफिक प्रहरी महाशाखा प्रमुख, प्रहरी वरिष्ठ उपरिक्षक भीमप्रसाद ढकालले जथाभावी पार्किङ गर्ने, सवारी मोडने, ढाका खुल्ला राख्ने, एकतफी बाटोमा सवारी प्रवेश गराउने, हर्न बजाउने, लेन अनुशासन पालन नगर्ने लगायतका सवारीचालकहरुलाई कारबाही गरिएको बताए ।

उनले पुस १ गतेदखि सञ्चालन गरिएको ट्राफिक उज्यालो कार्यक्रम अन्तर्गत ८१ हजार २८९ जनालाई ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतनालगायतका विषयमा शिक्षा दिएको समेत बताए ।

उनले ट्राफिक उज्यालो कार्यक्रम अन्तर्गत ४५ हजार १४७ जना पैदलयात्री, एक हजार ६४८ जना मोटरसाइकल चालक, ६१२ जना निजी सवारी चालक, ११ हजार ८०३ जना सार्वजनिक सवारी चालक र सहचालक, नौं सय जना विभिन्न संघ संस्थाका सवारीचालक, ७ हजार १०४ जना विद्यार्थी र ५७ सरकारी सवारीचालकलाई सचेतना गराइएको बताए ।

यसबाहेक ६ महिनामा दुई चरणमा नौं सय जना स्वयंसेवक परिचालन गरिएको, यात्रुमैत्री अभियान शुरु गरिएको, ट्राफिक जाम कम गर्न विभिन्न प्रयास गरिएको तथा सडक पूर्वाधार सुधारका लागि तयार पारिएको ३७ बुँदे अल्पकालीन सडक सुधार कार्ययोजनाको कार्यान्वयनमा जोड दिइएको महाशाखा प्रमुख ढकालले जानकारी दिए ।

त्यस्तै उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज, व्यवस्थित र चुस्त बनाउन प्रविधिमैत्री ट्राफिक व्यबस्थापनमा प्राथमिकता दिइएको र ९ वर्षदेखि विग्रिएर रहेका १७ स्थानका ट्राफिक लाइटलाई मर्मत गरी सञ्चालनमा ल्याइएको ढकालले बताए ।

साउनयता चोरी भएका २८५ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा दिएको र चोरीमा संलग्न ३० जनालाई कारबाही गरिएको जानकारी दिए । महाशाखाले आइतबारपनि चोरी भएका २५ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिममा लगाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७